सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुत्केरीलाई सेकाउन बालेको आगोले निसासिएर एक महिलाको मृत्यु, २ घाइते

भक्तपुर। सुत्केरीलाई सेकाउन बालेको आगोले निसासिएर सूर्यविनायक नगरपालिका–१० मिलनचोकस्थित एक घरमा काभ्रेकी एक महिलाको मृत्यु भएको छ भने दुईजना घाइते भएक छन् ।

मृत्यु हुनेमा काभ्रे जिल्लाको तेमाल गाँउपालिका–३, कुन्डाल घर भई हाल मिलनचोक डेरा गरी बस्दै आएकी २२ वर्षीया सुनिता तामाङ रहेकी छन् । सोही घट्नामा ४० वर्षीया शान्ति माया ब्लोन तामाङ र उनकी छोरी १८ वर्षिया अनिता घाइते भएका छन् । उनीहरुको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको तर राम्ररी बोल्न नसक्ने अवस्थामा रहेको अस्पतालले जनाएको छ ।

घटनाबारे घाइते भएकी शान्तिमायाका श्रीमान सोनाम तामाङले प्रहरीलाई जानकारी गराएका थिए । शान्तिमायालाई फोन गर्दा नउठाएपछि सलामले सोनामलाई फोन बुझ्न आग्रह गरेका थिए । सोनाम शान्तिमायाको कोठामा पुग्दा आमाछोरी तीनै जना बेहोस अवस्थामा फेला परेको थिए ।

घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक सागर कार्कीसहितको टोली पुगेको थियो । प्रहरी ढोका फोडी घाइतेहरुको उद्धार गरी मध्यपुर अस्पताल पठाएको थियो । उपचारको क्रममा सुनिताको मृत्यु भएको हो ।

कोठाको झ्याल र ढोकाभित्रबाट चुकुल लगाई बन्द गरिएको पाइएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रहरीका अनुसार बैशाख १९ गते अनिता सुत्केरी भएकी थिइन् । सुत्केरीलाई तातो सेकाउन मकलमा कोइला बालेको तर कोठाको झ्याल ढोका बन्द गरेकाले अक्सिजनको मात्रा अपुग भई तीनैजना बेहोश भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाएको छ । मृतकको रगतको नमुना र भिसेरा परीक्षणको लागी सुरक्षित राखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »