सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जुल्लामा एमालेलाई धक्का,मनोनित सदस्य बाहेक सबै एकीकृत समाजवादीमा

काठमाडौँ । नेकपा एमालेलाई जुम्लामा ठूलो धक्का लागेको छ । नेकपा (एकीकृत समाजवादी) ले सिंगो जिल्लामा क्लिनस्विप नै मारेपछि जुम्ला एमाले नीलमा झरेको हो । एमाले जुम्लाको कुल ६१ जना जिल्ला समिति सदस्यमा दुई जना मनोनित सदस्यबाहेक सबै एकीकृत समाजवादीमा लागेका छन् ।

दुई जना मनोनित सदस्य मात्र नेकपा एमालेमा लागेका हुन्। नेकपा (एकीकृत समाजवादी) जुम्लाले पत्रकार सम्मेलनको आयोजना गरेर सिंगो जिल्ला समिति नै समाजवादी पार्टीमा रहेको जनाएको हो। एमालेतिर हाल मेनका पछाइ, लाल भट्टराई उभिएका छन्। धिर बोहोरा मनोनित सदस्य भएकोमा पार्टीले निस्काशन गरिसकेको थियो।

यो संगै युवासंघ नेपाल,अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, प्रध्यापक संघ, शिक्षक संगठन, निजामति कर्मचारी संगठन र त्रिवि माताहतका सबै संगठन समाजवादी तिरै रहेको जनाएको हो।

जिल्ला अध्यक्ष तीर्थबहादुर बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदीप्रसाद न्यौपाने र उपसचिव राजबहादुर शाहीले संयुक्त विज्ञप्ति निकालेर सिंगो नकेपा एमालेको जिल्ला समिति समाजवादी पार्टीमा आइसकेको बताए। सचिव न्यौपानेका अनुसार जुम्ला प्रदेश क्षेत्र ख का सांसद पदमबहादुर रोकाया लगायत ७० प्रतिशत जनप्रतिनिधि समाजवादीमा लागेको बताए।

उनले भने,‘जसमध्ये चन्दननाथ नगरपालिकामा एमालेबाट जीतेका सबै जनप्रतिनिधिले समाजवादीमा सखनात गरिसकेका छन्। केही उपाध्यक्ष र वडाध्यक्षहरु पनि समाजवादीमा सनाखत गर्ने प्रक्रियामा छन्।’

केन्द्रदेखि जिल्लासम्म केपी शर्मा ओली गुटमा बा प्रबृति हावी भएको, गुटगत क्रियाकलापले सिंगो कार्यकर्ता जगतलाई आक्रान्त पारेकोले विकल्पको रुपमा समाजवादी पार्टीको विजारोपण भएको उनले बताए। सांसद रोकायाले भने,‘यो पार्टी कुर्चीका लागि होइन। यो पार्टी हरेक अनैतिकताको विरुद्ध लड्ने जुझारु पार्टी बन्नेछ।’

जुम्लामा एकीकृत समाजवादी नै संस्थापक भएको बताउँदै उनले ओली निकटको नेकपा एमाले विद्रोही पार्टीको रुपमा रहेको बताए।’अहिले संकटमा छौँ। पहिले एमाले पार्टीको विकास, विस्तार गर्ने पनि नै हौँ। अहिले अर्को पार्टी गठन गर्नु परेको छ। यो केपीको अहंकारका कारणले हो। तर यो पार्टीलाई पनि जिल्लाको एक नम्बर पार्टी बनाएर छाड्ने छौँ।’

उनले आफूले २०७० र २०७४ सालको चुनावमा माधवकुमार नेपालको प्यानलबाट चुनाव लडेको बताए। पहिले माओवादी केन्द्रसंग पार्टी एकता गर्नु केपी ओलीको ठूलो भुल थियो। एकता भइसकेपछि प्रधानमन्त्री र पार्टी संञ्चालनमा भएका समझदारी कार्यान्वयन इमान्दारीताका साथ कार्यान्वयन गर्नु पर्ने थियो। त्यो केपी ओलीले उल्लंघन गरे। हरेक बाँडफाँडमा विभेद गर्न थाले। माधव नेपाल निकटलाई पेल्न थाले। विधि, पद्धति र प्रक्रिया मिच्न थाले। यो एकीकृत समाजवादी त्यसैको उपज हो,’ उनले भने।

‘भाइ धेरै भएको घरमा भाइफुट्नु स्वभाविक हो। तर मेहनती भाइले फड्को मार्ने हो। एकीकृत समाजवादी महेनती भाइको रुपमा जन्मिएको छ। यसले छाटो समयमै प्रगति गर्ने छ। एक वर्षभित्र एमालेभन्दा ठूलो पार्टी बनाउने हैसियत राख्नेमा दुईमत छैन’, सांसद रोकायाले भने,‘एमालेमा नेतै नेता छन्। एकआपसमा जुध्दै पार्टी ध्वस्त पार्छन्। हाम्रोमा पदभन्दा पार्टी, विचार र सिद्धान्तलाई प्रमुख मान्ने ब्यक्तिको जमात छ। त्यही भएर एकीकृत समाजवादी जुम्लामा फड्को मार्छ।’

उनले मन्त्रीको प्रलोभनमा सांसदहरु समाजवादीमा प्रवेश गर्न इच्छा जाहेर गरेको बताउँदै निस्वार्थ रुपमा आउन अपिल गरे। सांसद रोकायाले जुम्लामा आगामी चुनावमा एमालेले एक वडा पनि नजित्ने दाबी गरे। तर पहिलेको एमालेको वर्चश्व भएको वडामा समाजवादीले जित्ने दाबी गरे।

उनले कर्णालीका १० जिल्लामा ८ वटा जिल्ला नेकपा एकीकृत सामाजवादीले कब्जा गर्ने बताए। तत्कालीन नेकपा एमालेका सचिव तथा हालका नेकपा ९एकीकृत समाजवादी०का नेता आदीप्रसाद न्यौपानेले जुम्लामा ७५ प्रतिशत समाजवादीकै बाहुल्यता रहेको बताए। उनले थपे,‘ एमाले २५ प्रतिशत होला तर अव यो पनि घट्दैछ।’

उनले आगामी चुनावमा माओवादी सग तालमेल गरेर भएपनि चुनाव जित्ने बताए। नेता न्यौपानेले भने,‘नेकपा एकीकृत समाजवादी विधिमा चल्ने पार्टी हुन्छ। एक वर्षभित्र पार्टीको आफ्नै भवन हुनेछ। एमालेभन्दा ठूलो पार्टी बन्नेछ। त्यसैले एमाले तिर भएका साथीहरुलाई आह्वान गर्छौँ। तपाइहरु एकीकृत समाजवादीमा आउनुहोस। नत्र पछि पछुताउनु पर्ला।’

उनले सुर्य चिन्हले कुनै फरक नपार्ने बताए। पार्टीको विचार, सिद्धान्त र व्यवहारले फरक पार्ने हो।उनले भने,‘सुर्य चिन्ह निर्जिव वस्तु हो। मुख्य कुरा विचार सिद्धान्त नै हो। जनताप्रतिको लगाव हो। ’केपी ओली संघीयता विरोधी र गणतन्त्र विरोधी भएकोले एमाले कुनै पनि हालतमा फल्टाउन नसक्ने दावी एकीकृत समाजवादी पार्टीको छ।

सांसद रोकायाले पटक पटक छलफल, बहस, समिक्षा र आपसी समझदारी र सल्लाह बमोजिम अघि बढ्ने भएकोले एकीकृत समाजवादी जनताको रोजाइको पाटी बन्नेमा ठोकुवा गरे।

एकीकृत समाजवादीका नेता नन्दराम रोकायाले ठीक समयमा ठीक निर्णय गरेको बताए। उनले भने,‘सुर्य चिन्हले खासै प्रभाव नपार्ने भएकोले प्रभावित नहुन कार्यकर्तालाई आग्रह गर्दछौँ। सुर्य चिन्ह एक निर्जिव वस्तु हो। हामी नयाँ तरिकाले अघि बढौँ। चिन्ह प्रमुख होइन। केही प्रभावशाली नेताका कारणसुर्य चिन्ह ब्राण्ड बनेको थियो। अब केपी बा ले सुर्य चिन्हको अस्तित्व संकटमा परिरहेको छ।’

उनले भने,’पहिले एमाले बनाउने पनि हामी नै हो। अहिले समाजवादी पनि हामीले नै बनाउँछौँ। कार्यकर्तालाई बिचलित नहुँन निर्देशन गर्दछु। सुशासन, अनियमितता, अपारदर्शीताकाविरुद्ध यो पार्टीले अभियान थाल्नेमा जोड दिए।’

भर्खरै

सम्बन्धित खबर

Language »