काठमाडौं । मगर समुदायका सक्रिय व्यक्तित्वहरू प्रेमबहादुर लिम्बु र कुलबहादुर बुढा मगरलाई उनीहरूको विशिष्ट योगदानको कदर गर्दै सम्मान गरिएको छ।
तेक्वान्दो खेलमार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल प्रेमबहादुर लिम्बुले ९औँ एसियन खेलकुद प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उल्लेखनीय सफलता हासिल गरेका थिए। उनले व्यक्तिगततर्फ ४० वर्षमुनि समूहमा कांस्य पदक तथा ५० वर्ष मुनि जोडी स्पर्धामा दोस्रो स्थान प्राप्त गरी देशको गौरव बढाएका थिए। उनको उक्त उपलब्धिको सम्मान गर्दै च्याम्पियन्स तेक्वान्दो डोजाङ परिवारले बधाई तथा सम्मान व्यक्त गरेको छ। साथै, भविष्यमा पनि नेपाललाई तेक्वान्दोको विश्व मानचित्रमा थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ।
त्यसैगरी, कुलबहादुर बुढा मगर मगर केन्द्रीय समिति, नेपालको सदस्य पदमा निर्वाचित भएको अवसरमा सम्मानित भएका छन्। तेक्वान्दो क्षेत्रमा उनको दक्षता तथा नयाँ पुस्तालाई खेलकुदतर्फ प्रेरित गर्दै आएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको जनाइएको छ।
सम्मान कार्यक्रममा दुवै व्यक्तित्वको खेलकुद, नेतृत्व तथा समाजप्रतिको समर्पणको प्रशंसा गरिएको थियो। सहभागीहरूले यस्ता व्यक्तित्वहरूबाट भावी पुस्ताले प्रेरणा लिने विश्वास व्यक्त गर्दै उनीहरूको आगामी यात्राको सफलताको शुभकामना दिएका थिए।










