काठमाडौं । वातावरण संरक्षण र सामाजिक चेतनाको सशक्त सन्देश बोकेको चक्रपथ सरसफाई महाअभियानको ४७६ औं हप्ताको अवसरमा आयोजित फोहोर संकलन प्रतियोगिता भव्य तथा उत्साहजनक रुपमा सम्पन्न भएको छ । सानो स्वरुपमा आयोजना गरिएको कार्यक्रमले समाजमा ठूलो सकारात्मक प्रभाव पार्न सफल भएको सहभागीहरुको भनाइ छ ।
सफाई अभियन्ताहरुबीच आपसी भाइचारा, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना अझ मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा १२ जना अभियन्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो । प्रतियोगितामा हिमालयन वातावरण प्रा.लि.का विनोद गिरी प्रथम, बिनायक फोहोर व्यवस्थापन प्रा.लि.का सतिश कुमार द्वितीय तथा चक्रपथ सरसफाई महाअभियानकी सक्रिय अभियन्ता दिपिका खनाल तृतीय हुन सफल भएका थिए ।
प्रतियोगिताका विजेताहरुलाई खुसी इन्डष्ट्रिज नेपालको उत्पादन “माईती लिक्विड डिसवास” को तर्फबाट आकर्षक उपहार प्रदान गरिएको थियो । त्यस्तै ॐ बुद्ध डेन्टल प्रा.लि., बालाजु बाइपासले समेत विशेष उपहारको व्यवस्था गरेको थियो । कार्यक्रममा प्रथम हुने विनोद गिरीलाई ॐ बुद्ध डेन्टल प्रा.लि.को तर्फबाट एक पटकका लागि निःशुल्क दन्त परीक्षण तथा उपचार गराइदिने घोषणा समेत गरिएको थियो, जसले कार्यक्रममा थप उत्साह थपेको थियो ।
कार्यक्रममा सहभागी अभियन्ताहरुलाई खुसी डेरी उद्योगको तर्फबाट सामाजिक अभियन्ता ध्रुव तिवारीले शुद्ध मोही वितरण गरेका थिए भने कलंकी निवासी दिक्षा थापाले पिउने पानीको व्यवस्था गरेर अभियानप्रति आफ्नो साथ र सद्भाव व्यक्त गरेकी थिइन् ।
कार्यक्रमको मुख्य प्रायोजकको रुपमा ग्रीन सिटी हस्पिटल, बसुन्धाराले सहयोग गरेको थियो । त्यस्तै तुफान न्यूज डटकम, राष्ट्रिय खबर डटकम, नेपाली मिडिया अनलाइन टिभी, बीएमएन न्यूज, मिसन भण्डाफोर, रोज नेपाल डटकम र साराखबर डटकम लगायतका सञ्चार माध्यमहरुले समाचार, प्रचारप्रसार तथा जनचेतनामूलक सामग्रीमार्फत अभियानलाई महत्वपूर्ण साथ दिएका थिए ।
प्रतियोगिताको निर्णयक मण्डलमा चक्रपथ सरसफाई महाअभियानका संयोजक लोक बहादुर टण्डन, ओम विकास निरौला तथा सञ्चारकर्मी लोकेन्द्र राउत रहेका थिए । कार्यक्रममा स्वयंसेवकको रुपमा सक्रिय अभियन्ता जित बहादुर हमालसँगै डा. पुष्कर काफ्ले, पुण्य रत्न बज्राचार्य, सुरेन्द्र सेडाई, गोपाल थापा लगायतको उल्लेखनीय सहभागिता रहेको थियो । मिडिया संयोजनको जिम्मेवारी सक्रिय अभियन्ता लिला खनालले सम्हालेकी थिइन् ।
कार्यक्रमको व्यवस्थापन सामाजिक अभियन्ता तथा मिडियाकर्मी डिबी पराजुली, राष्ट्रिय गायक तिलक बस्नेत तथा युवा अभियन्ता सुन्दर खनालले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा बिनायक फोहोर मैला व्यवस्थापन प्रा.लि., हिमालयन वातावरण संरक्षण प्रा.लि. तथा नेप्सेम्याक महाराजगञ्ज शाखाको समेत सक्रिय सहभागिता रहेको थियो ।
त्यसैगरी, केपी फोटो स्टुडियो बसपार्कले प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरुलाई एक/एक थान फोटोसहितको आकर्षक फ्रेम उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
सफाई केवल अभियान नभई सामाजिक संस्कार भएको सन्देश दिएको यस कार्यक्रमले “स्वच्छ शहर, सभ्य समाज” निर्माणको अभियानलाई थप ऊर्जा दिएको सहभागीहरुले बताएका छन् ।









