सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अब नेकपा (एमाले) को कार्यदिशा कता ?

काठमाडौं । साविक नेकपा हुँदा दुई खेमामा पुगेका एमालेका नेता पार्टी ब्युँतिँदा पनि मिल्न सकेका छैनन्। बरु वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय भेला बुधबार सुरु भएको छ। वरिष्ठ नेता नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर विभिन्न आरोप लगाउँदै नौ पृष्ठको राजनीतिक प्रतिवेदन पेस गरेका छन्।

वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओली नियोजित रूपमा पार्टी विभाजन गर्न अगाडि बढेपछि एमालेको एकता बचाउन र कम्युनिस्ट आन्दोलनको रक्षा गर्नुपर्ने असाधारण परिस्थितिमा भेला आयोजना गर्नुपरेको जनाएका छन्। पार्टीमा हुर्कंदै गरेको चरम महत्वाकांक्षी व्यक्तिवादी गुटबन्दीले पार्टी र आन्दोलनमाथि थप्दै गरेका चुनौती, त्यसले भत्काउँदै गरेको सामूहिकतायुक्त पार्टी जीवन, लोकतान्त्रिक मूल्य र भावनाको क्षय, विचारहीन, असैद्धान्तिक तथा अराजनीतिक प्रवृत्तिहरूको वृद्धि, त्यसले पार्टी र आन्दोलनमा उत्पन्न गरेको विभाजन तथा विघटनका आशंका बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ।

भारतीय नाकाबन्दी सामना गरेको प्रधानमन्त्रीका रूपमा ओलीको लोकप्रियता बढेपछि व्यक्तिवादी, स्वच्छन्दतावादी प्रवृत्ति चुलिँदै गएको आरोप नेपालले लगाएका छन्। त्यसले अन्ततः आफू नै सरकार र आफैं पार्टी हो भन्ने स्थापित गर्न केन्द्रित रहेकाले पार्टी एकतादेखि सबै उपलब्धिलाई ध्वस्त बनाउने काम भएको आरोप ओलीविरुद्ध लगाइएको छ।

सर्वोच्च अदालतले दुई पार्टी (एमाले र माओवादी केन्द्र)को राजनीतिक एकतालाई कानुनी व्याख्याद्वारा एकीकरण अगाडिको अवस्थामा पुर्‍याइदिएको घटना प्रधानमन्त्री ओलीसहित सबैले आफैँले कबोल गरेका बाचाको प्रतिकूल रहेको ठहर नेपालले गरेका छन्। तर, त्यसमा पनि हर्षबढाइँ गरेर ओलीले एकताबद्ध नेपाल कम्युनिस्ट पार्टीको विभाजलाई आफ्नो गुटको विजय र अरूको पराजयका रूपमा प्रचार गराउने काम गरेको आरोप नेपाल लगाएका छन्।

नेपालले एमालेको एकता बचाउनुपर्ने पहिलो सर्त भएको भन्दै त्यसका लागि ०७५ जेठ २ गतेलाई प्रस्थानबिन्दु बनाएर पार्टी जीवनलाई निरन्तरता दिनुपर्ने जनाएका छन्। २०७५ जेठ २ मा कायम रहेका सबै पार्टी कमिटी, निकाय, जनसंगठन र विभाग पुनःस्थापना गर्नुपर्ने नेपालको माग छ। ओलीले फागुन २८ मा राखेको आफूपक्षीय केन्द्रीय सदस्यहरूको बैठकले गरेको निर्णयले एकताको आधार कमजोर बनाएकाले त्यसलाई असफल पार्न लाग्नुपर्ने नेपालको प्रस्ताव छ।

‘एमालेको लोकतान्त्रिक चरित्रले उनीहरूभन्दा यसलाई अगुवा देखाउँछ। अरू कैयन् पार्टीले लोकतन्त्रको दाबी गर्छन् तर श्रमजीवी वर्गप्रति नेकपा एमालेको प्रतिबद्धताले यसलाई तिनीहरूभन्दा अब्बल राख्छ। यही हो नेकपा एमालेको जीवन’, नेपालले भनेका छन्, तर, आज पार्टीमा जे हुँदै छ त्यसले पार्टीलाई न क्रान्तिकारी न त लोकतान्त्रिक रहन दिन्छ। अर्थात् हामी आज नेकपा एमालेका आधारभूत मूल्यहरूको रक्षा र विकासका चिन्ताले भेला भएका छौँ। हामी नेकपा एमालेहरूका लागि यही हो आजको असाधारण परिस्थिति।’

उनले ओलीका विचार र व्यवहारले एकपछि अर्को समस्या थपिँदै गएको अर्को आरोप लगाएका छन्। ओलीलाई ‘नाजायज सुविधा’ दिएर भए पनि पार्टी एकता जोगाउन अनेकौँ प्रयत्न गरिएको उनले स्मरण गरेका छन्। तर, ओलीको क्रियाकलाप कम्युनिस्ट पार्टीलाई विभाजन गर्ने दिशामै अगाडि बढेको र त्यसको पराकाष्ठा प्रतिनिधिसभा विघटनसम्म पुगेको प्रतिवेदनमा उल्लेख छ।

एमालेको अवस्थाबाट पार्टी जीवनलाई निरन्तरता दिने सम्भावना हुँदाहुँदै ओली एमालेलाई पनि विभाजन गर्न अगाडि बढेको आरोप नेपालले लगाएका छन्। ‘उहाँले फागुन २८ गते आफ्नो गुटको भेला गर्नुभयो र पार्टीको विधान र परम्पराविपरीत त्यसै भेलालाई नेकपा एमालेको केन्द्रीय कमिटी बैठक भनेर वक्तव्य जारी गर्नुभयो’, नेपालले भनेका छन्, ‘यसरी कमरेड केपी ओली सुनियोजित रूपमा पार्टी विभाजन गर्न अगाडि बढेपछि नेकपा एमालेको एकता बचाउन र कम्युनिस्ट आन्दोलनको रक्षा गर्न नेकपा एमालेका समस्त सदस्यलाई गोलबन्द गर्नु अनिवार्य भयो। त्यही ऐतिहासिक दायित्व बोधसाथ यो राष्ट्रिय भेला आयोजना गरिएको हो।’

ओलीले सहमतिको पालना र नेतृृत्व गर्न नसक्दा, आफ्नै नेतृत्वमा बाहेक अरूले नेतृत्व गरेको सरकारमा एमालेलाई जान नदिने अडान लिएकाले यसअघि पनि सरकारबाट बाहिरिनुपरेको आरोप उनले लगाएका छन्। पार्टीमा एकपछि अर्को गरी बलमिच्याइँ गरिरहेको आरोपसमेत नेपालले ओलीमाथि लगाएका छन्।

‘उहाँ (ओली)का क्रियाकलाप आँफै सरकार र आफू नै पार्टी हो भन्ने स्थापित गर्न केन्द्रित रहे। सरकारले गर्ने राजनीतिक नियुक्तिमा आफ्ना गुटका सदस्यहरू भर्ती गर्ने काम भए। पार्टी स्थायी कमिटीको बैठकमा आफैँले फिर्ता गर्छु भनेका विधेयकका आधारमा आफ्नो गुटका विश्वासपात्रलाई भर्ती गरियो’, उनले भनेका छन्, ‘यसरी पार्टी, सरकार र अन्य संवैधानिक निकायलाई आफ्नो नियन्त्रणमा लिने ध्याउन्नमा प्रधानमन्त्री लाग्नुभयो। आफ्ना स्वार्थका लागि राष्ट्रपति कार्यालयलाई समेत दुरुपयोग गरिरहनुभयो।’

उनले पार्टी बैठक नबोलाएर जनवादी केन्द्रीयता अभ्यास अवरुद्ध गरेको, आफ्नो उद्देश्यमा बाहेक बैठक नबस्ने, बसिहाल्यो भने असफल पार्ने र आफू असहमत रहेका विषय आए आफैँले बहिष्कार गर्ने काम ओलीले गर्ने गरेको उल्लेख गरेका छन्। आफैँले गरेका निर्णय र समझदारी उल्टाउने काम ओलीका लागि सामान्यजस्तै हुन थालेको प्रतिवेदनमा छ।

उनले सरकारको नीति तथा कार्यक्रम र बजेटबारे जानकारी नदिने गरेको, संसदीय दल र सांसदहरूलाई निष्क्रिय पारेको, भ्रष्टाचारमा मुछिएकालाई संरक्षण गरेर भ्रष्टाचारप्रति शून्य सहनशीलताजस्ता नारालाई हास्यास्पद बनाएको आरोपसमेत ओलीमाथि लगाइएको छ। आफू अल्पमतमा पर्ने कुनै बैठक वा कमिटीलाई स्वीकार नगर्ने बरु पार्टीलाई घुँडा टेकाएर शासन गर्ने चाहनामा कुनै परिवर्तन नआएको, आलोचनाप्रति अत्यन्तै असहिष्णु बन्ने र त्यसको बदला लिने बानी परेको, आफू असफल भएपछि संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको आरोप नेपालले ओलीमाथि लगाएका छन्।

उनले एमालेको नवौं महाधिवेशनले गरेका निर्णयका वरिपरि रहेर एकताभन्दा अगाडिको बिन्दुबाट पार्टी जीवनलाई निरन्तरता दिनुपर्ने बताएका छन्। त्यसका लागि ओलीका विभाजनकारी तथा फुटपरस्त चिन्तन, शैली र व्यवहारलाई परास्त गर्नुपर्नेमा उनले जोड दिएका छन्। ओलीको महत्वाकांक्षाका कारण प्राप्त उपलब्धि गएका केही महिनामा एकपछि अर्को गर्दै गुम्दै गएको, त्यही कारण पार्टी एकता असफल मात्र नभई अबका दिनमा गठबन्धनको सम्भावनासमेत कमजोर पार्ने काम गरेको, संसद्मा एउटा कम्युनिस्टको बहुमत गुमेको र संविधानलाई ठूलो चोट लागेको नेपालले प्रस्तावमा उल्लेख गरेका छन्।

‘पार्टी अध्यक्ष र उहाँको सानो गुटले पार्टीलाई आफ्नो महत्वाकांक्षाको व्यवस्थापन गर्ने झुन्डमा परिणत गर्ने नत्र पार्टी नै विभाजन गर्ने दुस्साहस गरिरहेको छ। मैले बस्न नपाए कुर्सी नै भाँचिदिन्छु भन्ने अभिव्यक्तिले उहाँको विचारधारा, सिद्धान्त र राजनीतिलाई बताउँछ। ती महत्वाकांक्षाकै लागि उहाँ यो पार्टी विभाजन गर्ने सुनियोजित रूपमा अघि बढ्नुभएको छ’, नेपालले भनेका छन्।

नेपालले नेकपा एमालेको एकता बचाऔं र कम्युनिस्ट आन्दोलनको रक्षा गरौं भन्ने नारासहित आफ्नो अवधारणापत्र पेस गरेका हुन्। त्यसलाई १० समूह विभाजन गरी छलफलमा लगिएको छ। छलफलमा सहजीकरण गर्न प्रदेश १ मा भीमप्रसाद आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा युवराज ज्ञवाली, कर्णालीमा योगेश भट्टराई, सुदूरपश्चिममा भीम रावल, सम्पर्क कमिटीमा वेदुराम भुसाल, जनसंगठन तथा पेसागत संगठनमा रघुजी पन्त र केन्द्रीय निकाय तथा विभागमा अमृतकुमार बोहरालाई जिम्मेवारी तोकिएको छ। समूहमा उठेका सुझावलाई एकीकृत गरी बिहीबारको भेलामा प्रस्तुत गरिने भएको छ। त्यसकै आधारमा ३ महिनाका लागि कार्यभार बनाउने, त्यसलाई सभाले पारित गर्ने गरी भेला अगाडि जाने खनाल–नेपाल समूहका नेता गंगालाल तुलाधरले बताए।

ओलीले बोलाए दलको बैठक नेपाल पक्ष नजाने

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले एमाले संसदीय दलको बैठक बिहीबार बिहान ११ बजे बोलाएका छन्। केन्द्रीय सदस्य तथा सांसद विशाल भट्टराईले सूर्य चिह्नबाट निर्वाचन लडेका सबै सांसदलाई बैठकमा बोलाउने गरी दलको बैठक बोलाइएको बताए।

प्रधानमन्त्री ओलीले मंगलबार वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेला रोक्न भनेका थिए। भेला नरोकिए विधानअनुसार कारबाही गर्ने चेतावनी ओलीले दिएका थिए। ओलीले बालुवाटारमा आयोजना गरेको चियापानमा चेतावनीको भाषामा भनेका थिए, ‘भोलिको भेला गर्नुहुन्छ कि गर्नुहुन्न उहाँहरू र कति तमासा गर्नुहुन्छ। एक नजरचाहिँ त्यता राखेको छु। पार्टीलाई धम्क्याएर, घुक्र्याएर ठेगान लगाउँछु भन्ने सोच्या छ भने त्यस्तो होइन। पार्टी विधि विधान र तरिकाअनुसार चल्छ। नचाहिने कुराको अगाडि लत्रिने कुरा छैन। सत्यसँग नलड्ने निहुँ खोजुवाहरूसँग नझुक्ने। हाम्रो नीति त्यही हो।’

नेपाल पक्षले भने बैठक बोलाएको सूचना पाए पनि राष्ट्रिय कार्यकर्ता भेलामा रहेकाले जान नभ्याइने जनाएको छ। बुधबारको कार्यकर्ता भेलापछि आयोजित पत्रकार सम्मेलनमा सचिव योगेश भट्टराईले दलको बिहीबार बोलाइएको बैठकमा नजाने बताएका हुन्।

‘हामीलाई संसदीय दलको बैठकमा उपस्थित हुन आपत्ति छैन। हामीले आज संसदीय दलका नेता प्रधानमन्त्रीज्यूलाई कार्यव्यस्तताले हामी भोलिका लागि बोलाइएको संसदीय दलको बैठकमा उपस्थित हुन नसक्ने बताएका छौं’, सचिव भट्टराईले भने, ‘तपाईंहरूमार्फत पनि सार्वजनिक ढंगले यो जानकारी गराउन चाहन्छौँ। त्यसपछि हुने उपयुक्त बैठकमा हामी उपस्थित हुन्छौं।’

याे समाचारलाई अन्नपुर्ण पाेष्टले प्राथमिकताका साथ प्रकाशित गरेकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »