सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दशैंमा काेराेना अस्पतालमा काेराेना संक्रमितले एक आपसमा टीका लगाएर खुसी साटे

दाङ। कोरोना कहरका कारण गत वर्षको जस्तो बडादशैं हर्षोल्लासका साथ मनाइएको छैन। यस पटक दशैंको टीका थाप्न धेरै मानिस मान्यजन कहाँ नगएर जहाँ छन् त्यहीँ बसेका छन्।

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेका कोरोना संक्रमितहरुले भने अस्पतालमै दशैं मनाएका छन्। कोरोना संक्रमणका कारण अस्पतालमा रहेका उनीहरुले आपसमा टीका लगाएर खुसी साटेका छन्।

​अस्पताल व्यवस्थापक द्रोणबहादुर वलीले आयोजना गरेको टीका कार्यक्रममा १८ जना संक्रमितले टीका लगाएका थिए। कोरोना संक्रमणका कारण परिवार र आफन्तसँग दशैं मनाउन नपाएपछि सबै संक्रमितलाई आफैंले टीका लगाइदिएको उनले बताए।

‘हामी अहिले आइसोलेसनमा छौं। दशैंको दिन अस्पतालमा बस्दा सबैको मनमा नरमाइलो भएको हुँदा सबै संक्रमितलाई बेडमै पुगेर भेटघाट र दशैंको टीका लगाएर खुसी साटेका हाैं,’ उनले भने।

अस्पतालमा युवादेखि ९० वर्षीयसम्म रहेका उनले बताए। यसरी दशैंको दिन आफूभन्दा ठूला मान्यजनबाट टीका थाप्ने चलन रहे पनि कोरोनाका कारण संक्रमितको निधार खाली रहने भएकाले आफूले नै सबैलाई टीकाजमरा लगाइदिन पाउँदा अत्यन्तै खुशी लागेको समेत वलीले बताए।

‘म ७ महिना भयो, यस अस्पतालमा काम गर्दै आएको, तर म पनि अहिले संक्रमित छु। यति ठूलो पर्वमा परिवारसँग टाढा हुँदा सबैलाई नरमाइलो लागेको छ। त्यसैले अस्पतालले गर्नुपर्ने दायित्व पूरा गरेजस्तो लागेको छ,’ उनले भने।

त्यसैगरी अस्पतालमा खटिएका डाक्टर, स्वास्थकर्मी पनि टीकाबाट बञ्चित नभएका उनले सुनाए। सबैलाई सिफ्टअनुसार ड्युटीको व्यवस्था गरिएको छ।

अस्पतालमा १३ जना नर्स, ५ जना डाक्टर र ६ जना कार्यालय सहयोगी रहेका व्यवस्थापक वलीले जानकारी दिए। अस्पतालमा १८ जना लक्षणसहितका संक्रमित छन्। आफू र अर्का एक जनाबाहेक सबैलाई अक्सिजन लगाएर राखिएको पनि उनले बताए।

​‘५ जना आइसियुमा, ११ जना एचडिओ र आफू र अर्का एक जना जनरल बेडमा छौँ। मलाई संक्रमण पुष्टि भएको ८ औँ दिन भयो,’ उनले जनाए।

थाहा खबरबाट साभार

भर्खरै

सम्बन्धित खबर

Language »