काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायमा कार्यरत श्रमिकको सुरक्षालाई प्राथमिकता दिँदै ग्रिल तथा स्टिल व्यवसायी संघ, काठमाडौं जिल्ला कार्यसमितिले सञ्चालन गरेको दुर्घटना बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
संघले गत आर्थिक वर्षमा प्रतिव्यक्ति रु. १,०३० प्रिमियममा रु. ७ लाखसम्मको दुर्घटना बीमा गराएको थियो। सोही बीमा कार्यक्रमअन्तर्गत काम गर्ने क्रममा दुर्घटनामा परी उपचार गराएका दुई जना श्रमिकले बीमाबापत उपचार खर्च प्राप्त गरेका छन्।
श्री गणेश ग्रिल उद्योगमा कार्यरत जितबहादुर श्रेष्ठ गत असार १२ गते काम गर्ने क्रममा लडेर घाइते हुनुभएको थियो। चाबहिलस्थित मेडिकेयर हस्पिटलमा सात दिन उपचार गराउँदा लागेको रु. ८७,००० खर्चमध्ये बीमा कम्पनीले रु. ८२,७०० भुक्तानी गरेको छ।
त्यसैगरी, अमात्य तार जालीमा कार्यरत लालकाजी श्रेष्ठले काम गर्ने क्रममा भएको दुर्घटनापछि उपचार खर्चबापत रु. २,७०० बीमाबाट प्राप्त गर्नुभएको छ।
बीमा रकम ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंका कार्यवाहक अध्यक्ष भरत लामिछानेले सम्बन्धित बीमितलाई चेकमार्फत हस्तान्तरण गर्नुभयो। सो अवसरमा अध्यक्ष लामिछानेले व्यवसाय सञ्चालनसँगै कार्यरत श्रमिक तथा कर्मचारीको सुरक्षा सुनिश्चित गर्नु व्यवसायीको महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो।
फलाम काट्ने, वेल्डिङ गर्ने, भारी सामग्री ओसारपसार गर्ने तथा उचाइमा काम गर्नुपर्ने भएकाले ग्रिल तथा स्टिल व्यवसाय जोखिमयुक्त मानिन्छ। त्यसैले दुर्घटना बीमालाई अतिरिक्त खर्च नभई श्रमिक र व्यवसाय दुवैको सुरक्षाकवचका रूपमा लिनुपर्ने संघको भनाइ छ।
“रु. १,०३० खर्च गरौँ, लाखौँको जोखिमबाट सुरक्षित बनौँ” भन्ने सन्देशसहित संघले काठमाडौं उपत्यकाका सम्पूर्ण ग्रिल तथा स्टिल व्यवसायीलाई आफ्ना श्रमिक तथा कर्मचारीको दुर्घटना बीमा गराउन आग्रह गरेको छ।
दुर्घटना कहिले हुन्छ थाहा हुँदैन, तर संकटमा बीमाले दिने सहारा महत्वपूर्ण हुन्छ। श्रमिक सुरक्षित भए व्यवसाय सुरक्षित हुन्छ, व्यवसाय सुरक्षित भए परिवार पनि सुरक्षित हुन्छ।








