सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्जमा सुनिता चिडिमारको अध्यक्षतामा राष्ट्रियस्तरको सञ्जाल गठन

नेपालगन्ज, चिडिमार समुदायका महिलाको हकहित तथा उत्थानको उद्देश्यसहित नेपालगन्जमा सुनिता चिडिमारको अध्यक्षतामा राष्ट्रियस्तरको सञ्जाल गठन गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा १२ को पहलमा सो चिडिमार महिला सञ्जाल गठन गरिएको हो । सञ्जालको उपाध्यक्षमा लक्ष्मी चिडिमार, सचिवमा अनुषा चिडिमार, सहसचिवमा सवनकुमारी चिडिमार, कोषाध्यक्षमा दुर्गादेवी चिडिमार रहनुभएको छ । ११ सदस्यीय गठित कार्यसमिति सदस्यमा समरिया चिडिमार, अस्मिता चिडिमार, बसन्ती चिडिमार, सिता चिडिमार र प्रतिक्षा चिडिमार हुनुहुन्छ ।

वडाअध्यक्ष बज्राचार्य, महिला सदस्य सुशिला पन्त, दलित महिला सदस्य चन्दा चिडिमार, सदस्य राज कुमार बाल्मिकी, सदस्य विनोदकुमार रस्तोगी, वडाको आमा समूहका अध्यक्ष एंव पदाधिकारीलगायतको उपस्थितिमा सञ्जाल गठन गरिएको थियो ।

चिडिमार समुदायको हक अधिकार, उत्थान तथा समुदायको विकास हुने उद्देश्यले राष्ट्रियस्तरीय सञ्जाल निर्माण गरिएको नेपालगन्ज १२ का वडाअध्यक्ष तरुण बज्राचार्यले जानकारी दिनुभयो । उहाँले सो समुदायका महिलाको शसक्तिकरणका लागि सञ्जालको औचित्य देखिएको जनाउँदै सञ्जाल सक्रिय भएमा उहाँहरु आफै आफ्ना समस्या उठान तथा समाधान खोज्न सक्ने बन्नुहुने बताउनुभयो ।

वडाअध्यक्ष बज्राचार्यले महिला सञ्जाल दर्ताको प्रक्रियामा गइसकेको बताउनुभयो । बाँकेमा चिडिमार समुदायको बाक्लो उपस्थिति रहेको छ । महिला सञ्जाल पहिलो पटक गठन गरिएको चिडिमार समुदायका अगुवा रामु चिडिमारले बताउनुभयो । उहाँका अनुसार नेपालमै सबैभन्दा बढी बाँकेमा यस समुदायको बसोबास रहेको छ ।

महिलाको हक अधिकारको सवालमा उहाँहरुलाई सक्षम बन्न सञ्जालले सहज बनाउने अगुवा रामुको विश्वास छ । सञ्जालमार्फत महिलाको हक अधिकार र सामाजिक समस्याविरुद्ध सचेतनामुलक कार्यक्रम गरिनेछ ।

चिडिमार समुदायका अगुवा रामुका अनुसार नेपालको बाँके, बर्दिया, सिरहा र सप्तरी जिल्लामा चिडिमार समुदायको बसोबास रहेको पाइन्छ । बर्दियामा २० जनाको संख्यामा यो समुदाय रहेको छ । बाँकेमा १ हजार ६०० को हाराहारीमा रहेका छन् । जिल्लाको जानकी गाउँपालिकाको करमोहना, नरैनापुर, शम्शेरगन्ज, कोहलपुर नगरपालिकाको वडा नम्बर १४ र १५ र नेपालगन्ज उपमहानगर पालिकाको वडा नम्बर १ र १२ मा यो समुदायको बसोबास रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »