काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा पोखरामा गण्डकीका सामाजिक विकास मन्त्री विन्दुकुमार थापा र परिवारको नाममा रहेको व्यापारिक भवनसहित ३ रिसोर्ट, इभेन्ट सेन्टर र भाटभटेनीमा आगजनी भएको छ ।
पोखरामा रहेका सबैजसो प्रमुख सरकारी कार्यालयसहित मंगलबार आन्दोलनकर्मीले व्यक्तिका घर, भवन र व्यापारिक संस्थामासमेत आगो लगाएका हुन् ।
मन्त्री थापाको पोखरा नयाँबजारमा रहेको घर, उनका भाई अटोमोबाइल एसोसिएसन नेपालका पूर्वअध्यक्ष ध्रुव थापाको गाडी स्वरूमसहितको भवन जलाएर ध्वस्त बनाइदिएका छन् ।
पोखरा महानगरपालिकाको कार्यालय जलाएपछि आन्दोलनकारीले मेयर धनराज आचार्यको घरमा तोडफोड गर्दै आगो लगाएका थिए भने मेयर आचार्यका भाइ शिव आचार्य सञ्चालक रहेको पोखरा इभेन्ट सेन्टर पनि तोडफोडसँगै आगो लगाइदिएका हुन् ।
आन्दोलनकारीहरूले मन्त्री थापाको घरसँगै पोखरा लेकसाइडमा रहेको अंशुभरा ग्रुपको व्यापारिक भवन, करिब डेढ महिना अगाडिमात्रै परराष्ट्रमन्त्री आरजु देउवा राणाले उद्घाटन गरेको बगैंचा रिसोर्ट तोडफोड गर्दै आन्दोलनकारीले आगजनी गरेका थिए ।
आन्दोलनकारीले प्रा.डा. भरत पहारीको होटर सरोबरमा पनि तोडफोड गर्दै आगजनी गरेका छन् भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को लगानी रहेको भन्दै बरपिपल रिसोर्टमा पनि तोडफोड गर्दै सवारी साधन र एउटा भवनमा आगो लगाइदिएका छन् ।
जेनजीको नाममा भएको आन्दोलनका सहभागीले पोखरामा रातिसम्मै उग्र प्रदर्शन गरिरहेका थिए । आन्दोलनकारीले सबै सरकारी कार्यालय जलाइसकेपछि पोखरा न्युरोडमा रहेको भाटभटेनी सुपरमार्केट तोडफोड, लुटपाट गर्दै आगजनी गरेका थिए ।
भाटभटेनीमा लागेको आगो अझै निभेको छैन । भाटभटेनी सुपरमार्केटमा पूरै भवनमा आगो सल्किएको छ । अहिले पोखरा महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ । तर नियन्त्रणमा आउन सकेको छैन । भाटभटेनीभित्र अहिले पनि दनदनी आगो सल्किरहेको छ ।








