सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज औद्योगिक महोत्सव माघ २६ देखि गर्ने


नेपालगन्ज, नेपालगन्ज उद्योग वाणिज्य सङ्घले आगामी २६ माघदेखि नेपालगन्जमा १२ दिने औद्योगिक महोत्सव आयोजना गर्ने भएको छ । सङ्घका अध्यक्ष टङ्क धामीको अध्यक्षतामा सम्पन्न भएको बैठकले आगामी माघ २६ देखि फागुन ८ गतेसम्म नेपालगन्ज महोत्सव –२०८० आयोजना गर्ने निर्णय गरेको हो ।
नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष धामीले कोरोनाकाल यता नेपालगन्जमा सङ्घले महोत्सव गर्न नसकेको जनाउँदै यस वर्ष भव्य महोत्सवको आयोजना गर्ने योजना रहेको बताउनुभयो ।


उहाँले आर्थिक मन्दिरको यो समयमा महोत्सवले बाँकेको आर्थिक गतिविधिलाई चलायमान बनाउन ठुलो सहयोग गर्ने आशा रहेको जनाउँदै नयाँ तरिकाले यस पटक महोत्सवको आयोजना गरिने बताउनुभयो ।
महोत्सवमा बाँके र बर्दियालगायत यस क्षेत्रको आर्थिक विकासका सम्भावना र स्रोतको बारेमा पनि गम्भीरतापूर्वक विचार विमर्श गरेर निष्कर्षमा पुगिने सङ्घले जनाएको छ ।
सोही प्रकारले सङ्घको बैठकले नेपाल सरकारबाट नेपालगन्जस्थित सडक विभागको भोगाधिकार प्राप्त १० बिघा जग्गा पुनः प्राप्तिका लागि प्रक्रिया सुरु गर्ने निर्णय पनि गरेको छ ।
व्यावसायिक केन्द्र निर्माणका लागि सरकारबाट लिजमा पाएको सो जग्गाको भोगचलन सम्बन्धमा विगतको सङ्घको कार्यसमितिले ध्यान नदिँदा सरकारले जग्गा फिर्ता लिएको थियो ।
यसैगरी सोही बैठकले सङ्घको नयाँ सदस्यताका लागि हालसम्म लिँदैआएको प्रवेश तथा वार्षिक सदस्यता शुल्क व्यापक रूपमा घटाउने निर्णय गरेको सङ्घका महासचिव भीमबहादुर रानाभाटले बताउनुभयो ।
उहाँले सदस्यतामा धेरैभन्दा धेरै उद्योगी व्यवसायीको पहुँच वृद्धि गर्न प्रवेश शुल्कमा ७९ प्रतिशतसम्म घटाएर समायोजन गरिएको बताउनुभयो । स्थानीय उद्योगी व्यवसायीद्वारा सदस्यता र प्रवेश शुल्क महँगो भएको भन्ने गुनासो आएकाले सो गुनासोलाई सम्बोधन गर्न शुल्क घटाइएको सङ्घले जनाएको छ ।(गोरखापत्र अनलाइन)

भर्खरै

सम्बन्धित खबर

Language »