सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चीनमा चन्द्रागिरि टाइगर्स तेक्वान्दो डोजाङका खेलाडीहरूको शानदार प्रदर्शन

काठमाडौं । चीनको नानजिङमा आयोजित Grand Slam Youth League Championship 2026 Final मा नेपाली तेक्वान्दो खेलाडीहरूले शानदार प्रदर्शन गर्दै ४ स्वर्ण, ५ रजत र ६ कांस्यसहित कुल १५ पदक जितेका छन्।

प्रतियोगितामा सहभागी नेपाली खेलाडीमध्ये चन्द्रागिरि टाइगर्स तेक्वान्दो डोजाङका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मात्र होइन, चन्द्रागिरि नगरपालिकाको समेत नाम उज्ज्वल बनाएका छन्। चन्द्रागिरि तेक्वान्दो डोजाङका खेलाडी अफेश खत्रीले यू–६८ तौल समूहमा प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जितेका छन्। त्यस्तै आवश्यक विष्टले यू–४५ मा द्वितीय स्थान तथा अभिषेक दल्लाकोटीले यू–५४ मा द्वितीय स्थान हासिल गर्दै रजत पदक जितेका छन्।

प्रतियोगितामा चन्द्रागिरि डोजाङका खेलाडीहरूको प्रदर्शनलाई विशेष उपलब्धिका रूपमा हेरिएको छ। खेलाडीहरूको मेहनत, अनुशासन, नियमित प्रशिक्षण र प्रशिक्षकको मार्गदर्शनकै परिणामस्वरूप चन्द्रागिरिको तेक्वान्दोले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो बलियो उपस्थिति देखाउन सफल भएको हो।

काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीका अनुसार प्रतियोगितामा उनिका पौडेल, आदिश विष्ट, प्रिशा ज्ञवाली र अफेश खत्रीले स्वर्ण पदक जितेका छन्। त्यस्तै लोचनी भट्टराई, सिबेन सुब्बा, साश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्टले रजत पदक हात पारेका छन्।

यसैगरी सर्वम महतरा, सव्यम महतरा, प्रिशा ज्ञवाली, आराध्य खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारीले कांस्य पदक प्राप्त गरेका छन्। नेपाली टोलीका प्रशिक्षकका रूपमा पुजन खड्का रहेका थिए।

चन्द्रागिरि नगरपालिकामा तेक्वान्दो खेलको विकास र खेलाडी उत्पादनमा चन्द्रागिरि टाइगर्स तेक्वान्दो डोजाङले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। स्थानीयस्तरमा प्रशिक्षण प्राप्त गरेका खेलाडीले राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत पदक जित्न थालेपछि चन्द्रागिरि तेक्वान्दो डोजाङ नगरकै उत्कृष्ट खेलकुद केन्द्रका रूपमा स्थापित हुँदै गएको देखिएको छ।

चीनको नानजिङमा भएको यस प्रतियोगिताको उपलब्धिले चन्द्रागिरिका खेलाडीमा रहेको प्रतिभा र सम्भावनालाई समेत उजागर गरेको छ। अन्तर्राष्ट्रिय स्तरमा पदक जित्दै नेपालको झन्डा फहराउने खेलाडीहरूले ‘चन्द्रागिरिमा प्रतिभाको कमी छैन, अवसर र उचित प्रशिक्षण पाए विश्वमञ्चमा पनि चम्कन सकिन्छ’ भन्ने सन्देश दिएका छन्।

चन्द्रागिरि टाइगर्सका खेलाडीहरूको यो सफलता आगामी दिनमा नगरपालिकामा तेक्वान्दो खेलको थप विकास, नयाँ खेलाडी उत्पादन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि महत्वपूर्ण प्रेरणा बन्ने अपेक्षा गरिएको छ।

चीनमा नेपाली तेक्वान्दोको शानदार प्रदर्शनसँगै चन्द्रागिरि टाइगर्सले फेरि प्रमाणित गरेको छ—चन्द्रागिरिको माटोमा हुर्किएका खेलाडी अन्तर्राष्ट्रिय मञ्चमा पनि स्वर्ण जित्न सक्षम छन्।

भर्खरै

सम्बन्धित खबर

Language »