सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जनआकाश मिडियाको १९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न : पत्रकारितासँगै सामाजिक उत्तरदायित्वमा जोड

काठमाडौं । जनआकाश मिडियाले आफ्नो १९औँ वार्षिकोत्सव भव्य र सांगीतिक माहोलबीच सम्पन्न गरेको छ। आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमा पत्रकारिता, सामाजिक उत्तरदायित्व, कला, साहित्य र संगीत क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान उपसभामुख तथा प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले सञ्चारमाध्यम समाजको ऐना मात्र नभई परिवर्तनको संवाहकसमेत भएको बताइन्। उनले समाजका सबै वर्ग, समुदाय र आवाजलाई समान प्राथमिकता दिँदै सत्य, तथ्य र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर पत्रकारिता गर्नुपर्नेमा जोड दिइन्।

रानामगरले जनआकाश मिडियाले पत्रकारितासँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी, जिम्मेवार र जनमुखी पत्रकारिताका लागि शुभकामना दिइन्।

कार्यक्रमका विशेष अतिथि प्रेस काउन्सिल नेपालका सदस्य शन्तराम विडारी र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदीलगायतका वक्ताहरूले जनआकाश मिडियाले लामो समयदेखि पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै निरन्तर प्रगतिको शुभकामना व्यक्त गरे।

जनआकाश मिडियाको १९औँ वार्षिकोत्सव केवल औपचारिक समारोहमा सीमित रहेन। कार्यक्रममा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। सम्मान र शुभकामनाको वातावरणबीच कविता, गीत, सुसेली तथा सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।

चर्चित गायक गोविन्द मधुर र विष्णु परियारलगायत कलाकारले सांगीतिक प्रस्तुति दिँदा कार्यक्रममा उपस्थित दर्शकहरू मन्त्रमुग्ध बने। कलाकार दिपेश एसके र प्रतिमा राईले स्वदेशगानमा प्रस्तुत गरेको स्वागत नृत्यले समारोहमा देशप्रेमको भाव थपेको थियो। कार्यक्रममा कविता वाचनसमेत गरिएको थियो।

जनआकाशको ‘संगीत खबर’ कार्यक्रममा सहभागी कलाकार तथा जनआकाशका पत्रकार विनोद कार्कीको सिर्जना रहेको ‘फूल भिरैमा’ लोकआधुनिक गीतमा स्वर, संगीत, नृत्यलगायत विभिन्न पक्षमा योगदान पुर्‍याउने कलाकार तथा सर्जकहरूलाई कदरपत्र प्रदान गरिएको थियो।

जनआकाश मिडियाले आफ्नो यात्राको १९औँ वर्ष पूरा गर्दै गर्दा पत्रकारितासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको जनाएको छ। विशेषगरी पछिल्लो एक दशकदेखि सामाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको जनआकाशले जनाएको छ।

मिडियाका सञ्चालक तथा प्रधान सम्पादक मोहन कार्की पत्रकारितासँगै गीतकार, साहित्यकार तथा लेखकका रूपमा पनि परिचित छन्। उनका ‘माइली’ उपन्यास, ‘कृपज विकासवादी’ कृति तथा ‘आउन साथी आऊ सबै मिली विजयीको मीठो गीत गाऊँ’‘मलाई सुन्दर नेपाल बनाउने रहर छ’ बोलका स्वदेशगान सार्वजनिक भइसकेका छन्।

कार्कीको नेतृत्वमा जनआकाशले पत्रकारितालाई केवल समाचार सम्प्रेषणको माध्यमका रूपमा मात्र नभई समाज, संस्कृति, सिर्जना र जनचेतनासँग जोड्ने प्रयास गर्दै आएको कार्यक्रममा चर्चा गरिएको थियो।

जनआकाशका प्रधान सम्पादक मोहन कार्कीको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव समारोहमा नेपाल व्यापार संघका अध्यक्ष गिरिराज पोखरेल, सगरमाथा आरोहण संघका अध्यक्ष दिवस पोखरेल, नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष विष्णु भण्डारी, वरिष्ठ पत्रकार भरत ढकाल, सुसेली प्रवर्धक दुर्गा अधिकारी भमरकोटे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदीलगायत पत्रकार, कलाकार, साहित्यकार, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण तथा संयोजन कलाकार एवं सर्जक तथा मोडल बिजेन्द्र नौबागेले गरेका थिए।

वार्षिकोत्सव समारोहले एउटै मञ्चमा पत्रकारिता, साहित्य, संगीत, कला र सामाजिक सेवाका विविध आयामलाई जोड्दै जनआकाशको १९ वर्षे यात्रालाई सम्झनलायक बनाएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »