काठमाडौं । लेबोरेटरी मा.वि. को आयोजनामा नगर स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न गरिएको छ । आइतबार कीर्तिपुर नगरपालिकाको वार्षिक शैक्षिक कार्यक्रम अन्तर्गत नगरपालिकाको आयोजना र लेबोरेटरी माध्यमिक विद्यालयको संयोजनमा आयोजित नगर स्तरीय कविता लेखन तथा वाचन प्रतियोगितामा नगरभित्रका उन्नाईस विद्यालय सहभागी भएका थिए । उक्त कार्यक्रमको अध्यक्षता लेबोरेटरी मा.वि.का प्रधानाध्यापक डा. लाक्पा शेर्पाले गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी नगर शिक्षा शाखा प्रमुख बिमलप्रसाद निरौला र विशिष्ठ अतिथि प्याब्सन कीर्तिपुरका अध्यक्ष रवि भण्डारी रहेका थिए । निर्णायक मण्डममा प्राज्ञ देवि नेपाल र प्रमोद प्रधान रहेका थिए । कविता वाचन प्रतियोगितामा प्रथम पुष्पसदन मा.वि.का छात्र शाश्वत पाण्डे, द्वितीय स्थानमा जनसेवा मा.वि. की प्रतिक्षा पन्त, तृतिय स्थानमा लेबोरेटरी मा.वि.की छात्रा रित्भिाका शर्मा र सान्त्वनामा उज्ज्वन शिशुनिकेतनकी छात्रा श्रेया पौडेल रहेकी छिन् ।
सौहार्दपूर्ण वातावरणमा सम्पन्न कार्यक्रममा पुरस्कृत छात्र, छात्राहरूलाई ट्रफी, मेडल, प्रमाणपत्रको साथै नगद पुरस्कारबाट सम्मानित गरिएको थियो । कार्यक्रमका अध्यक्ष डा. शेर्पाले प्रमुख अतिथि, विशिष्ठ अतिथि लगायत उपस्थित सबै विद्यालयका सहभागी विद्यार्थी र विद्यालयका प्र.अ तथा प्रतिनिधिहरुलाई स्वागत गर्दै कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।
प्रमुख अतिथि कीर्तिपुर नगर शिक्षा प्रमुख निरौलाबाट कीर्तिपुर नगरपालिका भित्रका सबै विद्यालयहरुलाई यस्ता कार्यक्रममा सहभागीभई विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गराउन भूमिका खेल्नका लागि सल्लाह दिएका थिए ।
यसैगरी विशिष्ठ अतिथि भण्डारीले कीर्तिपुर नगरपालिकामा रहेका निजी तथा सामुदायिक विद्यालयहरुले यस्ता अतिरिक्त र सहअतिरिक्त क्रियाकलापमा विद्यार्थिहरुलाई सहभागी गराएर विद्यार्थीहरुको व्यक्तित्व विकासमा टेवा पुर्याउनुपर्ने सुझाव व्यक्त गरेका थिए ।








