अमेरिका । नेपाली लोक तथा दोहोरी संगीतको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा क्रियाशील राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अमेरिका शाखाले आफ्नो प्रथम अधिवेशन आगामी जुन २८, २०२६ मा आयोजना गर्ने भएको छ।
अमेरिकाको मेरील्याण्ड राज्यस्थित बाल्टिमोरमा हुने उक्त अधिवेशनसँगै सम्मान समारोह तथा विशेष सांगीतिक कार्यक्रम समेत आयोजना गरिने आयोजकले जनाएको छ। नेपाली कला, संस्कृति तथा लोक संगीतको विकासमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिनुका साथै विविध सांगीतिक प्रस्तुतिहरूमार्फत नेपाली मौलिक संस्कृतिको झल्को प्रस्तुत गरिने कार्यक्रम रहेको छ।
आयोजकका अनुसार अधिवेशनको औपचारिक सत्र बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ भने साँझ ७ बजेदेखि राति ११ बजेसम्म विशेष सांगीतिक कार्यक्रम आयोजना गरिनेछ।
कार्यक्रम माउन्ट एभरेष्ट रेष्टुरेन्ट, ७९२७ बेलएयर रोड, सुइट–सी, नटिङ्घम, एमडी २१२३६, बाल्टिमोर, मेरील्याण्डमा हुने जनाइएको छ।
प्रतिष्ठानको अमेरिका शाखाले नेपाली लोक तथा दोहोरी संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्ने, कलाकारहरूबीच आपसी सहकार्य अभिवृद्धि गर्ने तथा प्रवासमा रहेका नेपाली समुदायलाई कला र संस्कृतिको साझा सूत्रमा बाँध्ने उद्देश्यसहित अधिवेशन आयोजना गर्न लागिएको जनाएको छ।
कार्यक्रममा अमेरिका लगायत विभिन्न स्थानबाट कलाकार, संगीतकर्मी, समाजसेवी, व्यवसायी तथा नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
प्रवासमा नेपाली लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि महत्वपूर्ण मानिएको यस अधिवेशनलाई प्रतिष्ठानको अमेरिका शाखाको इतिहासकै एक महत्वपूर्ण तथा विशेष कार्यक्रमका रूपमा हेरिएको छ। आयोजकले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई अधिवेशनलाई भव्य र सभ्य रूपमा सफल बनाउन आग्रह गरेको छ।








