सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शुद्धताको कसीमा भाषा अब्बल हुनुपर्छ: प्रा.डा. न्यौपाने

नेपाली वाङ्मयको क्षेत्रमा स्थापित हुन अहोरात्र सङ्घर्षरत लोमश वाङ्मय प्रतिष्ठानले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ । सो अवसरमा प्रतिष्ठानले स्रष्टा सम्मान अर्पण तथा ‘बइँसेरी’ दुई र कृष्ण कोपिलाकृत ‘उसको अतीत’ कृति लोकार्पण गरेको छ ।


गण्डकी प्रज्ञा-प्रतिष्ठानका कुलपति प्रा. डा. कुसुमाकर न्यौपानेको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ को सभापतित्वमा सुसम्पन्न उक्त कार्यक्रम सम्पन्न गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले दीप प्रज्वलन गरी प्रतिष्ठानको वार्षिकोत्सव तथा लोकार्पण समारोहको समुद्घाटन गर्नुभएको थियो ।


सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि न्यौपानेले साहित्य र शुद्धता एकअर्काका परिपूरक रहेको बताउनुभयो । लेखक आममान्छेभन्दा माथि र देवताभन्दा अलिक मुनि मात्र रहने हुनाले ऊ पुज्य हुने जिकिर गर्दै न्यौपानेले चाहे कर्मचारी, शिक्षक वा कम्प्युटर अपरेटर जोसुकै किन नहोस् हर व्यक्तिले आफ्नो भाषा शुद्ध लेख्नु जरुरी रहेको खाँचो औँल्याउनुभयो । छोटो अवधिमा लोमश वाङ्मयले मारेको फड्कोको सराहना गर्दै न्यौपानेले यस्तो सिर्जनशील अभियान अन्य धेरैले जारी राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । गण्डकी प्रज्ञा-प्रतिष्ठानले थालनी गरेका सकारात्मक कामको फेहरिस्त राख्दै परोक्ष रुपमा केन्द्रलाई सिर्जनशील कार्यक्रम गर्न आग्रह गर्नुभयो ।


राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले लोमश वाङ्मयको समावेशी चरित्रको प्रशंसा गर्दै यसले ओझेलमा परेका स्रष्टाको यथोचित सम्मानप्रति सन्तोष व्यक्त गर्नुभयो । अत्यन्त सङ्क्षिप्तमा आफ्नो विचार अभिव्यक्त गर्नुभएका विश्वकर्माले लोमशले आगामी दिनमा पनि यस्तै प्रशंसनीय काम गरोस् भन्ने कामना गर्नुभयो ।


होटल व्यवसायी महासङ्घका अध्यक्ष टी.आर. भण्डारी ‘शङ्कर’ले पछिल्लो कालखण्डमा अझ सुस्ताएको पर्यटनलाई साहित्यिक गतिविधिसँग जोड्ने लोमशको कदमको स्वागत गर्दै पर्यटन क्षेत्रलाई अघि बढाउन सके मात्र सुन्दर र सुखी नेपालको सपना साकार पार्न सकिने तर्क गर्नुभयो । होटल व्यवसायी महासङ्घले अभरमा परेका नागरिक तथा प्रकोपले पीडित परिवारलाई गरेको योगदानको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।


नेपाल प्रज्ञा-प्रतिष्ठानका निवर्तमान सदस्य-सचिव डा. धनप्रसाद सुवेदीले कृत्रिम बौद्धिकताले सारा साहित्य स्वाहा पार्ने जोखिम बढेको तथ्य प्रस्तुत गर्दै यसबाट साहित्यकार चनाखो बन्नुपर्ने टड्कारो आवश्यकता औँल्याउनुभयो ।


लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ले लोमश वाङ्मय प्रतिष्ठान अविश्वास र परिहासको चरण पार गर्दै अघि बढेको बताउँदै कार्यक्रममा सहयोग र योगदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।


हानका पूर्व अध्यक्ष नरेन्द्र बज्राचार्यले तीन दशकका सहयात्री कृष्ण कोपिलाले कृति सार्वजनिक गरेकोमा हर्ष व्यक्त गर्दै पर्यटन प्रवर्धन नै नेपालको आर्थिक समृद्धिको द्वार भएको दाबी गर्नुभयो ।


