सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुन तस्करी काण्डमा प्रहरीलाई कारबाही गर्न गठित समितिले अझै शुरू गरेन काम

काठमाडौं । सुन काण्ड अनुसन्धानमा लापरबाही गरेको आरोपमा कारबाही सिफारिस भएका प्रहरीलाई कारबाही गर्न गठित समितिले काम शुरू गर्न ढिलाइ गरेको छ। गठन भएको पाँच दिन बितिसक्दा पनि समितिले काम शुरू नगरेको पाइएको हो।

सुनको अवैध पैठारीसम्बन्धी जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले गत १ चैतमा प्रतिवेदन बुझाएको थियो।

सो प्रतिवेदनमा अनुसन्धानमा केही आरोपीलाई मिलेमतोमा जोगाउन खोजेको भन्दै कारबाही सिफारिस गरिएको थियो । तर, कुन किसिमको कारबाही गर्ने भन्ने प्रतिवेदनमा नभएकाले अध्ययन गर्न मन्त्रालयको कानुन महाशाखाका प्रमुख भरतमणि रिजालको संयोजकत्वमा समिति गठन गरिएको गृह मन्त्रालयले जनाएको छ।

समितिको सदस्यमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल र गृह मन्त्रालयको प्रहरी प्रशासन शाखाका उपसचिव रामबहादुर शाही रहनुभएको छ।

समिति गठन गरेको थाहा पाएको तर काम थालिनसकेको जिकिर गर्दै समितिका संयोजक रिजालले भन्नुभयो– ‘समितिको पहिलो बैठक पनि बसेको छैन । बैठक बसेर यसको कार्यक्षेत्र, गर्नुपर्ने काम निक्यौल गरी कार्यविधि तय गर्न बाँकी नै छ।’

गत साउन २ मा राजस्व विभागले बरामद गरेको ब्रेक सुमा लुकाइएको ६० किलोभन्दा बढीको सुन र विद्युतीय चुरोट (भेप) मार्फत् भएको ९ किलो सुन तस्करी प्रकरण अनुसन्धानका लागि सरकारले उक्त आयोग गठन गरेको थियो।

आयोगले त्यसको छानबिन गरी बुझाएको प्रतिवेदनमा अनुसन्धानमा प्रहरी अधिकारीले लापरबाही उल्लेख गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य, प्रहरी उपरीक्षक सञ्जयसिंह थापा तथा प्रहरी नायब उपरीक्षकद्वय रुगम कुँवर र दुर्गा दाहालमाथि कारबाही सिफारिस गरेको थियो।

उहाँहरूमाथि कस्तो कारबाही गर्ने भन्ने अन्योल भएपछि नया“ समिति गठन गरिएको हो । यो समितिले प्रतिवेदन अध्ययन गरेर विभागीय कारबाहीका लागि सिफारिस गर्ने जानकारी दिँदै मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘आयोगले दिएको प्रतिवेदन अध्ययन गर्न र कसको के गल्ती छ ? कुन ठाउ“मा कसले कसरी गल्ती गरेको छ ? गल्ती भए के कारबाही गर्ने भनेर सिफारिस गर्न समिति बनेको छ।’

तस्करी समूहका नाइके दावा छिरिङसँग तस्करीको सुन कारोबारबारे बारम्बार कुरा गरेका जीवन चलाउनेलाई शुरूमा उपस्थित गराएर बयान कागज गराइएको थियो।

पछि फरार बनाइएको विषयमा प्रहरीको भूमिकामाथि आयोगले प्रमुख रूपमा प्रश्न उठाएको हो । उनलाई जोगाउने नियत राखेको र पछि माथिल्लो निकायको दबाबमा प्रतिवादी बनाएको भन्ने आयोगको छानबिन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसै गरी सुन तस्करीको पैसा शुद्धीकरण हुने ठमेलको वाल्डो क्यासिनो तथा दावासँग निकट सम्पर्कमा रहेका अन्य केही व्यक्तिमाथि समेत विस्तृत अनुसन्धान नगरेको विषयमा आयोगले प्रश्न उठाएको छ।

यस विषयमा समितिले जाँचबुझ आयोगले दिएको प्रतिवेदनको अध्ययन गर्ने छ। त्यसपछि कुनकुन सन्दर्भमा बदनियत देखिएको भनेर हेर्ने र प्रहरी नियमावली र निजामती कर्मचारी भए त्यसको विभागीय कारबाही गर्न सिफारिस गर्ने गृह मन्त्रालयका एक सहसचिवले बताए।

प्रतिवेदनमा विभागीय कारबाहीका लागि सिफारिस गरिएका चारै जनालाई सीआईबीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा सरुवा गरिसकेको छ । तर, के कारबाही हुने भन्ने अब समितिले गरेको सिफारिसबाट निर्धारण हुने ती सहसचिवले बताए।

भर्खरै

सम्बन्धित खबर

Language »