सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युनेस्कोद्धारा बैजनाथका विपन्न परिवारलाई आय आर्जनका लागि सामाग्री सहयोग


नेपालगन्ज, कोभिड १९ का कारण अति जोखिममा रहेका परिवारलाई आय आर्जनमा सहयोग गर्ने उदेश्यले युनेस्को बाँकेले बैजनाथ गाउँपालिकामा विभिन्न सामाग्री वितरण गरेको छ ।


प्लान इन्टरनेसनल नेपालको साझेदारी र गिभ २ एसिया तथा मेटलाइफ फाउन्डेसनको आर्थिक सहयोगमा बैजनाथ गाउँपालिकामा सञ्चालित कोभिड १९ प्रतिकार्य र पुनस्र्थापना परियोजना अन्तर्गत सो सामाग्री वितरण गरिएको क्लबले जनाएको छ ।


कोभिड १९ का कारण अति जोखिममा रहेका बैजनाथ गाउँपालिकाका १ देखि ४ नम्बर सम्मका चार वटा वडाका २४ परिवारलाई विभिन्न सामाग्री वितरण गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले सो गाउँपालिकामा आठवटै वडाका १२८ परिवारलाई आयआर्जनका लागि विभिन्न सामाग्री सहयोग गर्ने योजना रहेको जनाउँदै सबैलाई क्रमशः वितरण गरिंदै जाने बताउनुभयो ।


एक परिवारलाई २५ हजार रुपियाँ बराबरको सामाग्री वितरण गरिएको हो । वडा नम्बर १ का वडा अध्यक्ष रुप बहादुर मल्लको अध्यक्षतामा सम्पन्न भएको सामाग्री वितरण कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष प्रेम बहादुर थापा, वडा नम्बर ३ का अध्यक्ष रामचरण चौधरी, वडा नम्बर ४ का अध्यक्ष काली बहादुर सिंह, गाउँ कार्यपालिका सदस्य संगिता सुनार र बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले सामाग्री वितरण गर्नुभयो ।


२४ परिवारलाई आय आर्जनका लागि विरतण गरिएको सामाग्रीमा १० परिवारलाई बाख्रा, ८ परिवारलाई खुद्रा पसलको सामाग्री, एक परिवारलाई सिलाई मेसिन र अन्य सामाग्री तथा एक जनालाई मार्वलसम्बन्धि मेसिन लगायतको सामाग्री वितरण गरिएको क्लबका अध्यक्ष चौधरीले बताउनुभयो ।

वडा नम्बर १ का वडा अध्यक्ष मल्लले क्लबले गरेको यो सहयोग निकै सराहनीय रहेको जनाउँदै यसबाट धेरै जनाको जिविका चल्ने र उनिहरुलाई दुई छाक टार्न सहयोग मिल्ने बताउनुभयो ।


सो परियोजना अन्तर्गत हालसम्म १० वटा सार्वजनिक स्थानहरुमा सन्देशमूलक होडिङ्ग बोर्ड जडान गरिएको, ११५५ जना किशोरीहरुलाई सेनेटरी प्याड वितरण गरिनुका साथै उनिहरुलाई महिनावारी स्वच्छता व्यवस्थापन अभिमुखिकरण दिईएको तथा रेडियो मार्फत १ महिना सम्म सन्देशमूलक जिंगल प्रशारण गरिएको सो परियोजनाका कार्यक्रम अधिकृत अनुप बर्माले बताउनुभयो । उक्त अवसरमा क्लबका सहायक निर्देशक साजिद अलि सिद्दिकी लगायतको पनि उपस्थिति रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »