सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

गाईजात्रामा ‘बालेन सरकार’को तहल्का, प्रेम शर्मा पौडेलको सम्पादनले झन् धारिलो बनायो व्यंग्य

काठमाडौं । लोकप्रिय हास्यकलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’को यस वर्षको गाईजात्रे कोसेली ‘बालेन सरकार’ सार्वजनिक भएसँगै चर्चा चुलिएको छ। समसामयिक राजनीति, सरकार र राजनीतिक दलमाथि तीखो व्यंग्य गर्दै तयार पारिएको यो प्रस्तुति गाईजात्राको अवसरमा दर्शक–श्रोतामाझ नयाँ हास्यव्यंग्यको स्वाद लिएर आएको हो।

विशेषगरी सम्पादक प्रेम शर्मा पौडेलको सम्पादनले प्रस्तुतिलाई थप आकर्षक, गतिशील र प्रभावकारी बनाएको छ। व्यंग्यात्मक संवाद, दृश्यको गति र प्रस्तुतिको भावअनुसार सम्पादनमा गरिएको संयोजनले ‘बालेन सरकार’लाई अझ धारिलो बनाएको देखिन्छ।

जोगिन्दरले यस प्रस्तुतिमार्फत सरकार र राजनीतिक नेतृत्वलाई हास्यव्यंग्यकै माध्यमबाट खबरदारी गर्दै जनताका अपेक्षा, राजनीतिक विसङ्गति र समसामयिक विषयमाथि प्रश्न उठाएका छन्।

युट्युबमार्फत सार्वजनिक गरिएको ‘बालेन सरकार’ले दर्शकलाई मनोरञ्जनसँगै राजनीतिक तथा सामाजिक चेतनाको सन्देश दिने उद्देश्य राखेको जोगिन्दरले बताएका छन्।

“गाईजात्रा हास्यकलाकारका लागि एउटा महान् उत्सव हो। अहिले यस्ता कोसेलीको व्यावसायिकता छैन,” रिजालले भनेका छन्, “तर वर्षेनी दर्शक–श्रोता मेरो कोसेलीको प्रतीक्षामा बस्नुहुन्छ। दर्शकको मायाकै कारण आम्दानी नभए पनि यस्तो प्रस्तुतिलाई निरन्तरता दिँदै आएको छु।”

‘बालेन सरकार’को अर्को आकर्षण चर्चित लोकगायक झलकमान गन्धर्वको कालजयी गीत ‘आमाले सोध्लिन् नि’ माथि तयार पारिएको प्यारोडी हो। उक्त प्यारोडीमा लोकप्रिय गायक राजु परियारले स्वर दिएका छन्।

लोकराज अधिकारीको शब्द तथा अष्ट लामाको सङ्गीत संयोजन रहेको प्यारोडीमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत विभिन्न राजनीतिक दल तथा राजनीतिक नेतृत्वमाथि व्यंग्यात्मक प्रहार गरिएको छ।

यस प्रस्तुतिमा समन अधिकारीको कोरियोग्राफी, प्रेम शर्मा पौडेलको सम्पादन र हरि ढकालको छायाङ्कन रहेको छ।

‘बालेन सरकार’ जोगिन्दरको २३औँ गाईजात्रे कोसेली हो। गत वर्ष उनले ‘मिस चौरासी’ सार्वजनिक गरेका थिए, जसले दर्शकबीच राम्रो चर्चा पाएको थियो।

रिजालले २०६१ सालदेखि हरेक वर्ष निरन्तर गाईजात्रे हास्यव्यंग्य प्रस्तुति सार्वजनिक गर्दै आएका छन्। गाईजात्रामा हास्यव्यंग्य प्रस्तुत गर्नु कलाकारको जिम्मेवारी र धर्मजस्तै भएको उनको बुझाइ छ।

यसपटकको ‘बालेन सरकार’मा प्रेम शर्मा पौडेलको सम्पादनले प्रस्तुति निर्माणको प्राविधिक पक्षलाई थप सशक्त बनाएको छ। राजनीति, व्यंग्य, गीत, अभिनय र हास्यलाई एकै ठाउँमा समेटिएको यो कोसेलीले गाईजात्राको माहोल तताउने अपेक्षा गरिएको छ।

हास्यको आवरणमा राजनीति, व्यंग्यको धारमा सत्ता र मनोरञ्जनसँगै खबरदारी—‘बालेन सरकार’ अहिले गाईजात्राको चर्चित कोसेली बनेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »