सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठ्माण्डौ मा प्रचण्ड- माधव पक्ष को शक्ति प्रदर्शन: कसले के बोले ?

काठमाडौं ।

 प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा गरेको प्रचण्ड–माधव समूहले शक्ति प्रदर्शन गरेका छन् ।

सभालाई अध्यक्षद्वयसहित १४ नेताले सम्बोधन गरेका थिए र अधिकांशले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे ।

कार्यक्रममा  बोल्दै  प्रचण्डले भने, ‘सजिलो नठान्नुहोला । नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ ।’ प्रचण्डले संवैधानिक निकायमा पुगेकाहरुले खेलाँची ठान्दा देश र जनताले दुःख पाउने चेतावनी दिए ।

प्रचण्डले आफूले बोल्दा (अदालतको) अपमान गरेको आरोप पनि लाग्ने गरेको भन्दै भने, ‘मैले कहिल्यै अपमान गरेको छैन । अदालतप्रति भरोसा छ, छिटो गरिदेऊ भनेको छु । ’

आफ्नो पक्षले गरेको सभामा भएको उपस्थितिले पनि अदालतलाई सहज हुने प्रचण्डले दाबी गरे । ‘संविधान, लोकतन्त्र र गणतन्त्रको पक्षमा फैसला गर्न भन्ने म ठान्दछु’ उनले भने, ‘त्यसो भएन भने आँधी आउँछ, हुरी चल्छ । कसैले थाम्न सक्दैन ।’

अर्का, अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्री ओलीले ‘पहिलो अध्यक्ष म नै हुँ, आधिकारिकताको विवादमा पस्न पाउँदैन’ भनेर संवैधानिक निकायलाई धम्क्याएको आरोप लगाए ।

पार्टीमा कोही पहिलो अध्यक्ष नभएको भन्दै उनले पार्टीको विधान, दस्तावेज, सकुर्लर र निर्णय हेर्न निर्वाचन आयोगलाई आग्रह गरे । उनले भने, ‘त्यसमा शंका छ भने ४४१ लाई बोलाएर एक–एक व्यक्तिको टाउको गने हुन्छ ।’

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ मा एउटै पार्टीमा नाम, चिन्ह, झण्डालगायतका विषयमा विवाद भएमा बहुमतको निर्णय स्वीकार्य हुने व्यवस्था रहेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले त्यसको हेक्का राख्न आयोगलाई आग्रह गरे ।

वरिष्ठ नेता झलनाथ खनालले पनि प्रचण्ड र माधव नेपालसँग मिल्दोजुल्दो भाषामा निर्वाचन आयोगलाई नेकपाको वैधानिकता विवादमा नअल्झन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीको धम्की नभई कानून हेर्न सुझाव दिएका खनालले चेतावनीको भाषामा भने, ‘आधिकारिकताको प्रमाण दिनबारे आयोगलाई सकस परेको छ । तर, कहाँ कानून मिलाउनु पर्ने हो, मिलाउनुहोस्, ऐन मिलाउनुहोस्, प्रक्रिया मिलाउनुहोस् । ढिलो गर्दा अप्ठ्यारो आउन सक्छ ।’

वरिष्ठ नेता झलनाथ खनालले पनि कांग्रेस, जनता समाजवादी लगायतका लोकतन्त्र पक्षधर सबैलाई संयुक्त आन्दोलनमा आउन आह्वान गरे । पुस ५ मा प्रतिक्रान्ति भएकाले त्यसविरुद्ध आन्दोलन भइरहेको भन्दै उनले भने, ‘यो नेकपाको मात्र आन्दोलन होइन जताको आन्दोलन हो । आउनुस्, संयुक्त आन्दोलन गरौं ।’

प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीमाथि संविधानको उपहास गरेको र फासीवादतिर लागेको आरोप लगाए । ओलीले लोकतन्त्रको रक्षा गर्छु भन्नु ठट्टा भएको भन्दै उनले भने, ओलीले संविधान र लोकतन्त्र ध्वस्त पार्न चुनाव घोषणा गरेका हुन् ।’

नेता जनार्दन शर्माले शान्तिपूर्ण आवाज नसुनिए जनता कुनै पनि बेला विद्रोहमा उत्रन सक्ने बताए । त्यस्तो विद्रोहले संघीयता र गणतन्त्र विरोधीहरुलाई समाप्त पार्ने उनको चेतावनी थियो ।

नेत्री रामकुमारी झाँक्रीले ओली कागजी तानाशाह भएको बताइन् । बादशाहहरु कमजोर बन्दै गएपछि कागजका अग्ला कदका बुख्याचा बनाउने भन्दै उनले भने,, खड्गप्रसाद ओली कागजी बादशाह हुन्, ती ढलिसके, घोषणा हुन मात्र बाँकी छ ।

निरंकुशताको साक्षी बनेको भन्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारीको सचेत चर्को आलोचना गरिन् ।

जनसभापछि फोहोर भएको सडक कार्यकर्ताहरुले नै सफा गरेका छन् ।

राजधानीको भृकुटीमण्डपमा सभा सकिएपछि कार्यकर्ताहरुले नै सडक बढारेका हुन् ।

सभाका क्रममा पर्चा पम्प्लेट, झण्डा र खानेकुराको फोहोर थुप्रिएको सडक प्रदर्शनकारीले नै सफा गरेका हुन् । बुधबार काठमाडौंका विभिन्न ठाउँबाट नेकपा प्रचण्ड– माधव समूहले प्रदर्शन गरेको थियो ।

ती प्रदर्शनहरु भृकुटीमण्डपमा आई सभामा परिणत भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »