समिक्षा थापा
काठमाडौं लगायत देशका विभिन्न स्थानमा बर्खाको मौसम सुरु भएसँगै निरन्तर रुपमा वर्षा भइरहेको छ। वर्षासँगै सडकमा पानी जम्ने, हिलो तथा फोहोर बढ्ने र दूषित पानीका कारण डेङ्गु जस्ता विभिन्न स्वास्थ्य समस्या आउन सक्ने भएकाले नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। .
वर्षाको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कने, पानीमा नभिज्ने तथा बाहिर निस्कनैपर्ने अवस्थामा छाता वा रेनकोटको प्रयोग गर्ने बानी बसाल्न आवश्यक छ। लगातार पानीमा भिज्दा भाईरल ज्वाराे जस्ता अन्य धेरै स्वास्थ्यमा असर पर्न सक्ने भएकाले शरीरलाई सकेसम्म सुख्खा राख्नुपर्छ।
त्यस्तै, घर वरपर पानी जम्न नदिने, सडक तथा सार्वजनिक स्थानमा जथाभावी फोहोर नफाल्ने र फोहोरको उचित व्यवस्थापन गर्ने विषयमा पनि नागरिक सचेत हुन आवश्यक छ। वर्षाको समयमा फोहोर र दूषित पानीका कारण विभिन्न संक्रमण फैलिन सक्ने भएकाले सरसफाइलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने हुन्छ। बाहिरबाट घर फर्किएपछि साबुन –पानीले राम्रोसँग हात धुने, सफा तथा सुरक्षित पानी पिउने र खानेकुरा सफा राख्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ।
भिडभाड भएका स्थानमा जानुपर्दा आवश्यकताअनुसार मास्कको प्रयोग गर्न सकिन्छ। वर्षासँगै चिप्लो सडक, डुबान तथा बाढीपहिरोजस्ता जोखिम पनि बढ्न सक्ने भएकाले जोखिमयुक्त स्थानमा अनावश्यक यात्रा नगर्न र स्थानीय सूचनालाई ध्यानपूर्वक पालना गर्न आवश्यक छ।
बर्खा प्राकृतिक मौसम हो, तर सावधानी नअपनाउँदा यही मौसम स्वास्थ्य र सुरक्षाका लागि चुनौती बन्न सक्छ। त्यसैले आफू सुरक्षित रहने मात्र होइन, आफ्नो परिवार, समुदाय र वरपरको वातावरणलाई समेत सुरक्षित राख्ने जिम्मेवारी हामी सबैको हाे ।
“बर्खाको पानीमा जोगौँ, सरसफाइमा ध्यान दिऔँ, स्वास्थ्यको ख्याल गरौँ। आफू स्वस्थ रहौँ, परिवारलाई स्वस्थ राखौँ र स्वस्थ नागरिकको अभियानमा सबै सहभागी बनौँ।”








