सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनताको मन जित्ने संकल्पसहित एमाले त्रिपुरासुन्दरीको नयाँ नेतृत्व अघि बढ्यो

सिन्धुपाल्चोक । जनताको विश्वास जित्ने, स्थानीय विकासलाई गति दिने र संगठनलाई जनतासँग जोड्ने संकल्पसहित नेकपा (एमाले) त्रिपुरासुन्दरी गाउँपालिका कमिटीको प्रथम बैठक सम्पन्न भएको छ।

शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को शुभकामना आदानप्रदान, नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको पद र गोपनीयताको शपथ ग्रहण एवं प्रथम बैठक पार्टीका नेता अमृतकुमार बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा पार्टीका विभिन्न जिम्मेवार नेतृत्व तथा सम्बन्धित कमिटीको उपस्थिति रहेको थियो।

बैठकले गाउँपालिकाको समग्र विकास, जनताको आवश्यकता र संगठन सुदृढीकरणलाई केन्द्रमा राख्दै कृषि तथा पशुपालनको आधुनिकीकरण, उत्पादनको उचित बजारीकरण, युवा रोजगारी र उद्यमशीलताको प्रवर्द्धन, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, सडक, खानेपानी तथा सिँचाइको विकास, धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धनलगायतका विषयलाई प्राथमिकतामा राखेको छ।

अध्यक्ष श्रेष्ठका सात प्रतिबद्धता : विकास र जनसेवा मुख्य प्राथमिकता

बैठकमा गाउँपालिका कमिटीका नवनिर्वाचित अध्यक्ष विष्णुकुमार श्रेष्ठले आफ्नो नेतृत्वको कार्यदिशा स्पष्ट पार्दै सातवटा प्रमुख प्रतिबद्धता प्रस्तुत गरेका छन्।

उनले विचार, सिद्धान्त र राजनीतिक निष्ठाप्रति अडिग रहने, संगठनात्मक एकता, अनुशासन र सामूहिक नेतृत्वको विकास गर्ने, भूगोल, उत्पादन र स्थानीय अर्थतन्त्रलाई राजनीतिक प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी शिक्षा, स्वास्थ्य, सामाजिक न्याय र मानवीय विकासलाई प्राथमिकता दिने, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने, सुशासन, पारदर्शिता र विपद् व्यवस्थापनमा जनउत्तरदायी भूमिका निर्वाह गर्ने तथा जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गरी परिणाममुखी नेतृत्व निर्माण गर्ने प्रतिबद्धता जनाए।

‘पार्टी कार्यालय जनताको समस्या सुनिने केन्द्र बन्नुपर्छ’

प्रतिबद्धता कार्यान्वयनका लागि अध्यक्ष श्रेष्ठले कमिटीका सबै सदस्य र कार्यकर्ताको सक्रिय सहभागितालाई अनिवार्य आवश्यकता बताएका छन्।

उनले आफ्नो गाउँको समस्या नचिन्ने नेतृत्वले गाउँको भविष्य देखाउन नसक्ने उल्लेख गर्दै पहिले गाउँको वास्तविक अवस्था बुझ्ने र त्यसपछि परिवर्तनको योजना बनाउने कार्यदिशा अघि सारेका छन्।

पार्टी कार्यालयलाई बैठक बस्ने ठाउँमा मात्र सीमित नराखी जनताका समस्या सुनिने र समाधान खोजिने केन्द्रका रूपमा विकास गर्ने, कार्यकर्तालाई जिम्मेवारी दिने, कामको परिणाम माग्ने र नियमित अनुगमनमार्फत नेतृत्व विकास गर्ने उनको प्रस्ताव छ।

त्यस्तै, जनताको आवश्यकता र सरकारी बजेटबीच सम्बन्ध स्थापित गर्न राजनीतिक नेतृत्व सक्रिय हुनुपर्ने, वर्षभरिमा कम्तीमा दुईवटा जनताले प्रत्यक्ष अनुभूति गर्न सक्ने र दीर्घकालीन प्रभाव पार्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ।

तीन महिनामा आत्मसमीक्षा, जनताबाट कामको मूल्याङ्कन

निर्वाचनमा प्राप्त मत अस्थायी हुन सक्ने तर जनताको मनमा स्थापित विश्वास दीर्घकालीन राजनीतिक शक्ति हुने उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले संगठनभित्र विश्वासको वातावरण निर्माण र नागरिकसँगको सम्बन्धलाई राजनीतिक पुँजीका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

कमिटीले प्रत्येक तीन महिनामा आफ्ना कामको समीक्षा गर्दै ‘हामीले के परिवर्तन गर्‍यौँ?’ भन्ने प्रश्नको जवाफ खोज्ने र जनताबाटै आफ्नो कामको मूल्याङ्कन हुने वातावरण निर्माण गर्ने कार्यदिशासमेत अघि सारेको छ।

उनका अनुसार वर्षभरि धेरै कार्यक्रम गर्नु मात्र उपलब्धि होइन, एउटा प्रभावकारी कामबाट हजारौँ नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु वास्तविक राजनीतिक सफलता हो।

‘विकास भाषणमा होइन, जनताको जीवनमा देखिनुपर्छ’

बैठकले विकास भाषणमा होइन, जनताको जीवनमा देखिनुपर्ने र राजनीति नारामा होइन, व्यवहारमा अनुभूत हुनुपर्ने मान्यतालाई आत्मसात् गरेको छ।

अग्रजको अनुभव, युवाको जोश, महिला नेतृत्वको क्षमता र सम्पूर्ण कार्यकर्ताको एकतालाई समेट्दै जनताका समस्या समाधान तथा समृद्ध त्रिपुरासुन्दरी निर्माणको अभियानमा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

जनताको विश्वासलाई कमजोर हुन नदिने, आशालाई निराशामा बदलिन नदिने र सुशासन, विकास, समृद्धि तथा जनसेवामा समर्पित नेतृत्व निर्माण गर्ने संकल्पसहित बैठक सम्पन्न भएको अध्यक्ष श्रेष्ठले जनाएका छन्।

अन्त्यमा, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को अवसरमा सम्पूर्ण गाउँपालिकावासी, पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम नेपाली दाजुभाइ र दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »