काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी फुट्छ भनेर मुख नमिठ्याउन अनुरोध गरेका छन्।
आइतबार पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजना गरिएको दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘कहिलेकाँही मिडियाका साथीहरूले फुटाउने रहर लागेर अनेक हेडलाइन दिन्छन्। बडो मुख मिठ्याउनुहुन्छ। आई एम सरी, बास्ना त आउला, तर खाना सर्भिस् हुनेवाला छैन। वी आर पोलिटिकल्ली म्याचुअर,’ उनले भने।
उनले रविको मान्छे र बालेनको मान्छे हो भन्दै हल्ला गर्ने गरेको भन्दै पार्टीभित्र त्यस्तो कुनै गुटबन्दी नगर्न निर्देशन दिए।
‘म त यताको हो नि, म त उताको होनि भनेको कारण मन्त्री नभएका साथीहरू पनि हुनुहुन्छ। हामी यत्तिकै एउटा कार्यकालको लागि मिलौं न त भने होइन यो देशमा इतिहास सम्झिएर, भविष्यको सपना बुनेर यो सहयात्रामा हिँडेका साथीहरू हौं। हामी व्यक्तिगत कुरालाई माग मुद्दा बनाएर हिंडेका छैनौं। त्यसकारण यो सब बन्द गर्नुपर्छ। यसको कुनै गुन्जायस नै छैन। सम्भावना नै छैन,’ उनले भने।








