सिन्धुपाल्चोक । आफ्ना अभिभावकप्रतिको सम्मान र स्मृतिलाई जीवन्त राख्ने उद्देश्यसहित कुमार घिमिरे ,गणेश घिमिरे युवा व्यवसायी तथा समाजसेवी राजु घिमिरे र युवा नेता रमेश घिमिरेले आफ्ना पिता स्वर्गीय लालबहादुर घिमिरेको सालिक निर्माण गरेका छन्।
सिन्धुपाल्चोक जिल्ला, बलेफी गाउँपालिका–६ जालबारी (सहेले) मा २४औँ स्मृति दिवसको अवसर पारेर सालिक अनावरण तथा स्मृति समारोह आयोजना गरिएको हो।
समारोहमा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, निवर्तमान संघीय सांसद माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेशसभा सदस्य अमृता नेपाल, बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङलगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा परिवारका सदस्य, आफन्तजन, इष्टमित्र, साथीभाइ, छरछिमेकी तथा स्थानीय शुभचिन्तकहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो।
समय बित्दै जाँदा मानिसको भौतिक उपस्थिति हराउन सक्छ, तर उसले परिवारलाई दिएको माया, सिकाएको जीवनशैली र समाजमा बनाएको सम्बन्ध पुस्तौँसम्म स्मरणीय रहन्छ। यही भावनालाई आत्मसात् गर्दै निर्माण गरिएको सालिकले पारिवारिक स्मृतिलाई सार्वजनिक सम्मानसँग जोडेको छ।
आजको व्यस्त र बदलिँदो सामाजिक परिवेशमा आफ्ना अभिभावक, अग्रज र पुर्खाप्रतिको सम्मानलाई व्यवहारमा उतार्नु आवश्यक छ। परिवारले आफ्ना अग्रजको स्मृतिमा गरेको यस्तो कार्यले नयाँ पुस्तालाई पारिवारिक इतिहास, जिम्मेवारी र संस्कारप्रति सचेत गराउने सन्देशसमेत दिएको छ।
समारोहमा सहभागी भएर साथ, सहयोग, माया र सद्भाव व्यक्त गर्ने सम्पूर्णप्रति राजु घिमिरे तथा रमेश घिमिरेले हार्दिक आभार प्रकट गरेका छन्। उनीहरूले यस विशेष अवसरमा उपस्थित भई परिवारको दुःख र स्मृतिमा साथ दिनुहुने सम्पूर्ण आफन्तजन, इष्टमित्र, साथीभाइ, छरछिमेकी तथा शुभचिन्तकहरूको आत्मीयताप्रति परिवार सधैँ कृतज्ञ रहने बताएका छन्।


