सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

काठमाडौंको सानोभर्याङमा “ विश्व वातावरण दिवस २०२६ ” को अवसरमा कार्यक्रम सम्पन्न

काठमाडौं । विश्वभर वातावरण संरक्षणको सन्देश फैलाइरहेका बेला काठमाडौंको सानोभर्याङमा रहेका सयौँ विद्यार्थीले पनि हरित भविष्यको पक्षमा आफ्नो आवाज बुलन्द गरेका छन्। विश्व वातावरण दिवस २०२६ को अवसरमा ग्रामीणमुखी युवा अभियान नेपाल  ROYM Nepalको सहयोग तथा कामना इन्टरनेशनल स्कुलको आयोजनामा सम्पन्न कार्यक्रमले वातावरणीय चेतना, विद्यार्थी प्रतिभा र सामाजिक उत्तरदायित्वलाई एकै मञ्चमा उजागर गरेको छ।

जुन ५ मा विद्यालय परिसरमा आयोजित कार्यक्रममा कक्षा ८, ९ र १० का १७ जना विद्यार्थीहरूले वातावरण संरक्षणसम्बन्धी विविध विषयमा तयार पारेका चार्ट तथा कार्डबोर्ड प्रस्तुतीकरणमार्फत पृथ्वी जोगाउने सन्देश दिएका थिए। उनीहरूले प्लास्टिक प्रदूषण, वन विनाश, विकास निर्माणका नाममा भइरहेको अन्धाधुन्ध वन फँडानी, वन्यजन्तु संरक्षण, उद्योग तथा कलकारखानाबाट निस्कने फोहोर व्यवस्थापन लगायतका गम्भीर विषयलाई प्रभावकारी ढंगले उठाएका थिए।

कार्यक्रमको उद्घाटन विद्यालयका कोर्डिनेटर विशाल भट्टराईले वातावरण दिवसको महत्व र प्रकृति संरक्षणमा प्रत्येक नागरिकको जिम्मेवारीबारे जानकारी गराउँदै गर्नुभएको थियो। त्यसपछि विद्यालयका प्रिन्सिपलले विद्यालय परिसरमा रोपिएको बिरुवामा पानी हालेर कार्यक्रमको औपचारिक शुभारम्भ गर्नुभएको थियो। उक्त दृश्यले केवल कार्यक्रम उद्घाटन मात्र होइन, वातावरण संरक्षणप्रतिको सामूहिक प्रतिबद्धताको प्रतीकात्मक सन्देश पनि दिएको थियो।

कार्यक्रममा ग्रामीणमुखी युवा अभियान नेपाल  ROYM Nepalका प्रतिनिधिले संस्थाको परिचय तथा वातावरण, शिक्षा र युवा सशक्तीकरणका क्षेत्रमा सञ्चालन भइरहेका कार्यक्रमबारे जानकारी गराउनुभएको थियो। कार्यक्रममा विद्यार्थी तथा शिक्षक गरी करिब ३०० जनाको उल्लेखनीय सहभागिता रहेको थियो।

विशेष गरी विद्यार्थीहरूले प्रस्तुत गरेका १७ वटै प्रस्तुतीकरण सन्देशमूलक, तथ्यपरक र भावनात्मक थिए। कतिपय प्रस्तुतीकरणले बढ्दो प्रदूषणका कारण संकटमा परेको पृथ्वीको चित्रण गरेका थिए भने कतिपयले हरित वातावरण निर्माणमा युवापुस्ताको भूमिकालाई जोड दिएका थिए। सहभागीहरूको प्रस्तुतिले दर्शकलाई वातावरणीय संकटप्रति गम्भीर बन्न प्रेरित गरेको थियो।

विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास तथा सार्वजनिक प्रस्तुतीकरण सीपको विकास गर्ने उद्देश्यले प्रतियोगितात्मक कार्यक्रमसमेत सञ्चालन गरिएको थियो। प्रतियोगितामा खुसी श्रेष्ठ प्रथम, तिनिसा पाण्डे द्वितीय, चञ्चला साह तृतीय तथा रोशनी कार्की सान्त्वना स्थान हासिल गर्न सफल भए।

प्रतियोगिताको मूल्याङ्कन विद्यालयका शिक्षक अर्पणा खनाल, शुभर्णा थापा, अम्बिका भण्डारी तथा दिपेन्थी बस्यालले गर्नुभएको थियो। मूल्याङ्कनका क्रममा आत्मविश्वास, प्रस्तुतीकरण शैली तथा विषयवस्तुको प्रभावकारितालाई प्रमुख आधार बनाइएको थियो।

कार्यक्रमको समापन समारोहमा ग्रामीणमुखी युवा अभियान नेपाल  ROYM Nepalका अपरेसन कोर्डिनेटर अनुप खनालले विद्यालय परिवारप्रति आभार व्यक्त गर्दै विद्यार्थीहरूको प्रतिभा र समग्र विकासलाई प्राथमिकतामा राखी कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने विद्यालयका कोर्डिनेटर विशाल भट्टराई, नवराज पाण्डे, विद्यालय प्रशासन, कार्यक्रम सञ्चालक बबिता गुरुङ तथा सम्पूर्ण विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो।

उहाँले वातावरण संरक्षणका यस्ता अभियानले विद्यार्थीमा सामाजिक उत्तरदायित्वको भावना विकास गर्नुका साथै भावी पुस्तालाई प्रकृतिप्रति उत्तरदायी नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रम अन्त्यमा आयोजकले सक्रिय सहभागिता जनाउने सम्पूर्ण विद्यार्थी, शिक्षक तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै वातावरण जोगाउने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए। सानोभर्याङबाट उठेको यो हरित आवाजले वातावरण संरक्षण केवल नारामा सीमित नभई व्यवहारमा उतार्नुपर्ने सन्देश दिएको सहभागीहरूको भनाइ थियो।

भर्खरै

सम्बन्धित खबर

Language »