कविता
कृष्ण कोपिला
म रुन्नँ , म हाँस्तिनँ
मैले किन रुनूँ ? मैले किन हाँस्नूँ ?
रुन त दुःख चाहिन्छ
हाँस्न त सुख चाहिन्छ
मसंग यी दुवै छैनन्
तब म किन रुनूँ ? किन हाँस्नूँ ?
त्यसैले, म रुन्नँ , म हाँस्तिनँ
हाँस्नका लागि आफ्नो गाउँ ठाउँ माथि उठ्नुपर्छ
आफ्नै लागि सबैको मन एकभई जुट्नुपर्छ
रुनका लागि आफ्नो गाउँको माया टुट्नुपर्छ
आफ्नो ठाउँको सम्बन्ध नै सबै छुट्नुपर्छ
यी कुनै छैनन् म संग
अनि, म किन रुनूँ ? किन हाँस्नूँ ?
त्यसैले, म रुन्नँ , म हाँस्तिनँ
हाँस्नका लागि जनता सुखी हुनुपर्छ,देश सप्रिनुपर्छ
रुनका लागि देश नष्ट हुनुपर्छ,जनता सकिनुपर्छ
यी दुबै छैनन् मेरोमा
अनि, म किन रुनूँ ? किन हाँस्नूँ ?
त्यसैले, म रुन्नँ र म हाँस्तिनँ








