काठमाडौं । नेपालकै अग्रणी सौन्दर्य सेवा प्रदायक संस्था फेसियल हाउसले काठमाडौंको सितापाइलास्थित अनुपम महलमा आफ्नो १२औँ शाखा औपचारिक रूपमा उद्घाटन गरेको छ। शनिबार आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, सञ्चार उद्यमी शोभा ज्ञवालीलगायतले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन्।
करिब १८ वर्षअघि काठमाडौं मल, सुन्धाराबाट यात्रा सुरु गरेको फेसियल हाउसले सेवा विस्तारलाई निरन्तरता दिँदै देशभर आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ। हाल कम्पनीले काठमाडौंसहित पोखरा, सुर्खेत, नेपालगञ्ज, ललितपुर, चितवन, धनगढी र इटहरीमा सेवा प्रदान गरिरहेको छ। साथै काठमाडौं र चितवनमा फेसियल एकेडेमी सञ्चालन गरी सौन्दर्य तथा स्किन केयर क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा समेत योगदान पुर्याउँदै आएको जनाएको छ।
फेसियल हाउसकी संस्थापक सुश्मा महराले सितापाइलामा शाखा सञ्चालनमा आएपछि यस क्षेत्रका सेवाग्राहीलाई अब टाढासम्म धाउनुपर्ने बाध्यता अन्त्य हुने बताइन्। उनले भनिन्, “काठमाडौंका विभिन्न स्थानमा पुगेर सेवा लिनुपर्ने अवस्था अब धेरै हदसम्म अन्त्य भएको छ। सितापाइला र आसपासका ग्राहकलाई सहज रूपमा गुणस्तरीय सौन्दर्य तथा स्किन केयर सेवा उपलब्ध गराउने उद्देश्यले यो शाखा सञ्चालनमा ल्याएका हौँ। आगामी दिनमा पनि सेवा विस्तारलाई निरन्तरता दिनेछौँ।”
कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको विस्तारले रोजगारी सिर्जना र अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले फेसियल हाउसले दुई सयभन्दा बढीलाई रोजगारी दिएको उल्लेख गर्दै यसलाई उदाहरणीय उपलब्धि भएको बताए। “रोजगारी सिर्जना गर्नु नै सबैभन्दा ठूलो सामाजिक योगदान हो। फेसियल हाउसले सयौँ युवालाई रोजगारी दिएको छ, यसले देशको अर्थतन्त्रलाई समेत टेवा पुर्याएको छ। आगामी दिनमा थप शाखा विस्तार गर्दै अझ सफल बन्न शुभकामना दिन्छु,” उनले भने।
सञ्चार उद्यमी शोभा ज्ञवालीले एउटै क्षेत्रमा लामो समयसम्म निरन्तर मेहनत गरेर सफल व्यवसाय निर्माण गर्नु प्रेरणादायी भएको बताइन्। “करिब २८ वर्षदेखि एउटै क्षेत्रमा निरन्तर काम गरेर सफल संस्था निर्माण गर्नु आफैंमा ठूलो उपलब्धि हो। महिलाले पनि व्यवसाय, रोजगारी सिर्जना र देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्छन् भन्ने उदाहरण फेसियल हाउसले प्रस्तुत गरेको छ,” उनले भनिन्।
नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले फेसियल हाउस केवल सौन्दर्य सेवा दिने संस्था मात्र नभई छालाको उपचार, सीप विकास र महिला आर्थिक सशक्तीकरणमा समेत योगदान पुर्याइरहेको बताइन्। “यो केवल सुन्दरतासँग सम्बन्धित व्यवसाय होइन, छालाको उपचार, सीप विकास, रोजगारी सिर्जना र महिला आर्थिक सशक्तीकरणसँग पनि जोडिएको क्षेत्र हो। यस्ता संस्थाको विस्तारले समग्र अर्थतन्त्रलाई सकारात्मक योगदान पुर्याउँछ,” उनले भनिन्।
कार्यक्रममा सौन्दर्य, व्यवसाय तथा सामाजिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नयाँ शाखा सञ्चालनसँगै सितापाइला तथा आसपासका सेवाग्राहीले अब आधुनिक प्रविधिमा आधारित सौन्दर्य तथा स्किन केयर सेवा आफ्नै क्षेत्रबाट सहज रूपमा प्राप्त गर्न सक्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।








