सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सञ्चारकर्मी शर्मिला विश्वकर्मा सम्मानित

काठमाडौँ । ४४ औ सामाजिक सेवा दिवसको अवसरमा बाल सचेतना केन्द्र नेपालले आफ्नो १२ औ वार्षिक साधारण सभाको कार्यक्रमको आयोजना गरी विगत १४ वर्ष देखि निरन्तर रूपमा पत्रकारिताको माध्यमबाट विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको सवाल तथा आवाजलाई उठाउँदै आएकी सञ्चारकर्मी शर्मिला विश्वकर्मा सहित ज्येष्ठ नागरिक, समाज सेवी तथा अपाङ्गता भएका बालबालिकाहरूलाई सम्मान गरिएको छ ।

यही असोज ६ गते काठमाडौँमा आयोजित बाल सचेतना केन्द्र नेपालको वार्षिक साधारण सभामा गरिएको ज्येष्ठ नागरिक एवं विशिष्ट व्यक्तित्व सम्मान कार्यक्रममा दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो सगरमाथा FM १०२. ४ मेघा हर्जमा प्रसारण हुने साप्ताहिक ” अपाङ्गताका सवाल ” कार्यक्रमका उत्पादक तथा प्रस्तोता शर्मिला विश्वकर्मा, विगत ३० वर्ष देखि हाल सम्म अपाङ्गता अधिकारका लागि सक्रिय अपाङ्गता अभियन्ता, समाज सेवी, साहित्यकार, बौद्धिक अपाङ्गताकी अभिभावक एवं ८२ वर्षीय ज्येष्ठ नागरिक सुवर्ण केशरी चित्रकार, वरिष्ठ कलाकार तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपालका पूर्व अध्यक्ष मदनदास श्रेष्ठ लगायतका व्यक्तिहरूलाई दोसल्ला ओढाएर सम्मान पत्र हस्तान्तरण गरी सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी सहित उक्त नगरपालिकाका वडा नं १२ का वडा अध्यक्ष शम्भु भट्टराई, गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, वरिष्ठ कलाकार तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ नेपालका पूर्व अध्यक्ष मदनदास श्रेष्ठ सहितका समाजसेवीहरू, विशिष्ट व्यक्तिहरूको उपस्थितिमा ७५ वर्ष भन्दा माथिका १९ जना ज्येष्ठ नागरिकहरू, ५ जना शारीरिक अपाङ्गता भएका बालबालिकाहरू र केही समाज सेवी तथा सञ्चारकर्मीलाई सम्मान पत्रका साथ मायाको चिनो प्रदान गरी सम्मान गरिएको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि एवं बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले समाजका लागि महत्त्वपूर्ण योगदान पुर्यानउनु हुने सञ्चारकर्मी, समाज सेवी तथा ज्येष्ठ नागरिकहरूलाई उत्साह प्रदान गर्न र उहाँहरूको योगदानको कदर गर्न यस्ता कार्यक्रमहरू गर्नु पर्ने बताउँदै सधैँ ज्येष्ठ नागरिक तथा बालबालिकाहरूको सम्मान गर्नु पर्ने कुरामा जोड दिँदै सम्मानित हुने सम्पूर्णलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

त्यसै गरी बाल सचेतना केन्द्र नेपालका अध्यक्ष बाबुराम फुयाँलले यो संस्थाले विगत १२ वर्ष देखि बालबालिकाहरू, यसमा पनि विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरू, ज्येष्ठ नागरिक, कठिन अवस्थामा रहेका व्यक्तिहरूको लागि सक्दो सहयोग गर्दै आएको र आगामी दिनमा पनि यो सामाजिक कार्यलाई निरन्तरता दिने बताउँदै सम्मानित हुनु हुने सम्पूर्णलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »