काठमाडौं । नेपाल विद्यार्थी संघको विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेकी सिर्जना अधिकारीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
अधिकारीले नेपाली कांग्रेसको महिला खुलातर्फ केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेकी हुन्। लामो समय विद्यार्थी राजनीति, लोकतान्त्रिक आन्दोलन, महिला अधिकार, सामाजिक न्याय तथा सशक्तीकरणका क्षेत्रमा सक्रिय रहँदै आएको अनुभवलाई अब पार्टीको केन्द्रीय नेतृत्वमार्फत थप प्रभावकारी बनाउने उद्देश्य रहेको उनले बताएकी छन्।
नेपाल विद्यार्थी संघमा दुई कार्यकाल केन्द्रीय सदस्य तथा केन्द्रीय सहमहामन्त्रीको जिम्मेवारी सम्हालेकी अधिकारीले २०६२/६३ को लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक पक्राउ परी जेल जीवनसमेत बिताएकी थिइन्। आन्दोलनका क्रममा उनी घाइतेसमेत भएकी थिइन्। आफ्नो राजनीतिक यात्रामा प्राप्त संघर्ष र संगठनात्मक अनुभवलाई कांग्रेसको संगठन निर्माणमा उपयोग गर्ने उनको भनाइ छ।
“विद्यार्थी आन्दोलनदेखि लोकतान्त्रिक आन्दोलनसम्म संघर्ष, संगठन र नेतृत्वलाई नजिकबाट अनुभव गरेकी छु। अब त्यो अनुभवलाई कांग्रेसको संगठन सुदृढीकरण, नयाँ पुस्ताको राजनीतिक सहभागिता र समावेशी नेतृत्व निर्माणमा उपयोग गर्न चाहन्छु,” अधिकारीले भनिन्। अधिकारी दुई पटक निर्वाचित महासमिति सदस्यसमेत हुन्। उनले संविधानसभाका दुवै निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक उम्मेदवारका रूपमा समेत सहभागिता जनाएकी थिइन्।
राजनीतिसँगै महिला अधिकार, समानता, महिला मैत्री संविधान तथा कानुन निर्माण, सामाजिक न्याय र सशक्तीकरणका क्षेत्रमा समेत अधिकारी सक्रिय रहँदै आएकी छन्। वुमन एक्टमार्फत उनले महिला तथा सामाजिक क्षेत्रमा विभिन्न अभियान र कार्यक्रम सञ्चालन गर्दै आएकी छन्। अधिकारीले महिलालाई राजनीतिक दलमा केवल सहभागिताका लागि नभई निर्णय प्रक्रियाको केन्द्रमा पुग्ने अवसर दिनुपर्ने बताएकी छन्।
“महिलाको अर्थपूर्ण सहभागिता र निर्णय गर्ने तहमा नेतृत्व आवश्यक छ। कांग्रेसलाई समयअनुकूल, समावेशी र जनतासँग प्रत्यक्ष जोडिएको पार्टी बनाउन महिला नेतृत्वको भूमिका अझ बलियो हुनुपर्छ,” उनले भनिन्। दुई दशकभन्दा लामो राजनीतिक तथा सामाजिक सक्रियतालाई उम्मेदवारीको आधार बनाएकी अधिकारीले कांग्रेसको संगठनलाई तल्लो तहदेखि केन्द्रसम्म थप व्यवस्थित र सुदृढ बनाउने, कार्यकर्ता र जनताबीचको सम्बन्ध बलियो बनाउने तथा पार्टी नेतृत्वमा समावेशी सहभागिता बढाउने विषयलाई प्राथमिकतामा राखेकी छन्।
“मेरो राजनीतिक जीवन संघर्षबाट निर्माण भएको हो। पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएकी छु। अब पनि कांग्रेसको सुदृढ संगठन, समावेशी नेतृत्व र समृद्ध नेपालको अभियानमा आफ्नो अनुभव र ऊर्जा समर्पित गर्नेछु,” अधिकारीले प्रतिबद्धता व्यक्त गरिन्। अधिकारीको उम्मेदवारीसँगै कांग्रेसको महिला खुलातर्फको प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।

