संकटको वेला कृपया स्वास्थ्यकर्मीलाई हतोत्साही नगर्नुस् : डा. शेरबहादुर पुनको मन छुने स्टाटस

कारबाही गर्ने पत्र आएको जानकारी अस्पतालको प्रशासनबाट थाहा पाएको छु । आज शनिबार बिदा भयो, आइतबार पत्र बुझ्छु । तर, बिरामी हेर्दै गरेको व्यक्तिलाई के कारणले मन्त्रालय तानियो ? म पनि आश्चर्यमा परेको छु । सुन्नमा आएअनुसार संक्रामक रोग कोभिड–१९ विषयमा सञ्चारमाध्यममा लेख्ने, बोल्ने काम बढी भयो भन्ने आरोप छ । हो, मैले आमजनताले बुझ्ने सरल र सहज भाषामा बोल्दै आएको छु । यो वेला मानिसहरू विभिन्न भ्रम–त्रासमा बसिरहेका छन् । त्यसलाई चिर्ने विशेषज्ञ स्वास्थ्यकर्मीले नै हो । त्यसैले कोभिडबारे मैले लेख्ने र बोल्ने काम गर्दै आएको छु । यो हाम्रो पेसागत दायित्व मात्र होइन, मानवीय धर्म पनि हो । तर, त्यसैलाई पाप र गैरकानुनी भनिन्छ भने मेरो भन्नु केही छैन । अहिले विश्वजगत् कोरोनाले त्रसित छ । हामीले नेपालमा फैलिन दिनुहुँदैन, फैलिएमा त्यसको नियन्त्रणमा एकजुट भएर लाग्नुपर्छ भनिरहेका छौँ । यसका लागि एक निकाय मात्रै लागेर पुग्दैन । सबै निकाय र सर्वसाधारण पनि लाग्नुपर्छ । तर, रोकथामका लागि आमसर्वसाधारणले कोभिड संक्रमणबारे जानकारी पाउनुपर्छ । विशेषज्ञ स्वास्थ्यकर्मीको रूपमा मैले त्यही धर्म पूरा गर्दै आएको छु ।

मैले अफवाह फैलाएको छु भने सरकारले आपत्ति जनाउन पाउँछ । अफवाह फैलाउनेविरुद्ध म आफू पनि लडेको छु । मानिसलाई ठूलो भ्रम फैलाएर मानिस तर्साउने काम ग¥यो भने सरकारले अवश्य पनि आपत्ति जनाउनुपर्छ । तर, कुनै पनि विशेषज्ञले आफूले पढेको, लेखेको वा अनुभव गरेको ज्ञान र चेतना सर्वसाधारणलाई बताउँदा सरकारले आपत्ति जनाउनुपर्ने कुरा तर्कसंगत लाग्दैन । मुटुरोग विशेषज्ञले सोसम्बन्धी जानकारी जनतालाई दिन्छन् । डाइटिसियनले सोबारे ज्ञान दिन्छन् । स्वास्थ्यकर्मीले औषधिको प्रेस्क्रिप्सन लेख्ने मात्र होइन, रोग नै नलागोस् भनेर जनतालाई चेतनशील बनाउने पनि हो । त्यो जानकारी दिने अधिकार र कर्तव्य हामीसँग छ । कोरोना संक्रमण भयो भनेर मान्छेहरू आत्तिएर अस्पताल आउँछन्, उनीहरूलाई सुसूचित गराउने काम चिकित्सकको हो । संक्रामक रोगबारे कुन समुदाय बढी जोखिममा छ, त्यो समुदायका मान्छेलाई कसरी सुरक्षित रहन सकिन्छ भन्ने जानकारी दिनु चिकित्सकको दायित्व हो । मैले कुनै पनि कुरा प्रमाणविना बोलेको छैन । विभिन्न अध्ययन–अनुसन्धानबाट आएका कुरा सहज र सरल भाषामा जनतालाई भनेको छु । त्यो अधिकारबाट मलाई विमुख गराउन मिल्दैन ।

