सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साफ च्याम्पियनसिपमा भारत र साविक विजेता माल्दिभ्स दबाबमा

काठमाडौं । साफ च्याम्पियनसिपमा आज साविक विजेता माल्दिभ्सले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । त्यस्तै प्रतियोगितामा सबभन्दा सफल टोली भारतले श्रीलंकाविरुद्ध खेल्दैछ । माल्दिभ्स र भारत दुबैले यसअघि एक/एक खेलेका छन् । आयोजक माल्दिभ्स नेपालसँग १–० ले पराजित भएको थियो भने भारत दश खेलाडीमा सीमित बंगलादेशसँग १–१ को बराबरीमा रोकिएको थियो ।

यस संस्करणमा पाँच टोलीले मात्र सहभागिता जनाएका छन् । त्यसकारण राउण्ड रोबिन प्रणालीमा खेलाइएको प्रतियोगितामा लिग चरणको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । त्यसकारण पनि पहिलो खेलमा अपेक्षाकृत नतिजा हात नपारेपछि माल्दिभ्स र भारत दबाबमा छन् । अहिलेसम्म अंक तालिकामा नेपाल ६ अंकका साथ शीर्ष स्थानमा छ । बंगलादेश चार अंकका साथ दोस्रो स्थानमा छ । भारतले एक अंक जोडेको छ भने माल्दिभ्स र श्रीलंका अंकबिहीन छन् ।

बंगलादेशले आयोजनाबाट हात उठाएपछि साफ च्याम्पियनसिप आयोजना गर्न नेपाल र माल्दिभ्सले आयोजनाको दाबी गरेको थिए । नेपाल घरेलु मैदानमा पहिलो पटक प्रतियोगिताको उपाधि उचाल्न चाहन्थ्यो । माल्दिभ्स घरेलु मैदानमा उपाधि रक्षा गर्ने लक्ष्यमा थियो । र, माल्दिभ्सले नेपाललाई पछि पार्दै प्रतियोगिता आयोजना गर्न सफल भयो । तर, उपाधि रक्षा गर्ने यात्रामा माल्दिभ्सको अभियानलाई नेपालले ठूलो धक्का दिएको छ । मनिष डाँगीको दर्शनीय गोलमा नेपालले माल्दिभ्सलाई १–० ले हराएको थियो । अब फाइनलमा स्थान बनाउन माल्दिभ्सलाई बाँकी खेल जित्नै पर्ने दबाब छ । दश खेलाडीमा सीमित भए पनि भारतलाई १–१ को बराबरीमा रोकेपछि बंगलादेशको मनोबल उच्च भएको छ । त्यसैले बंगलदेशका प्रशिक्षक ओस्कार ब्रुजोनले आफ्नो टोली बहादुर भएको बताएका छन् । उनले भनेका छन्, ‘‘हामी बहादुर टिम हौं । हरेक कठिन परिस्थितिले हामीलाई अझ बलियो बन्ने मौका दिएको छ । अगामी दिनमा पनि यो प्रदर्शनलाई निरन्तरता दिनेछौं ।’’

नेपालविरुद्ध माल्दिभ्सले राम्रो खेले पनि गोलको अवसरलाई सदुपयोगन गर्न नसक्दा अंक गुमाएको थियो । माल्दिभ्सका प्रशिक्षक अली सुजैनले विगतका प्रदर्शनलाई गम्भिर रुपमा समीक्षा गरेको र आगमी खेलमा सुधारिएको प्रदर्शन गर्ने दाबी गरेका छन् । त्यसैले पनि बंगालदेश र माल्दिभ्सको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ । दुई पटकको विजेता माल्दिभ्सका प्रशिक्षक सुजैनले पनि त्यही दाबी गरेका छन् । उनी भन्छन्, ‘‘अघिल्लो खेलमा राम्रो खेले पनि नतिजा हाम्रो पक्षमा आएन । बंगलादेशले पनि पछिल्लो दुई खेलमा राम्रो फुटबल खेलेको छ । त्यसैले हाम्रो खेलमा कडा प्रतिस्पर्धा हुनेछ ।’’

भारतले प्रतियोगितामा सात पटक उपाधि जितेको छ । श्रीलंकाले एक पटकमात्र उपाधि जित्न सकेको छ । पहिलो खेलमा १–१ को बराबरीमा रोकेपछि भारत झस्किएको छ । पछिल्लो समय फुटबलमा ठूलो लगानी गरेको भारतलाई साफको उपाधि प्रतिष्ठाको लडाईं पनि हो । भारतका प्रशिक्षक इगोर स्टिमाचले यसअघि आफूहरुको ध्यान एसियन कपमा केन्द्रित भएको र त्यसका लागि साफ तयारी खेल हुने बताएका थिए ।

तर, पहिलो खेलमै बराबरीमा रोकिएपछि भारतका प्रशिक्षक स्टिमाचमाथि पनि दबाब परेको छ । भारतीय समर्थकले उनको राजीनामा माग्न सुरु गरिसकेका छन् । त्यसले उनी आज कुनै पनि हालतमा नतिजा आफ्नो पक्षमा पार्न चाहन्छन् । बिहीबार सम्पन्न पत्रकार सम्मलेनमा उनले भनेका छन्, ‘‘श्रीलंकाको हामी सम्मान गर्छौं । उनीहरु राम्रो टिम हो । हामी उनीहरुलाई हराउन सक्ने जति सबै गर्नेछौं ।’’

पछिल्लो पाँच खेलमा भारतले तीनमा बराबरी र दुई खेल जितेको छ । श्रीलंकाले भने पछिल्लो पाँच खेलमा एउटै खेल जित्न सकेको छैन । आन्तरिक विवादमा फसेको श्रीलंका पछिल्लो समय पुरानै लयमा फर्किने प्रयासमा छ । ‘‘श्रीलंका यो वर्ष सिकाइको चरणमा छ । सिकाई प्रक्रिया एउटा विन्दुमा अन्त्य हुन्छ । त्यसैले भारतविरुद्धको खेल प्रतिस्पर्धात्मक हुनेछ । यो खेल हाम्रो लागि नतिजाका लागि भन्दा पनि आफैलाई परीक्षण गर्नका लागि हुनेछ,’’ श्रीलंकाका प्रशिक्षक आमिर एलगिचले भने ।

भर्खरै

अघिल्लो लेखमा
अर्को लेखमा

सम्बन्धित खबर

Language »