काठमाडौं । यही भाद्र १० गते चीनको तिब्बत क्षेत्रबाट आएको विनाशकारी बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति भ्रष्टाचारविरुद्ध नागरिक अभियान नेपालले गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
अभियानका अध्यक्ष अर्जुन के.सी.ले विपद्को यस पीडादायी घडीमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना गरेका छन्।
“एक नेपालीको घरमा आएको विपद् अर्को नेपालीको पनि पीडा हो। अहिले राजनीतिक आस्था, दलगत स्वार्थ र व्यक्तिगत मतभेदभन्दा माथि उठेर मानवता र राष्ट्रिय एकताको पक्षमा उभिनुपर्ने समय हो,” अध्यक्ष के.सी.ले भने।
उनले विपद्को पीडामाथि राजनीति नगर्न, राहतलाई अधिकारका रूपमा सुनिश्चित गर्न तथा प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणमा सबै पक्ष एकजुट हुन आह्वान गरेका छन्।
अध्यक्ष के.सी.ले विपद्को समयमा हुने कालोबजारी, कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि तथा राहतमा हुने भ्रष्टाचार र अनियमितताप्रति शून्य सहनशीलता अपनाउन सरकारसँग जोडदार माग गरेका छन्।
“विपद्को पीडामाथि भ्रष्टाचार गर्ने छुट कसैलाई छैन। पीडितको विवशतामाथि कालोबजारी गर्ने छुट कसैलाई छैन। राहत सामग्रीमा अनियमितता गर्ने अधिकार कसैलाई छैन,” के.सी.ले स्पष्ट पारे।
अभियानले राहत तथा पुनर्निर्माणका क्रममा संकलित र खर्च भएको रकम, राहत वितरण तथा प्रभावित परिवारले प्राप्त गरेको सहयोगलगायत सम्पूर्ण विवरण नागरिकसमक्ष पारदर्शी रूपमा सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
साथै, जोखिमयुक्त बस्तीको पहिचान, सुरक्षित पुनःस्थापना, प्रभावकारी पूर्वसूचना प्रणाली तथा विपद्–प्रतिरोधी पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने अभियानको जोड छ।
“भत्किएका सडक, पुल र घरहरू पुनःनिर्माण गर्न सकिन्छ, तर गुमेको जीवन फर्काउन सकिँदैन। त्यसैले अबको पुनर्निर्माण सुरक्षित, दिगो र विपद्–प्रतिरोधी नेपाल निर्माणतर्फ केन्द्रित हुनुपर्छ,” अध्यक्ष अर्जुन के.सी.ले भने।
अभियानले सम्पूर्ण नागरिकलाई संयमित, जिम्मेवार र एकताबद्ध भएर विपद्मा परेकालाई सहयोग गर्न तथा अनियमितता र बेथितिविरुद्ध नागरिक खबरदारीलाई बलियो बनाउन अपिल गरेको छ।
“विपद्को घडीमा राष्ट्र एकजुट होस्, राहतमा पारदर्शिता होस् र भ्रष्टाचारमा शून्य सहनशीलता होस्,” अभियानले जनाएको छ।








