काठमाडौं ।काठमाडौं महानगरपालिका वडा नं. १६ को आयोजनामा सञ्चालन भइरहेको “वडा स्तरीय स्व. श्री मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता–२०८३” अहिले आफ्नो अन्तिम तथा सबैभन्दा रोमाञ्चक चरणमा पुगेको छ । प्रतियोगिताको उपाधिका लागि अब वडा नम्बर ५ र वडा नम्बर १६ आमनेसामने हुने भएका छन् ।
मिति २०८३ जेठ १४ गते बिहान ८ बजे लैनचौर खेल मैदानमा हुने फाईनल खेललाई लिएर अहिले खेलप्रेमी, स्थानीय युवा तथा समर्थकमाझ असाधारण उत्साह छाएको छ । आयोजक समितिका अनुसार फाईनल खेल सम्पन्न भएसँगै विशेष समापन समारोह पनि आयोजना गरिनेछ ।
प्रतियोगिताले केवल खेलकुद प्रतिस्पर्धा मात्र होइन, स्वर्गीय मुकुन्द रिजालप्रतिको सम्मान, सम्झना र भावनात्मक श्रद्धाञ्जलीलाई समेत जीवन्त बनाएको सहभागीहरूले बताएका छन् ।
स्थानीय समाजसेवा, खेलकुद विकास र युवाहरूलाई सकारात्मक बाटोमा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेका स्व. मुकुन्द रिजालको नाममा आयोजित प्रतियोगिताले अहिले वडास्तरमै नयाँ ऊर्जा सिर्जना गरेको छ ।
प्रतियोगिताभर दर्शकको उल्लेखनीय उपस्थिति देखिएको थियो । प्रत्येक खेलमा खेलाडीहरूको संघर्ष, जितका लागि गरिएको अथक प्रयास तथा समर्थकहरूको हुटिङले लैनचौर खेल मैदानलाई उत्साहले भरिएको थियो । अब फाईनलमा प्रवेश गरेका वडा नं. ५ र वडा नं. १६ दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छन् ।
विशेषगरी आयोजक वडा नं. १६ लाई घरेलु मैदानको दबाब र सम्मान जोगाउने चुनौती छ भने वडा नं. ५ ऐतिहासिक जित निकाल्दै उपाधि चुम्ने योजनामा देखिएको छ । दुवै टोलीका प्रशिक्षक तथा खेलाडीहरूले आफूहरू अन्तिम क्षणसम्म संघर्ष गर्ने बताएका छन् ।
स्थानीयवासीका अनुसार यो प्रतियोगिता सामान्य फुटबल खेल मात्र नभई सामाजिक एकता, युवाको उत्साह र स्वर्गीय मुकुन्द रिजालप्रतिको सम्मानको प्रतीक बनेको छ । प्रतियोगिताले वडास्तरमा खेलकुद संस्कृतिलाई अझ बलियो बनाएको प्रतिक्रिया पनि आएको छ ।
फाईनल खेलपछि हुने समापन कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, खेलकर्मी, विभिन्न वडाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता तथा विजेता टोलीलाई विशेष पुरस्कारसहित सम्मान गरिने आयोजकले जनाएको छ ।
अब सबैको नजर जेठ १४ गते बिहान लैनचौर मैदानतर्फ केन्द्रित भएको छ ।
कसले चुम्ला उपाधि ? कसले बनाउनेछ इतिहास ? यही प्रतिक्षाले अहिले फुटबल प्रेमीहरूलाई थप उत्साहित बनाएको छ ।








