सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

देउवालाई विश्वासको मत दिएका नेपाल समुह सरकारमा सहभागी नहुने

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्त्वपूर्ण भूमिका खेलेको नेपाल पक्षले सरकारमा सहभागिता नजनाउने औपचारिक जानकारी समेत गठबन्धन दललाई दिएको छ ।

यससँगै अब नेपाल पक्ष विनाको सरकार गठन हुने भएको छ । यद्यपि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको नेपाल समूहलाई सरकारमा सहभागी गराउन गठबन्धनको कसरत जारी छ ।

प्रधानमन्त्री देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल पक्षलाई जसरी पनि सरकारमा सहभागी गराउन प्रयत्नरत छन् ।

एमाले स्थायी कमिटीका सदस्य एवं नेपाल निकटका नेता रघुजी पन्तले पार्टी एकताको प्रक्रियामा रहेकाले सरकारमा जान नसकिने स्पष्ट पारे । नेता नेपालले स्पष्ट रूपमा सरकारमा सहभागी नहुने बताइसकेको उनको भनाइ छ ।

‘हिजोको अवस्था बेग्लै थियो । संविधान र लोकतन्त्रको रक्षाका लागि हामी प्रतिनिधिसभा पुनस्र्थापना र सरकार निर्माणको अभियानमा थियौं, सरकारलाई विश्वासको मत पनि दियौं,’ पन्तले भने, ‘अब अवस्था हिजोकै जस्तो छैन । पार्टीलाई एकताबद्ध बनाउने गृहकार्य भइरहेकाले सरकारमा जान सकिँदैन ।’

साउन ३ गते प्रधानमन्त्री देउवालाई नेता नेपालसहित एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए । नेपाल पक्षका १४ र एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका ८ सांसदले देउवालाई विश्वासको मत दिएको थियो ।

देउवा र प्रचण्डले विश्वासको मत दिएको र प्रतिनिधिसभा पुनःस्थापनाका लागि सँगै आन्दोलनमा रहेकाले सरकार सञ्चालनमा समेत मिलेर अघि बढनुपर्ने भन्दै नेपाल पक्षलाई गठबन्धनबाट दबाब आइरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार देउवालाई भेटेर प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरे पनि नेपालले अस्वीकार गरेको एमाले स्रोतले जनाएको छ ।

तर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका ओली पक्षका सांसद भने सरकारमा सहभागिता जनाउन नेपाललाई दबाब दिइरहेको स्रोतको भनाइ छ । उनीहरूको चाहना सुनेपछि नेता नेपालले आफ्नै रिक्समा मन्त्री बन्न सुझाव दिएको स्रोतको दाबी छ ।

‘अहिले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा गृहकार्य भइरहेको छ । छलफल जारी नै रहेका बेला सरकारमा जानु उपयुक्त हँुदैन । यदि कसैलाई जानु छ भने गए हुन्छ,’ नेपालको भनाइ उदृत गर्दै एक नेताले भने ।

जनवर्गीय संगठन देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसद, स्थायी कमिटीका सदस्य लगायतसँग निरन्तर छलफल गरेका नेपालले सरकारमा सहभागी हुन नसकिने प्रस्ट सन्देश दिएका छन् ।

एमाले नेता विश्वनाथ प्याकुरेलले सरकारमा सहभागी हुन साथीहरूको सुझाव आए पनि नेता नेपालले त्यसलाई अस्वीकार गर्दै आएको बताए । केही साथीहरू जसरी पनि सरकारमा सहभागी हुनुपर्ने इच्छा व्यक्त गरिरहेको उनले बताए ।

एमाले स्थायी कमिटीका सदस्य डा. वेदुराम भुसालले सरकारमा सहभागी हुन विश्वासको मत नदिएको बताए । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरेको बताउँदै उनले पार्टी एकताको बारेमा छलफल भइरहेकाले सहभागी हुन नसकिने बताए ।

आफूहरूले छुट्टै पार्टी गठन गरिनसकेको र पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल जारी रहेकाले सरकारमा नजाने नेता नेपालले बताएको उनले सुनाए ।

तर एमाले स्रोतका अनुसार देउवाले नेपाल समूहलाई ६ देखि ८ वटा मन्त्रालय लिएर भए पनि सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् ।

यसैबीच, वरिष्ठ नेता नेपाल र स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङबीच बिहीवार भेटघाट भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फका विगठित कार्यदलका संयोजक एवं संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङ र नेता नेपालबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ ।

एमाले स्रोतका अनुसार पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा २ नेताबीच छलफल भएको छ । नेम्वाङ र एमाले उपमहासचिव विष्णु पौडेल दुवै जना नेता नेपाललाई भेटेर पार्टी एकताबारे छलफल गर्ने कार्यक्रम भए पनि पौडेल छलफलमा सहभागी भएनन् ।

भर्खरै

सम्बन्धित खबर

Language »