चक्रपथ सरसफाई महाअभियानको लागि समिक्षा थापाको रिपोर्ट
काठमाडौं, श्रावण १६, २०८३ (शनिबार)“हाम्रो देश, हाम्रै जिम्मेवारी — स्वच्छ वातावरण, स्वस्थ जीवन, समृद्ध नेपाल” भन्ने मूल नाराका साथ सञ्चालन हुँदै आएको चक्रपथ सरसफाइ महाअभियान शनिबार ४८७ औँ हप्तामा प्रवेश गरेको छ।
यस साताको अभियान काठमाडौंस्थित ग्रीन सिटी हस्पिटल, बसुन्धारा प्रहरी चौकी तथा ट्राफिक प्रहरी कार्यालय वरपरको क्षेत्रमा सञ्चालन गरिएको थियो। अभियानमा नेपाल प्रहरी र ट्राफिक प्रहरीसँगको सहकार्यमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको थियो। प्रत्येक साताजस्तै यसपटक पनि वातावरण संरक्षणप्रति प्रतिबद्ध सामाजिक अभियन्ताहरूको उत्साहजनक र सक्रिय सहभागिता रहेको थियो।
अभियानका सहभागीहरूले “सफा वातावरण नै निरोगी र स्वस्थ जीवनको आधार हो” भन्ने सन्देशलाई व्यवहारमा उतार्दै सडक, सार्वजनिक स्थल र आसपासका क्षेत्र सफा गरेका थिए। सरसफाइ केवल एक दिनको कार्यक्रम नभई सभ्य समाज निर्माण गर्ने दीर्घकालीन अभियान भएको सहभागीहरूले बताएका छन्।
अभियानका क्रममा आयोजकहरूले सम्पूर्ण नागरिकलाई आफ्नो घर, टोल, समुदाय र सार्वजनिक स्थान सफा राख्ने संस्कृतिको विकास गर्न आग्रह गर्दै देशलाई स्वच्छ, सुन्दर र स्वस्थ बनाउने अभियानमा सबैलाई हातेमालो गर्न हार्दिक आह्वान गरेका छन्।
अभियानले “अहिले नगरे कहिले? हामीले नगरे कसले गर्ने?” भन्ने सशक्त सन्देश पनि दिएको छ। सरसफाइ र स्वास्थ्य एकअर्कासँग गहिरो रूपमा जोडिएको विषय भएकाले प्रत्येक नागरिकले आफ्नो जिम्मेवारी बोध गर्दै वातावरण संरक्षणमा सक्रिय हुनुपर्नेमा जोड दिइएको छ। सानो प्रयासले पनि समाजमा ठूलो सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गर्दै सबैलाई यस महाअभियानमा सहभागी हुन प्रेरित गरिएको छ।
यस अभियानका संयोजक लोकबहादुर टण्डन, व्यवस्थापक तिलक बस्नेत तथा मिडिया संयोजक डि.बि. पराजुली रहेका छन्।
कार्यक्रममा सक्रिय अभियन्ताहरू लिला खनाल, यशोदा बुढाथोकी खत्री, जितबहादुर हमाल, डा. पुष्कर काफ्ले, कुमार तामाङ, सुन्दर खनाल, लेकेन्द्र राउत, उत्तम घिमिरे, पुण्यरत्न बज्राचार्य, शुभ शर्मा, नेत्र बिष्ट, यज्ञराज आचार्य (राम), आर.बी. ठकुरी, ॐ विकास निरौला, गोपाल थापा, निखिल श्रेष्ठ लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
त्यसैगरी हिमालयन वातावरण संरक्षण प्रा.लि., ग्रीन सिटी हस्पिटल प्रा.लि. का कर्मचारीहरू तथा अन्य सामाजिक अभियन्ताहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
अभियानका सहभागीहरूले स्वच्छ वातावरण नै स्वस्थ जीवन, सभ्य समाज र समृद्ध राष्ट्र निर्माणको आधार भएको उल्लेख गर्दै वातावरण संरक्षण कुनै एक व्यक्ति वा संस्थाको मात्र दायित्व नभई सम्पूर्ण नागरिकको साझा जिम्मेवारी भएको बताएका छन्। उनीहरूले आगामी दिनमा पनि अभियानलाई अझ व्यापक र प्रभावकारी बनाउँदै सबै नागरिकलाई यस पवित्र यात्रामा सहभागी हुन पुनः हार्दिक आह्वान गरेका छन्।









