सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साउन १५ गतेभित्र ३२ लाख मात्रा ‘भेरोसेल’ खोप ल्याउने

सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरस विरुद्धको ‘भेरोसेल’ खोप ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडवडी जहाजबाट नियमित चार उडानमार्फत ल्याउने भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

गत असार २५ गतेदेखि चीनबाट खरिद गरेको खोप ल्याउन शुरु गरिएकोमा पुनः आगामी बुधबार (यही ६ साउन) जहाज चीन जाने भएको उनले बताए । निगमको वाइडवडी जहाजले यही साउन ६ गतेदेखि तीन उडानमार्फत नियमित खोप ल्याउने छ । यसअघि असार २५ गते आठ लाख खोप चीनबाट आएको थियो ।

कोभिशिल्डको दोस्रो मात्रा छिटै

यस्तै मन्त्रालयले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई दोस्रो मात्राको खोप दिने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई दोस्रो मात्रा छिटै नै दिइने बताए । उनले खोप केही दिनमा नै प्राप्त हुने भन्दै खोपको प्रतिक्षा गरिरहेका सबै जेष्ठ नागरिकलाई दोस्रो खोप दिइने बताए ।

उनले कोभिशिल्डको दोस्रो मात्राको रुपमा जापान सरकारले उपलब्ध गराउने एस्ट्राजेनिका खोप लगाउने बताए । जापान सरकारले नेपाललाई कोभ्याक्समार्फत १६ लाख खोप उपलब्ध गराउने घोषणा गरेको छ । भारतको सिरम इन्सिच्युट कम्पनीले सरकारले खरिद गरेको कोभिशिल्ड खोप उपलब्ध नगराएपछि ज्येष्ठ नागरिकले खोप लगाउन नपाएका हुन् । गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्ष माथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएको थियो । मन्त्रालयले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने बताए ।

नेपालका ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सोहीअनुसार अहिले विभिन्न देशले कोभ्याक्समार्फत नेपाललाई खोप उपलब्ध गराइरहेका छन् । अहिलेसम्म भारत, चीन, अमेरिका, जापानलगायत देशले कोभ्याक्समार्फत नेपाललाई खोप उपलब्ध गराइसकेका छन् ।

सरकारलाई यही असार २८ गते अमेरिकाबाट १५ लाख ३४ हजार ८५० मात्रा सहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग प्राप्त गरेको हो । यसअघि कोभ्याक्स सुविधामार्फत भारतबाट कोभिशिल्ड खोप तीन लाख ४८ हजार खोप प्राप्त भएको थियो ।

यस्तै जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्राजेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । यसैगरी स्वास्थ्य सेवा विभागका खोप तथा बालस्वास्थ्य शाखाका प्रमुख डा झलक शर्मा गौतमले कोभ्याक्समार्फत थप खोप आउन थालेको जानकारी दिनुभयो । कोभ्याक्समार्फत तीन लाख ५० हजार खोप आउन थालेको हो । मन्त्रालयले चीन र अमेरिकाले उपलब्ध गराएको खोप प्राथमिकताका आधारमा लगाएको छ ।

चीन र अमेरिकाबाट प्राप्त भएको खोप यही असार २९ देखि साउन १ गतेसम्म लगाइएको थियो । भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूह र जोन्सन एण्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई लगाइएको छ । नेपालमा अहिलेसम्म पहिलो मात्रा २७ लाख ६५ हजार ७०९ र दोस्रो मात्रा ११ लाख २० हजार २८२ जनाले लगाइसकेका छन् । सरकारले १८ वर्षभन्दा माथिका कूल दुई करोड २० लाख जनसङ्ख्यालाई निःशुल्क खोप लगाउने लक्ष्य लिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »