काठमाडौं। कोरोना संक्रमणको बढ्दो गतिलाई फैलन नदिन स्थानीय प्रशासनले मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।
सरकारले संक्रमणको गति र अवस्था हेरेर स्थानीय प्रशासनलाई नै आवश्यक निर्णय गर्न सक्ने अधिकार दिएपछि मंगलबार साँझसम्म १२ वटा जिल्लामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका छन्।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।
उनका अनुसार केही जिल्लामा पूर्ण निषेधाज्ञा लागू गरिएको छ भने केहीमा बढी प्रभावित रहेका स्थानीय तह र वडामा मात्रै निषेधाज्ञा गरिएको छ ।
सप्तरी, बाँके, बारा र पर्सामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थानीय तह र स्थानीय तहभित्रका केही वडामा मात्रै निषेधाज्ञा लागू गरिएको छ ।