सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आर्मीले पहिलो पटक जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

काठमाडौं। ५ पटकको विजेता थ्रीस्टार क्लबलाई पराजित गर्दै विभागीय टिम त्रिभुवन आर्मी क्लबले २३ औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको छ । आर्मीले थ्रीस्टारलाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो ।

आर्मीको जितका लागि जिलेप्सीजंग कार्की, फत्तेमान घले र वसन्त जिम्बाले समान १र१ गोल गरे । खेलको ३८ औं मिनेटमा आर्मीका जिलेप्सीजंगले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

थ्रीस्टारका जीवन गुरुङले पेनाल्टी बक्सभित्र पुगेको बल क्लियर गर्ने क्रममा बाहिरिएसँगै मुख्य रेफ्री प्रज्वल क्षेत्रीले आर्मीलाई कर्नरको संकेत गरे । उक्त कर्नर सिद्धान्त चौधरीले प्रहार गर्दै अनमार्क रहेका कप्तान जिलेप्सीजंग कार्कीलाई दिए । जिलेप्सीले हेड गर्दै बललाई जाली चुमाए, जसलाई विपक्षी गोलरक्षक अभिषेक बरालले रोक्ने कुनै अवसर पाएनन् ।

खेलको ८३ औं मिनेटमा आर्मीका फत्तेमान घलेले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।

आर्मी त्यतिमै रोकिएन । खेलको ९४ औं मिनेटमा वसन्त जिम्बाले पुनः अर्को गोल गर्दै टिमको जित सुनिश्चित पारे । उनले इन्जुरी टाइमको अन्तिम समयमा गोलरक्षक अभिषेक बराललाई क्रस गर्दै बललाई गोलमा परिणत गरे ।

आहा रारा गोल्ड कपमा आर्मी र थ्रीस्टारबीच यसअघि २०७५ सालको फाइनलमा भेट भएको थियो । आहारारामा यसअघि अन्तिमपटक दुवै टिम २०७५ सालमा सँगै भिडेका थिए ।

उक्त खेलमा आर्मीलाई ट्राइब्रकेरमा ५–४ ले स्तब्ध पार्दै थ्रीस्टारले उपाधि चुमेको थियो । त्यतिबेला निर्धारित खेल २–२ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

यसअघि ४ पटक फाइनलमा पुगेर पनि त्रिभुवन आर्मी उपाधिविहीन थियो भने थ्रीस्टारले ६ पटक सहभागी हुँदा ५ पटक उपाधि जितिसकेको छ । आर्मीले आफ्नो हारको श्रृंखला अन्त्य गर्दै १५ औं सहभागितामा पहिलो पटक उपाधि जितेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »