काठमाडौं। दुई दिनसम्म काठमाडौंको नयाँबजारस्थित बहुउद्देश्यीय मार्सलआर्ट भवन करातेका युवा योद्धाहरूको हुटिङ, उत्साह र संघर्षले गुञ्जिरह्यो। पसिना, परिश्रम, आत्मविश्वास र जित्ने अठोटले भरिएको ११औँ वडा राष्ट्रिय ई–लाइट केनवाकाइ कराते च्याम्पियनसिप–२०२६ भव्य रूपमा सम्पन्न भएको छ।

देशका विभिन्न जिल्लाबाट आएका २३५ जना खेलाडीहरूले आफ्नो प्रतिभा, क्षमता र साहसको प्रदर्शन गर्दा प्रतियोगिता केवल खेलमा सीमित रहेन, बरु युवा सपनाहरूको उत्सव बनेर उभियो। प्रत्येक किक, प्रत्येक पन्च र प्रत्येक भिडन्तले दर्शकलाई रोमाञ्चित बनाएको थियो।
प्रतियोगिताको उद्घाटन नेपाल कराते महासंघका महासचिव दावा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने समापन समारोह जापान गोजुरियो कराते केनवाकाइ नेपाल संघका अध्यक्ष विदुर कुँवरको प्रमुख आतिथ्यता तथा कराते क्लब बालाजुटार, काठमाडौंका अध्यक्ष सूर्यप्रसाद घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो।
काठमाडौं, नुवाकोट, रुपन्देही, दोलखा र बाग्लुङबाट आएका खेलाडीहरूबीच भएको कडा प्रतिस्पर्धामा अन्ततः टिम रुपन्देहीले आफ्नो अदम्य साहस र उत्कृष्ट प्रदर्शनका बलमा च्याम्पियनको उपाधि हात पार्दै इतिहास रचेको छ। आयोजक काठमाडौं टिम दोस्रो स्थानमा सीमित रहँदा दोलखा तेस्रो स्थानमा रहन सफल भयो।

प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई ट्रफी, मेडल तथा प्रशंसापत्र प्रदान गरिएको थियो। विजेताको घोषणा हुँदा खेलाडीहरूको अनुहारमा देखिएको खुसी, अभिभावकको गर्व र प्रशिक्षकहरूको सन्तुष्टिले कार्यक्रमलाई अझ भावुक बनाएको थियो।
कुमारी युवा क्लब तथा कराते क्लब बालाजुटारको आयोजनामा सम्पन्न प्रतियोगितालाई काठमाडौं महानगरपालिका वडा नं. १६ को विशेष सहयोग प्राप्त भएको थियो। प्रतियोगितामा २२ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रीहरूले निष्पक्ष निर्णायकको भूमिका निर्वाह गरेका थिए भने सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी मुख्य प्रशिक्षक होम गुरुङले सम्हालेका थिए।
यो प्रतियोगिताले केवल विजेता र उपविजेता मात्र जन्माएन, बरु सयौँ युवा खेलाडीको आत्मविश्वासलाई नयाँ उचाइ दिएको छ। अनुशासन, साहस, सम्मान र स्वस्थ प्रतिस्पर्धाको सन्देश बोकेको यस प्रतियोगिताले नेपाली करातेको भविष्य अझ उज्यालो र सम्भावनायुक्त रहेको स्पष्ट संकेत दिएको छ।
काठमाडौंमा सम्पन्न यो राष्ट्रिय प्रतियोगिता धेरै खेलाडीका लागि एउटा प्रतियोगिता मात्र नभई आफ्नो सपना पछ्याउने प्रेरणादायी यात्रा बनेको सहभागीहरूले बताएका छन्।








