काठमाडौँ । लगातारको वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका( १०) जवाङ्खोलामा सडकमाथिबाट खसेको ढुंगाले किचेर २ जनाको मृत्यु भएको छ ।
मुग्लिनबाट काठमाडौँ जादैँ गरेको ना ८ ख ४५४० नम्बरको ट्रकमाथि पहिरोसँगै ढुंगा खस्दा सह–चालक चितवन भण्डाराका दोर्जे भनिने बिरबल प्रजाको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी महेन्द्र खड्काले बताएका छन् ।
यस्तै पहिरोले ट्रकमै सवार अर्का एक जना सुदीप प्रजा घाइते भएका छन् भने चालक सकुशल छन् । खड्का अनुसार भारत घर भएकी ४३ वर्षीया सोनी देवीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ । सोनी चढेको गाडी पनि पहिरोमा परेको थियो । पहिरोले लागेपछि सोनी देवी घाइते भएकी थिइन् । उनलाई गण्डकी अस्पतालमा उपचारको लागि लगिएको थियो । उपचारको क्रममा शनिबार बिहान ६ बजे मृत्यु भएको थियो ।
जिप्रका धादिङका प्रहरी निरीक्षक रन्जन अवाका अनुसार पहिरोले ५ वटा गाडीमा क्षति पुर्याएको छ । उनका अनुसार बा१२ च ७१५६ नम्बरको म्याजिक, ना७ख ३२० नम्बरको ट्रक, टीएन २८ एए०१२० नम्बरको भारतीय ट्रक, बा१ग २८३१ नम्बरको ट्रकमा पहिरोले क्षति पुर्याएको छ ।
त्यस्तै ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार भारतका ५५ वर्षीय राकेश कुमार, ७ वर्षीय शुभमकुमार, २७ वर्षीय सन्देश कुमार र २५ वर्षीय राजाकुमार घाइते भएका छन् । उनीहरुको पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बिहान केहीबेर राजमार्ग अवरुद्ध बनेको थियो । अवाले भने, ुबिहान पहिरोले राजमार्ग बन्द थियो । अहिले एकातर्फी खुलेको छ । मृत्यु भएका प्रजाको सनाखत गरिएको छ । पहिरो हटाउने कार्य भइरहेको छ ।ु
काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं.१२ को माम्तीखेलामा आएको बाढीका कारण बीपी राजमार्ग अबरुद्ध भएको छ । गए रातीदेखि परेको अविरल वर्षासँगै आएको भेलबाढीले बीपी राजमार्ग अन्तर्गत काभ्रे खण्ड अवरुद्ध भएको हो ।
माम्ति र भ्याकुरे खोलामा लेदो सहित बाढी आउँदा वीपी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए । राजमार्ग अवरुद्ध भएपछि राजधानीबाट पूर्वी पहाड र तराईका जिल्ला हिँडेका सवारी साधन बिचमै अलपत्र परेका छन् ।
माथिबाट निरन्तर लेदो सहितको बाढी आझै आइरहेकोले लेदो हटाउन नसक्दा राजधानी आउँदै गरेका सबै सवारी साधन बिचैमा रोकिएका छन् । ‘बाढी कम नहुँदासम्म लेदो हटाउन सक्ने अवस्था छैन् । तर पनि राजमार्ग खुल्लान प्रयास भैरहेका छन् ।’ डिएसपी खतिवडा जानकारी दिए ।
मान्ति खोलाले बर्षेनी बीपी राजमार्ग अवरुद्ध पार्दै आएको छ । तर समाधानको उपाय भने अपनाइएको छैन् । हिउँदमा सुक्ने र बर्खामा उर्लिने मान्ति खोलामा पुल समेत छैन् । राजमार्गबाटै खोला बग्ने गरेको छ । जसका कारण वर्षैपिच्छे यात्रुले हैरानी खेप्दै आएका छन् ।
गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।
गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो । उनीहरु श्रीमान(श्रीमती हुन् ।








