राजन थापा
काठमाडौं / वर्षौँदेखि अनुहार, बङ्गारा र मुखका जटिल रोग तथा दुर्घटनाबाट पीडित नेपालीहरूका लागि अब आशाको नयाँ किरण देखिएको छ। उपचारको खोजीमा विदेश धाउनुपर्ने बाध्यताले थलिएका हजारौँ बिरामीहरूका लागि राहत दिने उद्देश्यसहित काठमाडौंको चाबहिल (चिसाबेल) क्षेत्रमा नेपालकै पहिलो अत्याधुनिक म्याक्सिलोफेसियल अस्पताल निर्माण प्रक्रिया सुरु गरिएको छ।
लामो समयदेखि दन्त स्वास्थ्य क्षेत्रमा सेवा दिँदै आएको ओम समाज डेन्टल अस्पतालले मुख, दाँत, बङ्गारा (अजुहार), अनुहार तथा घाँटीसँग सम्बन्धित जटिल रोगहरूको उपचारमा पूर्ण रूपमा समर्पित अस्पताल निर्माण गर्ने घोषणा गरेको हो। अस्पताल सञ्चालनमा आएपछि विशेष उपचारको अभावमा विदेश जान बाध्य बिरामीहरूले स्वदेशमै विश्वस्तरीय सेवा पाउने विश्वास लिइएको छ।
नेपालमा मौखिक तथा म्याक्सिलोफेसियल सेवा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट सुरु भए पनि पूर्ण रूपमा समर्पित, आधुनिक प्रविधिसहितको अस्पताल संरचना हालसम्म निर्माण हुन सकेको थिएन। यही अभावलाई सम्बोधन गर्ने लक्ष्यसहित यो पहल अघि बढाइएको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका अध्यक्ष तथा मुख तथा म्याक्सिलोफेसियल सर्जन डा. सुवास घिमिरेका अनुसार नेपालमा पछिल्ला वर्षहरूमा ट्राफिक दुर्घटना, औद्योगिक दुर्घटना, मुख तथा अनुहारको क्यान्सर, भित्री ट्युमर, गम्भीर संक्रमण तथा जन्मजात विकृतिका घटनामा उल्लेखनीय वृद्धि भएको छ। उनले भावुक हुँदै भने, “दुर्घटनापछि अनुहार बिग्रिएको, बङ्गारा भाँचिएको वा मुखको क्यान्सरका कारण पीडित धेरै बिरामीहरू आर्थिक अभावका कारण समयमै उपचार पाउन सक्दैनन्। कतिपयले घरजग्गा बेचेर विदेश जानुपरेको छ। यो अवस्था बदल्नु हाम्रो कर्तव्य हो।” डा. घिमिरेका अनुसार यस्ता जटिल समस्याहरू सामान्य दन्त चिकित्सक वा सामान्य शल्यचिकित्सकबाट समाधान गर्न सकिँदैन। यसका लागि विशेष रूपमा प्रशिक्षित म्याक्सिलोफेसियल सर्जन, अत्याधुनिक उपकरण र पूर्ण पूर्वाधार आवश्यक पर्छ। “अब हाम्रो लक्ष्य स्पष्ट छ – उपचारका लागि विदेश जाने बाध्यता अन्त्य गर्नु। हामी नेपालमै सुरक्षित, किफायती र विश्वस्तरीय सेवा उपलब्ध गराउनेछौँ,” उनले विश्वास व्यक्त गरे।
निर्माणाधीन अस्पतालमा आधुनिक अपरेशन थिएटर, थ्रीडी डिजिटल इमेजिङ तथा स्क्यानिङ प्रणाली, इन–हाउस प्रयोगशाला, आईसीयू सेवा, आपतकालीन कक्ष, एनेस्थेसिया विभाग, फेसियल ट्रमा युनिट तथा अपरेटिभ रिकभरी वार्ड जस्ता अत्याधुनिक सुविधाहरू रहने जनाइएको छ। अस्पतालले सबै म्याक्सिलोफेसियल सेवाहरू एउटै छानामुनि उपलब्ध गराउने लक्ष्य राखेको छ।
मुख तथा म्याक्सिलोफेसियल सर्जनहरू मुख, दाँत, बङ्गारा, अनुहार र घाँटीसँग सम्बन्धित जटिल रोग तथा चोटपटकहरूको शल्यक्रिया गर्ने विशेषज्ञ चिकित्सक हुन्। उनीहरूले दन्त चिकित्सामा अध्ययन पूरा गरेपछि म्याक्सिलोफेसियल सर्जरीमा विशेष तालिम लिएका हुन्छन्। यस्तो विशेषज्ञ सेवा नेपालमा सीमित भएकाले धेरै बिरामीहरू अझै विदेश जान बाध्य छन्।
विज्ञहरूका अनुसार समयमै उपचार नपाएमा अनुहार तथा मुखसम्बन्धी जटिल समस्याले शारीरिक मात्र होइन, मानसिक र सामाजिक जीवनमा समेत गम्भीर असर पार्न सक्छ। विशेषगरी युवा तथा कामकाजी वर्ग दुर्घटनाको सिकार हुँदा परिवार नै आर्थिक संकटमा पर्ने अवस्था सिर्जना हुने गरेको छ।
ओम समाज डेन्टल अस्पतालले विगत केही वर्षदेखि किफायती तथा गुणस्तरीय सेवा, निःशुल्क स्वास्थ्य शिविर र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। अस्पतालले ग्रामीण तथा विपन्न समुदायसम्म पुगेर सेवा दिँदै आएको दाबी गरेको छ। अस्पताल प्रशासनका अनुसार, “स्वास्थ्य सेवा धनीका लागि मात्र होइन, सबैका लागि समान रूपमा पहुँचयोग्य हुनुपर्छ। यही सोचका साथ हामीले यो अस्पताल निर्माणको साहसिक निर्णय गरेका हौँ।” चाबहिलमा निर्माण हुन लागेको यो अस्पताल केवल एउटा भवन मात्र नभई हजारौँ बिरामीको आशा, विश्वास र भविष्यसँग जोडिएको परियोजना मानिएको छ।
स्वदेशमै अत्याधुनिक उपचार सुविधा उपलब्ध हुँदा आर्थिक भार कम हुनुका साथै देशको स्वास्थ्य क्षेत्रले नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ। यदि योजना अनुसार निर्माण सम्पन्न भई सेवा सुरु भयो भने, यो अस्पतालले नेपालमा म्याक्सिलोफेसियल उपचारको क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने विश्वास गरिएको छ — जहाँ नेपाली बिरामीले उपचारका लागि विदेश होइन, आफ्नै देशमा भरोसा गर्न सक्नेछन्।








