सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

स्वर्गीय दिपेन्द्र दोङकाे सम्झनामा पत्रकारिता प्रतिभा पुरस्कार दिने घाेषणा

काठमाडौं । वरिष्ठ पत्रकार स्वर्गीय दिपेन्द्र विक्रम दोङले तामाङ पत्रकारिता र नेपाली पत्रकारितामा दिएको योगदानलाई जिवन्त सम्झना गराई राख्नका लागि नेपाल तामाङ पत्रकार संघको स्थानपना दिवसको दिन “दिपेन्द्र दोङ पत्रकारिता प्रतिभा पुरस्कार” दिने घोषणा गरेको छ ।

चैत्र ११ गते ब्रेन ब्रस्ट भएर मृत्यु भएको स्वर्गीय दिपेन्द्र विक्रम दोङ नेपाल तामाङ पत्रकार संघको सस्थापक सचिव थियो ।

नेपाल तामाङ पत्रकार संघले तामाङ घेदुङको संघीय कार्यालय चुच्चेपाटीमा आयोजना गरेको श्रद्धाञ्जली सभामा स्व. दिपेन्द्र दोङलाई सम्झदै अग्रज व्यक्तिहरुले बहुआयामिक व्यक्ति भएको वक्ताहरुले स्मरण गर्नुभएको छ ।

नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले स्व. दिपेन्द्र दोङको योगदानलाई बचाइराख्न सहयोग गर्ने बताउनुभयो । ४३ वर्षको उमेरमा निधन भएका दोङ छोटो समयमा साहित्य, चलचित्र लेखन तथा निर्देशन, गीत लेखन र नेपाली पत्रकारिता क्षेत्रमा निकै सक्रिय रहेको तामाङ पत्रकार संघका संस्थापक अध्यक्ष तथा संरक्षक रवीन्द्र तामाङले बताउनुभयो ।

नेपाल तामाङ घेदुङका उप–महासचिव तथा पत्रकार संघका पूर्वअध्यक्ष जगत दोङले स्व. दिपेन्द्र दोङसँग आफ्नो समुदायको कुरा पत्रकारिताबाट उठाउन सकिने कुरा सिकेको बताउनुभयो । उपमहासचिव दोङले स्व. दिपेन्द्र दोङसँग २१ वर्षको कलिलो उमेरमा पनि चलचित्र निर्देशन गर्न सक्ने आँट र क्षमतावान व्यक्ति भएको बताउँदै विभिन्न क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदानलाई बिर्सन नहुने बताउनुभयो ।

तामाङ पत्रकार संघका संघीय संरक्षक प्रतिक तामाङले स्व. दोङले छोटो समयमा समाजमा धेरै योगदान दिनुभएको र उहाँ जस्तो प्रतिभावान व्यक्ति देशले कमैमात्र पाइने धारणा राख्नुभयो ।

स्व. दिपेन्द्रका दाइ सूर्य दोङले भाइलाई डाक्टर बनाउने चाहना परिवारको हुँदाहुँदै पनि सानै उमेरदेखि साहित्यमा कलम चलाउने र रुचि राख्ने भएकोले उहाँको इच्छा चलचित्र, गीत लेखन अनि पत्रकारितामा भएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार स्व. दोङ सानैदेखि अध्ययनमा अब्बल र १५ वर्षको उमेरमा नै एकाङ्की नाटक “शंका” पहिलो पटक लेखेको बताउनु भयो । साथै उहाँले स्व दिपेन्द्र दोङ बिरामी हुँदादेखि अहिलेसम्मको अवस्थासम्म प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गर्ने संघसंस्था र व्यक्तिलाई परिवारको तर्फबाट आभार प्रकट गर्दै धन्यवाद दिनुभया।

स्व. दिपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार स्थापना गरिने तामाङ पत्रकार संघले (स्व. दिपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार) स्थापना गरिने जनाएको छ । एक लाखको अक्षयकोष स्थापना गरी प्रत्येक वर्ष पत्रकारिता क्षेत्रमा निरन्तर लागिरहने बहुआयामिक व्यक्तिलाई पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

श्रद्धाञ्जली सभामा लोक सम्राट चन्द्रकुमार मोक्तान, वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार दोङ, वरिष्ठ पत्रकार टंक पन्त, संघका सल्लाहकार रमिता बल तामाङ, संघको संघीय समितिको तर्फबाट निवर्तमान अध्यक्ष विष्णु तामाङ, तामाङ कलाकार संघका उपाध्यक्ष विशाल काल्तानलगायत व्यक्तित्वले स्व दोङको बारेमा भनाइ राख्नुभएको थियो ।

तामाङ पत्रकार संघका अध्यक्ष सुवास योन्जनको अध्यक्षतामा भएको श्रद्धाञ्जलीसभा महासचिव तीर्थ बलले संचालन गर्नुभएको थियो । सभामा पत्रकार, कलाकारलगायत विभिन्न क्षेत्रका व्यक्तिहरुले स्व। दोङप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । वि।स २०३६ चैत १९ गते जन्मनुभएका दोङको ब्रेन ह्यामरेजका कारण २०७९ चैत ११ गते निधन भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »