सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दशैंपछि मात्र समाज त्रिविको परीक्षा सञ्चालन हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लकडाउनमा रोकिएको परीक्षा दशैंअगाडि सञ्चालन नगर्ने भएको छ। नेपालमा दिन-प्रतिदिन कोरोना संक्रमित बढ्दै गएकोले दशैं अगाडि परीक्षा सञ्चालन गर्ने सम्भावना नरहेको त्रिविका रजिष्टार पेशल दाहालले जानकारी दिएका छन्‌।

‘नेपालमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ,’ उनले भने, ‘तत्काल परीक्षा सञ्चालन गर्ने अवस्था नै छैन, ३५ दिनको समय निकालेर सूचना जारी गर्नुपर्छ। अब त्यो समय हामीसँग नै छैन, कसरी परीक्षा गराउने भन्ने विषयमा निर्णय नै हुन सकेको छैन, त्यसैले दशैं अगाडि परीक्षा गराउने कुनै सम्भावना नै छैन।’

उनले यो संकटको बेला विद्यार्थीलाई तनावमा नराख्ने बताए। उनले भने, ‘परीक्षा भनेको खेल खेलेजस्तो होइन, यो संवेदनशील विषय हो, क्षणिक निर्णयले हुँदैन, यस्तो समयमा विद्यार्थीलाई प्रेसर दिन मिल्दैन।’

परीक्षाको विषयमा बाहिर गलत सन्देश फैलाएर झनै विद्यार्थीलाई चिन्तित बनाएको भन्दै उनले गुनासो पोखे। थोरै विद्यार्थी भएका संकायको परीक्षा दशैंअघि हुन सक्ने रजिष्टार दाहालले थोरै विद्यार्थी भएका संकायको भने दशैं अगाडि नै परीक्षा सञ्चालन गर्ने सम्भावना रहेको बताए।

अहिले कुन विधिबाट परीक्षा गराउने भन्ने बारेमा डिन कार्यालयमा भने छलफल भैरहेको उनले जानकारी दिए। ‘अनलाइनमार्फत, सामाजिक दुरी कायम गरेर वा कसरी हुन्छ, चार वटा स्वरुपबाट परीक्षा गराउने भन्ने बारेमा डिन कार्यालयमा छलफल भने चलेको छ,’ उनले भने ।

त्रिविले विद्यार्थीको खोजीकार्य सुरु गरेको छ। उनले भने, ‘कोरोना त्रासले धेरै विद्यार्थी गाउँमै छन्‌, उनीहरु कुन अवस्था र कहाँ छन्‌ भनी हामीले खोजीकार्य सुरु गरेका छौँ।’ विद्यार्थीहरुको अवस्थाबारे सबै खोजीकार्य गरिसकेपछि थप निर्णय हुने दाहालले बताए।

तर, यो संकटमा यो कदम चाल्नु गलत भएको भन्दै विद्यार्थी संगठनका विद्यार्थी नेताले आपत्ति जनाएका छन्‌।

भर्खरै

सम्बन्धित खबर

Language »