काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघको चन्द्रागिरि एरिया समितिको भेला सम्पन्न भएको छ। नैकापस्थित टावर फूड ल्याण्डमा आयोजित भेलाले नयाँ एरिया समिति सर्वसम्मत रूपमा पुनर्गठन गर्दै आगामी कार्ययोजनासमेत तय गरेको छ।
संघका केन्द्रीय अध्यक्ष आनन्द प्रभाकर धिमिरेको अध्यक्षतामा सम्पन्न भेलामा संघका पदाधिकारी, निवर्तमान पदाधिकारी तथा चन्द्रागिरि क्षेत्रका फोटोग्राफर व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। भेलामा संगठन विस्तार, व्यवसायिक एकता, सदस्यहरूको हित संरक्षण तथा फोटोग्राफी व्यवसायलाई समयानुकूल व्यवस्थित बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।
भेलाले प्रेम महर्जनको संयोजकत्वमा नयाँ एरिया समिति गठन गरेको छ। समितिका सदस्यहरूमा पुष्पराज दाहाल, अरुण महर्जन, कुमार श्रेष्ठ तथा नविन खनाल रहेका छन्। नवगठित समितिलाई चन्द्रागिरि क्षेत्रमा संघका गतिविधिलाई थप प्रभावकारी बनाउने जिम्मेवारी दिइएको छ।
बैठकमा व्यवसायिक तथ्यांक व्यवस्थापनलाई प्राथमिकता दिँदै क्षेत्रभित्र सञ्चालनमा रहेका स्टुडियोहरूको सर्वेक्षण गर्ने, व्यवसायीहरूको अद्यावधिक विवरण संकलन गर्ने तथा व्यवसाय सुधारका लागि सुझावहरू जुटाउने निर्णय गरिएको छ। यसका साथै सदस्यहरूबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउने विषयमा समेत सहमति भएको छ।
संघका निवर्तमान केन्द्रीय सदस्य कृष्ण पराजुलीका अनुसार भेलाले संगठनलाई आधारभूत तहदेखि सुदृढ गर्दै व्यवसायीहरूको साझा हितका विषयमा एकीकृत रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा निवर्तमान अध्यक्ष हरिप्रसाद धिमिरे, सचिव कालिका प्रसाद रिमाल, कोषाध्यक्ष चन्द्रलाल राई, एरिया संयोजक सुरेश श्रेष्ठलगायत विभिन्न पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
भेलाको समापनमा नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिँदै फोटोग्राफी व्यवसायको विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा संगठन सुदृढीकरणका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।








