काठमाडौं । समाजका आवाजविहीनहरूको आवाज बन्ने अभियानमा निरन्तर क्रियाशील युवा राजनीतिज्ञ, सामाजिक अभियान्ता तथा सञ्चारकर्मी ललन राउत बरैलाई ‘राष्ट्रिय सेवा सम्मान–२०८३’ बाट सम्मानित गरिएको छ।
शनिबार फोकस नेपाल संस्थाद्वारा राजधानीस्थित नेपाल पुलिस क्लबमा आयोजित नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदानसहित “शान्ति, सहमति र सहकार्य राष्ट्रका निम्ति अपरिहार्य भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रममा उनी सम्मानित हुँदा उपस्थित सम्पूर्ण सहभागी भावुक बनेका थिए।
कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय सभाकी उपाध्यक्ष लीला कुमारी भण्डारीले भव्य समारोहका बीच ललन राउत बरैलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै उनको योगदानको उच्च प्रशंसा गरिन्। उनले भनिन्, “समाजका सीमान्तकृत र ओझेलमा परेका समुदायको आवाजलाई बुलन्द बनाउने यस्ता व्यक्तित्वहरू नै राष्ट्रका वास्तविक नायक हुन्।”
ललन राउत बरैको यात्रा सामान्य होइन। संघर्ष, प्रतिबद्धता र समाजप्रतिको गहिरो जिम्मेवारीबोधले भरिएको उनको जीवनले धेरैलाई प्रेरणा दिएको छ। पत्रकारिताको माध्यमबाट उनले विशेषगरी विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, अवसर र सम्मानका लागि निरन्तर आवाज उठाउँदै आएका छन्।
उनको सक्रियतामा आयोजित क्रिकेट प्रतियोगिताहरू केवल खेल मात्र नभई सामाजिक समावेशिताको सशक्त सन्देश बनेका छन्। फरक क्षमताका व्यक्तिहरूलाई एकै मैदानमा ल्याएर उनले समाजमा समानता र आत्मविश्वासको बीउ रोप्ने काम गरेका छन्।
सम्मान ग्रहण गर्दै ललन राउत बरैले भावुक हुँदै भने, “यो सम्मान केवल मेरो होइन, समाजका ती सबै मानिसहरूको हो, जसले अझै पनि आफ्नो पहिचान र अधिकारका लागि संघर्ष गरिरहेका छन्। म उनीहरूको आवाज बन्ने यात्रामा अझ दृढ भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्छु।”
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सांस्कृतिक प्रस्तुति र विचार विमर्शले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो।
आजको समयमा स्वार्थ र प्रतिस्पर्धाले भरिएको समाजमा ललन राउत बरैजस्ता व्यक्तिहरू आशाको उज्यालो दीप बनेर देखा परिरहेका छन्। उनको सम्मानले न केवल उनको योगदानको कदर गरेको छ, बरु समाजमा सकारात्मक परिवर्तनका लागि लागिपर्ने सबैलाई नयाँ ऊर्जा र प्रेरणा समेत दिएको छ।