हास्यव्यङ्गकार चक्र दवाडीले ‘उसको अतीत’मा आफू पनि समेटिन पाएकोमा खुसी प्रकट गर्दै कृतिकारलाई बधाई ज्ञापन गर्नुभयो मध्यपश्चिम साहित्य प्रतिष्ठानका अध्यक्ष समीर शाहले कृष्ण कोपिलाको लेखनकलाको मुक्तकण्ठले प्रशंसा गर्दै कृति सार्वजनिक गर्न सकेकोमा बधाई ज्ञापन गर्नुभयो ।


वाम बुद्धिजीवी नीलकण्ठ तिवारीले कृष्ण कोपिलालाई बधाई दिँदै लोमश वाङ्मय प्रतिष्ठानको सत्कर्मको बखान गर्नुभयो । वामपन्थी लेखक तथा चिन्तक केशव नेपालले ‘उसको अतीत’ले तत्कालीन व्यवस्थाले दिएका यातनादेखि नेताले भित्र्याएका विकृतिसम्म उजागर गरेको भन्दै एउटा कहालीलाग्दो कालखण्डबारे जान्न पनि पुस्तक उपयोगी हुने बताउनुभयो ।


वाम राजनीतिज्ञ जगन्नाथ खतिवडालेआफूले लेखकलाई चिनेको लामो समय नभए पनि उहाँको इमान बुझिसकेको दाबी गर्नुभयो । खतिवडाले राजनीतिमा भित्रिएको विसङ्गतवादले राज्यलाई नै धराशायी बनाएको बताउँदै आआफ्नो ठाउँबाट सबैलाई सच्चिन आग्रह गर्नुभयो ।


लेखक कृष्ण कोपिलाले आफूले जे देखेँ, त्यही लेखेँ भन्दै यसलाई तत्कालीन कालखण्डको दर्पण बुझिदिन आग्रह गर्नुभयो ।


उसको अतीतमाथि साङ्गोपाङ्ग शल्यक्रिया गरेका डीपी ढकालले पुस्तकले तीनपुस्ताका अनुभूति, सङ्घर्षका कथा एवं नेपालको लोकतान्त्रिक आन्दोलनको फेहरिस्त परोक्ष रुपमा आएको बताउँदै केही कुरा भने अलिक दोहोरिएका र थप सम्पादनको दरकार रहेको खाँचो औँल्याउनुभयो । उहाँले ‘ऊ’ जस्तै पात्रहरूलेले भोगेका ती कठिनाइकै कारण आजको यो स्वतन्त्रता उपभोग गर्न पाएको दाबी गर्नुभयो ।


उक्त कार्यक्रमका सम्मानित व्यक्तित्व युवराज इटनीको व्यक्तित्व र कृतित्वबारे लेखक एवं सञ्चारकर्मी जयराम बिडारीले प्रकाश पार्नुभयो । डा. सावित्री श्रेष्ठले हरेक रचनाले सकारात्मक सन्देश दिनुपर्ने खाँचो औँल्याउनुभयो ।


कार्यक्रममा सम्मानित व्यक्तित्व युवराज इटनीले लोमश वाङ्मय प्रतिष्ठानबाट सम्मानित हुन पाउँदा आफू सगरमाथाको शिखर चढेको जस्तो गौरवको अनुभूति भएको बताउँदै प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो ।


लोमश वाङ्मय प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा समाज तथा साहित्यका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने कौशल इङ्लिस बोर्डिंग स्कुल,हिम रश्मि हाई स्कुल,रानीवन तेल उद्योग स्नोई होराइजन ट्रेक्स एन्ड एक्स्पिडिसनलाई ‘कदर पत्र’ प्रदान गरिएको थियो ।


समारोहमा एक वर्षभित्र बन्नुभएका संस्थाका नयाँ आजीवन सदस्यहरूलाई सदस्यता प्रमाणपत्रसमेत वितरण गरिएको थियो । संस्थाका सचिव नवीन पल्लवद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा साहित्यकार तथा साहित्यानुरागीहरुको सघन उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »