सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डा. गोविन्द केसी स्वइच्छाले निस्किएर महाराजगन्जस्थित शिक्षण अस्पतालको आकस्मिक कक्षमा

काठमाडौँ। मंगलबार दिउँसो प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर ट्रमा सेन्टर पुर्‍याएका डा. गोविन्द केसी साँझ ६ बजेर १५ मिनेट जाँदा अस्पतालबाट स्वइच्छाले निस्किएर महाराजगन्जस्थित शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुगेर भर्ना भएका छन् । उनका सहयोगी प्रितम सुवेदीका अनुसार डा. केसीले त्यहाँ कुनै पनि प्रकारको परीक्षण तथा उपचार गर्न नमानेपछि अस्पतालबाट स्वइच्छाले निस्किएका हुन् ।

अस्पतालबाट निस्किए लगत्तै उनी केही सहयोगीका साथ ट्याक्सी चढेर शिक्षण अस्पताल महाराजगन्ज गएका छन् । सहयोगी तथा समर्थक सुवेदीका अनुसार डा‍. केसीले अब शिक्षण अस्पतालमा नै अनशन बस्ने छन् ।

ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलका अनुसार अस्पतालले उनलाई औपचारिक रुपमा डिस्चार्ज गरेको होइन । ‘हामीले कुनै परीक्षण पनि गर्न पाएनौं । उहाँलाई हामीले डिस्चार्ज गरेको पनि होइन । त्यसै निस्किएर ,’ उनले भने ।

डा. गोविन्द केसीले नेपालगन्जबाट काठमाडौै विमानस्थलमा ओर्लिएर शिक्षण अस्पताल जान भनेर एम्बुलेन्स चढे पनि आफूलाई प्रहरीहरुले अपहरण शैलीमा ट्रमा सेन्टर ल्याएको बताएका थिए । उनका समर्थक प्रितम सुवेदीबाट प्राप्त भिडियोमा उनले सरकारकै निर्देशनमा आफूलाई प्रहरीहरुले अपहरण गरेर ट्रमा सेन्टरमा ल्याएको प्रतिक्रिया दिएका थिए ।

डा. केसीले आफूलाई शिक्षण अस्पताल नलगेसम्म कुनै पनि प्रकारको परीक्षण नगर्न नदिने र उपचार पनि स्वीकार नगर्ने समेत बताएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »