सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वरिष्ठ नेता नेपाल र भीम रावलालाई कार्बाही गरेपछि नेपाली राजनीतिक वृत्तमा हंगामा

काठमाडौँ । अध्यक्ष एंव प्रधानमन्त्री केपी ओली शर्माले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलालाई कारबाही गरेको घोषण गरेपछि राजनीतिक वृत्तमा हंगामा मच्चेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल र रावललाई बुधबार ६ महिने निलम्बनको घोषणा गरेका हुन् । ओलीले पार्टी विरोधी गतिविधि गरे थप कारबाहीको चेतावनी समेत दिएका छन् ।

संस्थापन पक्षको कारबाहीको घोषणालगत्तै नेपाल समूहले कडा आपत्ति जनाएको छ भने ओली समूहले कारबाहीलाई स्वाभाविक रहेको प्रतिक्रिया दिएको छ । यद्यपी प्रतिनिधिसभाको सबैभन्दा ठूलो पार्टीभित्र देखिएको विवाद विभाजनउन्मुख भएको पार्टीकै नेता कार्यकर्ताले टिप्पणी गरेका छन् ।

एमालेको नेपाल समूहका नेता योगेश भट्टराईले ओलीले वरिष्ठ नेता नेपाल र भीम रावललाई कारबाही गर्नु कमजोर सत्ताको अन्तिम अस्त्रका रुपमा टिप्पणी गरेका छन् ।

भट्टराईले सोमबार राति सामाजिक सञ्जाल ट्वीटरमा कारवाहीप्रति कटाक्ष गर्दै परिणाम उल्टो हुने निश्चित भएकोले कारबाहीबाट फर्कनु नै कल्याण हुने बताएका छन् । ‘कार्वाही र सजाय कमजोर सत्ताको अन्तिम अस्त्र हो । परिणाम उल्टो हुने निश्चित छ । फर्कनु नै कल्याण हुने छ ।’, भट्टराईले ट्वीट गर्दै भनेका छन् ।

यसैगरी नेता ठाकुर गैरेले पनि कारबाही गर्ने संस्थापन पक्षको निर्णयको विरोध गरेका छन् ।

उनले एकता संघर्ष र रुपान्तरणको बाटो छोडेर विभाजनको बाटो कोर्ने अभ्यास सुरु भएको टिप्पणी गरेका छन् ।

‘एकता संघर्ष र रुपान्तरणको बाटो छोडेर विभाजनको बाटो कोर्ने अभ्यास सुरु भएको छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेकपा एमालेको एकता कायम राख्न २०७५ जेठ २ गतेको बिन्दुबाट पार्टी संचालन हुनु पर्छ।’

उनले कारबाहीको बाटो नभइ समस्याको समाधान संवादमार्फत खोज्न पनि आग्रह गरेका छन् । यसैगरी नेत्री रामकुमारी झाँक्रीले कमजोरहरूको अन्तिम अस्त्र जोडले चिच्याउने वा गाली गर्ने भएको टिप्पणी गरेकी छन् । नेत्री झाँक्रीले भनेकी छन्, ‘कमजोरहरूको अन्तिम अस्त्र हो, जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने ।’ उनले पृथ्वी गोलो भएको कुरा हेक्का राख्न पनि ओलीलाई चेतावनी दिएकी छिन् ।

यस्तै एमालेकी युवा नेत्री उषाकिरण तिम्सेनाले प्रत्येक तानाशाहको अन्त्य दुखःद हुने टिप्पणी गर्दै भनेकी छिन्, ‘समय बलवान त हुन्छ नै ।’

नेपाल समूहले कारबाहीको चर्को विरोध गर्दै गर्दा ओली समूहका बलिया सारथी तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने पार्टी अनुशासनले सबैको हित गर्ने टिप्पणी गरेका छन् । ‘विगतमा स्थापित परम्परा र पार्टीको वैधानिक व्यवस्थालाई ख्याल गर्ने हो भने उद्वेलित हुनुपर्दैन । पार्टी अनुशासनले सबैको हित गर्छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

ओलीको कारबाहीको पासापछि एमाले स्पष्ट दुई धारमा विभाजित बनेको छ, भने वरिष्ठ नेता माधव कुमार नेपालले ओलीको निर्णयको कडा प्रतिवाद गर्ने प्रतिक्रिया दिइसकेका छन् ।

नेपालले ओलीका विरुद्धमा अब देशव्यापी अभियान चलाइने बताएका छन् । उनले देशैभरिका कार्यकर्ताहरूलाई मैदानमा उत्रन आह्वानसमेत गरेका छन् ।

नेपालले केपी शर्मा ओली एमालेको अध्यक्ष नरहेकाले उनमा कारवाही गर्ने कुनै अधिकार नरहेको बताए । ओलीले आफैं केन्द्रीय कमिटी भंग गरेको अवस्थामा यसरी कारवाही गर्न नमिल्ने उनले बताए ।

नेता नेपालले भने, ‘केपी ओली अहिले नेकपा एमालेको अध्यक्ष पनि होइन । उहाँ एमाले केन्द्रीय कमिटीको अध्यक्ष होइन । उहाँले एमालेको केन्द्रीय कमिटी भंग गरिसक्नुभयो । त्यसो हुनाले केन्द्रीय कमिटीको अध्यक्षका रुपमा काम गर्ने उहाँसँग केही पनि अधिकार छैन ।’

नेता नेपालले भने, ‘अब देशव्यापीरुपमा संगठन झनै सशक्त र प्रभावकारी भएर जान्छ । केपी ओलीको चुनौतीको सामना गरिन्छ । सबै कार्यकर्तालाई दृढताका साथ मैदानमा उत्रन म आह्वान गर्न चाहन्छु ।’

यस्तै नेता भीम रावलले आफूमाथिको कारबाहीलाई देशभक्तिपूर्ण आवाजबाट त्रसित वाह्य शक्तिप्रतिको तावेदारीको संज्ञा दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा एकपछि अर्को गरेको गलत कामको विरोध गर्दा कारबाही गरिएको रावलले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

चैत ८ मा संस्थापनले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ओलीले सोमबार नेपाल र रावललाई कारबाहीको घोषणा गरेका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »