सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आसन्न नाट्टा निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न

– माधव घिमिरे ‘अटल’

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै आफ्नो टिमलाई बहुसङ्ख्यक मतदाताहरूले रुचाएमा सुसम्पन्न गर्ने केही कामका फेहरिस्त लिएर तीन समूहका टिम बनाएका पर्यटन व्यवसायीमध्ये जिस्वाँ तुलाधर श्रेष्ठको टिमले हिजो बुधबार राजधानीमा उम्मेदवार परिचयात्मक कार्यक्रम सुसम्पन्न गरेको छ ।


उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सो टिमको अध्यक्षकी प्रत्याशी जिस्वाँ तुलाधर श्रेष्ठले लामो कालखण्डको आफ्नो पर्यटन अनुभवलाई पर्यटन प्रवर्धनमा लगाउनका निम्ति आम मतदातालाई अनुमति दिन आग्रह गरिन् । यदि आफूहरू विजयी भएमा नयाँ उद्यमी र साना व्यवसायीलाई विशेष प्रोत्साहन दिने, पर्यटकीय बसपार्क तथा अन्तरसहरी बस विस्तार, नाट्टाका गतिविधि डिजिटलाइजेसन गर्ने, हवाई सञ्जाल सुदृढीकरण गर्ने, टुर अपरेटर्स, गाइड तथा पर्यटनकर्मीको क्षमता अभिवृद्धि गर्ने, IATA तथा टिकटिङ सुधार गर्ने, हवाई टिकटमा लाग्ने भ्याट हटाउन पहल गर्ने, नाट्टामा प्रादेशिक सहभागिता वृद्धि गर्ने, आन्तरिक पर्यटनमा सुगमता सुनिश्चित गर्ने, पर्यटन क्षेत्रमा देखापरेका अवैधानिक क्रियाकलाप नियन्त्रण गर्ने, आउटबाउन्ड पर्यटनमा आएका जटिलतालाई सहजीकरण गर्ने जस्ता एक दर्जन बेसी सकसहरू सुल्झाउने आफ्नो समूहको लक्ष्य भएको बताइन् ।

कार्यक्रममा उक्त समूहलाई शुभकामना दिनेहरूमा टानका अध्यक्ष सागर पाण्डे, नाट्टाका पूर्व अध्यक्षलगायतका वरिष्ठ पर्यटनकर्मीहरू थिए । पाण्डेले नेपालको आर्थिक विकासको मेरुदण्ड पर्यटनबाहेक केही हुन नसक्ने दाबी गर्दै टान यो बहसमा जोसुकैसँग हातेमालो गर्न तयार रहेको अवगत गराए ।


जिश्वाँ तुलाधर श्रेष्ठको समूहमा विष्णु पाण्डे वरिष्ठ उपाध्यक्ष तथा प्रज्ञा पाठक शर्मा उपाध्यक्षका प्रत्याशी रहेका छन् । यसैगरी सुशील पन्त- महासचिव, रमेश घिमिरे- सचिव, कृष्णप्रसाद ढकाल- कोषाध्यक्ष तथा डा. बिमला दाहाल- सह-कोषाध्यक्ष उम्मेदवार बनेका छन् ।

यसरी नै सदस्यहरूमा त्रिलोचन न्यौपाने, दिनेश घिमिरे, प्रदीप आचार्य, अनु अधिकारी राउत, रोजिना रन्जित तथा सुदर्शन गजुरेल रहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »