सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दसैँ व्यापार : नेपाली बजार सुनसान, भारतीय बजार गुलजार

काठमाडौं । हिन्दु धर्मावलम्बीको मुख्य पर्व दसैँ भोलिदेखि सुरु हुँदैछ । नवरात्रिको पहिलो दिन सोमबार घटस्थापना हो । घटस्थापनाको दिनदेखि विधिवत् रूपमा दसैँ भित्रिएको मानिन्छ ।

दसैँलाई कतिपयले नयाँ र राम्रा लुगा लगाउने, मिठो खाने पर्वका रूपमा पनि लिन्छन् । त्यसैले दसैँका लागि किनमेल गर्नेहरूको घुइँचो बजारमा हुने गर्दछ । व्यापारी–व्यवसायीहरूले पनि दसैँलाई कारोबारको मुख्य सिजन मानेर सामान मगाउने र विक्री गर्ने गर्दछन् ।

यो वर्ष बजारमा दसैँको चहलपहल खासै देखिएको छैन । नेपाली बजारमा दसैँका लागि गरिने किनमेलमा मन्दी छाएको व्यवसायी बताउँछन् ।

वीरगन्ज बजारमा दसैँका लागि किनमेल गर्न आसपासका विभिन्न जिल्लाबाट मानिस ओइरिने गर्दथे । रौतहट, बारा, मकवानपुर लगायतका जिल्लाबाट समेत दसैँका लागि लत्ता–कपडा र अन्य आवश्यक सामान किन्न मानिसहरू वीरगन्ज आउने गर्दथे । घटस्थापनाको एक–दुई दिन अगाडि बजारमा निकै चहलपहल भइसकेको हुन्थ्यो तर अहिले बजार सुनसानजस्तै रहेको वीरगन्जका व्यापारी बताउँछन् ।

पोहोर साल घटस्थापनासम्मको तुलनामा यो वर्ष ५० प्रतिशतभन्दा कम कारोबार भएको स्थानीय व्यापारीहरूको भनाइ छ । वीरगञ्जको तुलनामा भारतीय बजार रक्सौलमा भने ग्राहकको भिड बढ्ने गरेको छ । दसैँका लागि किनमेल गर्न भारतीय बजारमा भने नेपालीहरूको लर्को नै छ ।

वीरगन्जको माईस्थान चोकस्थित न्यू लक्ष्मी कपडा पसलमा कार्यरत सन्तोष कुमार रौनियारका अनुसार यो वर्षको दसैँमा व्यापार एकदम कम छ । गत वर्षको यही अवधिको तुलनामा अहिले ५० प्रतिशतभन्दा  कम व्यापार रहेको उनको भनाइ छ ।

रौनियारले भने, ‘यही समयमा पोहोर सालको दसैँमा दैनिक डेढ लाखसम्मको कपडा बिक्री हुन्थ्यो, तर आजको दिनमा मुस्किलले ५० हजारको कारोबार भइरहेको छ । यो भनेको एकदम मन्दी हो ।’

दसैँ सुरु भइसक्दा पनि बजारमा सर्वसाधारणको चहलपहल नदेखिएकाले आफैँ चकित परेको उनको भनाइ छ । उनले भने, ‘बजारमा थोरै चहलपहल देखिन्छ, तर ती व्यक्ति पनि नेपाली बजारमा किनमेल नगरेर भारतीय बजार (रक्सौल) जाने गरेका छन् ।’

घण्टाघर नजिकै कपडा पसल चलाइरहेका अब्दुलाह मियाँको दुखेसो पनि उस्तै छ । दसैँलाई लक्षित गरेर पसलमा विभिन्न किसिमका कपडा ल्याए पनि त्यसअनुरुप व्यापार हुन नसकेको उनको भनाइ छ । यही अवस्था रहे यो वर्षको दसैँले व्यवसायीलाई ठुलो सङ्कट निम्त्याउने देखिन्छ ।

‘अरुवेला व्यापार नभए पनि दसैँमा त होला भन्ने आशामा व्यापारी बसेका हुन्छन्,’ मियाँले भने, ‘दसैँमा पनि नभएको व्यापार कहिले हुन्छ ?’

कपडामात्रै नभई पूजासामग्रीको व्यापार पनि नाजुक छ । दसैँ सुरु भएता पनि पूजा साम्रगीको कारोबार राम्रो नभएको व्यवसायी बताउँछन् ।

वीरगन्जकै माईस्थानमा चोकमा लामो समयदेखि पूजा सामग्री बेच्दै आएका व्यापारी पिन्टु गुप्ताले भने, ‘अहिले बजारको अवस्था डमाडोल छ, जुनकारणले गर्दा आजसम्म हाम्रो व्यापार पनि अपेक्षित छैन । नाममात्रको कारोबार भइरहेको छ ।’ पूजा सामग्रीको व्यापारमा पनि लगभग ५० प्रति गिरावट आएको उनको भनाइ छ ।

गुप्ताले भने, ‘पहिलापहिला हामीले चाडपर्वमा हरेक दिन ३ लाखसम्मको पूजासामग्री बेच्थ्यौँ, तर अहिले दिनमा मुस्किलले १ लाखसम्मको बिक्री भइरहेको छ ।’ भारतीय बजारका कारण पनि नेपाली बजारमा कम कारोबार भइरहेको उनको आकलन छ ।

  • भारतीय बजारमा चहलपहल

भारतीय बजारमा भने तुलनात्मक रूपमा किनमेल गर्नेहरूको भिड बढ्दो छ । दिउँसो १–२ बजेसम्म पनि ग्राहक नछिरेको गुनासो नेपाली व्यवसायीहरूले गरिरहँदा भारतीय बजार रक्सौलमा भने नेपाली ग्राहकहरू खचाखच देखिन्छन् ।

रक्सौलका कपडा पसलदेखि लिएर पूजा सामग्री विक्री गर्ने पसलमा नेपालीहरूको भिडभाड देखिन्छ । यद्यपि, भारतीय बजारमा पनि पोहोर सालको तुलनामा यो वर्ष कारोबार केही घटेको स्थानीय व्यापारी बताउँछन् ।

रक्सौलमा नेपाली ग्राहकका लागि चर्चित कपडा पसल अमरदीपका सञ्चालक विमल रुङ्ग्टाका अनुसार कपडाको विक्री शनिबारदेखि बढेको छ । नेपाली ग्राहकहरू किनमेलका लागि आउन थालेको उनको भनाइ छ ।

उनले भने, ‘नेपालमा भर्खरै आन्दोलन सकिएर सबै जना चाडपर्वको तयारीमा जुटेका छन् । बल्लतल्ल मान्छे दसैँका लागि सामान खरिद गर्न आउन थालेका छन् । यद्यपि, अहिले भइरहेको कारोबार पहिलाको तुलनामा कम नै हो ।’

अमरदीपमा नेपालको बारा, पर्सा, मकवानपुर, चितवनसहितका जिल्लाबाट ग्राहकहरू किनमेलका लागि पुग्ने गर्दछन् । यो पसलको लगभग ५० प्रति ग्राहक नेपाली रहेको विमलको भनाइ छ ।

रक्सौलमै रहेको जय नेपाल कपडा पसलका सञ्चालक प्रेमानन्द अग्रवालले बजारमा अहिले नेपाली ग्राहकको ‘मुभमेन्ट’ बढेको बताए ।

बोर्डर खुलेपछि बजारमा नेपाली ग्राहकको सङ्ख्यामा बढोत्तरी भएको उनको भनाइ छ । यद्यपि विगतको तुलनामा भने यो वर्षको दसैँमा कम कारोबार भइरहेको उनको विश्लेषण छ ।

आइतबार बिहानै रक्सौलस्थित ‘मास्टर साहेब’को पसलमा पूजासामग्री किन्नका लागि ग्राहकको लाइन नै थियो । ५० जनाभन्दा बढी ग्राहक पसलले उपलब्ध गराएको फर्ममा आफूलाई चाहिने सामानको सूची भरेर लाइन लागेका थिए । पसलका सञ्चालक प्रवीर रञ्जनका अनुसार पूजा सामग्रीको कारोबार उत्साहजनक छ, तर अन्य वर्षको तुलनामा केही हदसम्म कम कारोबार भइरहेको उनको दाबी छ ।

  • किन घट्यो कारोबार ?

वीरगन्जको तुलनामा रक्सौलमा दसैँ बजारको केही चहलपहल भए पनि दुवैतर्फका व्यवसायी अपेक्षा अनुसार व्यापार हुन नसकेको बताउँछन् ।

नेपाली बजारका व्यापारीहरूले जेनजीको आन्दोलनका कारण आर्थिक अवस्था डमाडोल भएको बताइरहेका छन् । जेनजी आन्दोलनका कारण दसैँको व्यापार ध्वस्त भएको उनीहरूको टिप्पणी छ ।

माईस्थानस्थित न्यू लक्ष्मी पसलका सन्तोष रौनियारले बजारमा चहलपहल नहुनु पछाडिको मुख्य कारण जेनजी आन्दोलन रहेको बताए । ‘आन्दोलनका कारण सरकारी कार्यालय तथा मान्छेहरूको घर जलाइएका छन् । सरकारी कार्यालय सञ्चालनमा आउन सकेको छैन,’ उनले भने, ‘जुनकारण अर्थतन्त्र चलायमान हुन सकेको छैन, अनि ग्राहकसँग पैसा नभएका कारण किनमेल गर्न सकिरहेका छैनन् ।’

यता भारतको रक्सौलस्थितको कपडा पसलमा कार्यरत सुशीलकुमार शर्माले पनि नेपालमा चर्केको आन्दोलनका कारण धेरै नेपालीहरू सहज रूपमा किनमेल गर्न आउन नसकेको सुनाए ।

नेपाली बजारमा कम कारोबार हुनुको अर्को कारण महँगीलाई मानिएको छ । भारतको तुलनामा नेपाली बजारमा भ्याटसहितको करले मूल्य थपिँदा हरेक सामान महँगो हुने भएकाले नेपाली ग्राहक भारतीय बजारतर्फ आकर्षित हुने गरेको व्यवसायी बताउँछन् 

भर्खरै

सम्बन्धित खबर

Language »