सरकारले दिएको निर्देशन मैले बेवास्ता गर्न मिल्दैन । तर, बुधबार र बिहीबार दिनभर म पिपिई लगाएर बिरामी जाँच्न व्यस्त थिएँ । पिपिई लगाएर बिरामी जाँचिरहेको स्वास्थ्यकर्मीले फोन उठाउन मिल्दैन, त्यो प्राविधिक रूपमा सम्भव छैन र अझ स्वास्थ्य प्रोटोकलले पनि त्यसो गर्न दिँदैन । बिहीबार दिउँसो फोन आएको रहेछ, बेलुका मात्र थाहा पाएँ । मास मिडियामा किन बोलेको, किन लेखेको भनेर मन्त्रालयको चासो रहेछ, मैले बोलेको विषयले देशमा केही भवितव्य परेको थिएन । फेरि रातिराति मन्त्रालय जाने कुरा भएन, शुक्रबार केही बिरामी हेरेर मन्त्रालय जाने सोच बनाएको थिएँ । तर, उहाँहरूले खोजेको २४ घन्टा पनि नबित्दै मलाई लिखित नै स्पष्टीकरण सोध्ने भनेर पत्र तयार पार्नुभएछ । मलाई त्यसरी हतोत्साही गराउन उहाँहरूले किन आवश्यक ठान्नुभयो, मैले बुझेको छैन । अन्योलमा छु ।

विगतमा पनि मिडियामा बोल्दा दूरी बढ्दै गएको थियो । तर, अहिले महामारीका वेला एक्कासि पत्र काटिएछ । कोरोनाविरुद्धको ज्ञान बढाउने काम एक–एकजनालाई भेटेर सञ्चार गर्न सम्भव छैन । यो मास मिडियाबाटै जानुपर्छ । अहिले इटाली, अमेरिका, जर्मनी, फ्रान्सको अवस्था दर्दनाक छ । त्यस्तो अवस्था हुन नदिन पहिलो माध्यम मिडियामार्फत आमनागरिकलाई भन्ने हो । सामाजिक सञ्जालमार्फत भ्रम फैलाउनेहरूलाई निरुत्साहित पार्नुपर्छ । जोसुकैले बोल्नेभन्दा पनि सम्बन्धित विज्ञ व्यक्तिले बोल्नुपर्छ । यो चेतनाले सयौँ, हजारौँ मानिसको जीवन जोगाउँछ । तर, यही विषयमा मैले इमानदार कोसिस गर्दा मलाई पत्र काट्ने काम भयो, यो अनौठो हो ।

मैले आमनागरिकलाई संक्रामक रोगबारे सुसूचित गराएको चित्त नबुझाउनेहरू पनि छन् । तर, म भन्छु– आफ्नो जानकारी नभएको विषयमा नबोल्नुस् । विज्ञता भएको विषयमा खुलेर बोल्नुहोस् । जो विज्ञ हुनुहुुन्छ, उहाँहरू सबैले आफ्नो विज्ञता सार्वजनिक गर्नुहोस् । तपाईंको यो कदमले समाजलाई महामारीबाट बचाउन सक्छ । म एक्लैले गर्न सक्छु भनेर म हिँडेको छैन, मलाई त्यस्तो भ्रम पनि छैन । अहिले कोभिडबारे भ्रामक सूचना फैलिएका छन्, सत्यतथ्य सूचना दिने काम चिकित्सकको हो ।

म एउटा चिकित्सक हो । मेरो कामै बिरामी हेर्ने हो । अहिले कोरोनाको लडाइँमा छौँ । भोलि कैयौँ दिनसम्म अस्पतालमा बस्नुपर्ने अवस्था आउन सक्छ । यहीबीचमा दुनियाँमा नयाँ–नयाँ अध्ययन भएका छन्, जान्नु पनि पर्छ । तर, यस्तो संवेदनशील समयमा सरकारले चिकित्सकको मनोबल खस्किने काम गर्नुहुँदैन । केही त्यस्तो छ भने उचित समय आएपछि गरे हुन्छ, त्यतिवेला धेरैलाई हानि हुँदैन । तर, अहिले यो सब गर्ने वेला होइन ।

मेरो विज्ञता नै संक्रामक रोगमा हो । १८ वर्षदेखि यही टेकु अस्पतालमा काम गरिरहेको छु । सार्सको समयमा पनि पिपिई लगाएर बिरामी हेरेको हो । त्यस्तै, स्वाइनफ्लु, कालाजार, झाडापखाला, जापानिज इन्सेफ्लाइटिस, जन्डिस, मलेरिया, डेंगुजस्ता महामारीको सामना गरिसकेको छु । तीन दिनसम्म अस्पतालमा बसेर निरन्तर बिरामी हेरेको याद छ । टेकु अस्पतालसँग इमोसनल सम्बन्ध छ । फेरि नेपालमा संक्रामक रोग विशेषज्ञ धेरै छैनन्, भएकाहरूले जनतालाई सुसूचित गराउनुपर्छ भन्ने मेरो मान्यता छ ।

+ posts

Leave a Reply

Your email address will not be published.

Language »