सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्री ओलीकाे सडक सपना

काठमाडौं । सरकारले १ सय ६५ निर्वाचन क्षेत्रमा रणनीतिक सडक निर्माण थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बालुवाटारबाट श्रव्यदृश्य सामग्रीको स्विच थिचेर एकसाथ सबै सडक निर्माण कार्यको शुभारम्भ गरेका छन्।

अब हरेक निर्वाचन क्षेत्रमा १र१ रणनीतिक सडक बन्नेछ। यसबाट २ हजार २ सय १० किलोमिटर कालोपत्रे सडक थपिनेछ। ती सडक निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ।

निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रममार्फत ५७ अर्ब १० करोड रुपैयाँ लागत अनुमान गरिएको छ। एक निर्वाचन क्षेत्र भएका हिमाली जिल्लामा ६० करोड, पहाडीमा ५० करोड बजेट सीमा तोकिएको छ। दुई निर्वाचन क्षेत्र भएका २१ जिल्लामा प्रतिनिर्वाचन क्षेत्र ४० करोड, तीन वा त्यसभन्दा बढी निर्वाचन क्षेत्र भएका २० जिल्लामा प्रतिनिर्वाचन क्षेत्र २५ करोड तोकिएको छ। काठमाडौं उपत्यकामा प्रतिनिर्वाचन क्षेत्र २० करोड बजेट अनुमान गरिएको छ।

आर्थिक सामाजिक विकास, कृषि तथा औद्योगिक विकासमा टेवा दिने, राष्ट्रिय राजमार्गमा जोडिएर सडक सञ्जालको क्षमता वृद्धि गर्ने सडकलाई छानिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। यस्तै, अन्तर्राष्ट्रिय सिमानासँग जोडिएका, उत्तर–दक्षिण सडक सञ्जालसँग जोडिने, जिल्लाको एक निर्वाचन क्षेत्रलाई अर्कोमा जोड्ने, निर्वाचन क्षेत्रबाट सदरमुकाम जोड्ने हेरिएको छ।

स्थानीय र प्रदेश सरकारका योजनासँग जोडिन नहुने, विस्तृत अध्ययन प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन भएकालाई छनोटको आधार बनाइएको छ। अधुरो नरही तीनवर्षभित्रै पूरा हुने, न्यून वातावरणीय र सामाजिक प्रभाव हुने, अधिग्रहण आदिका कारण थप आर्थिक भार नपर्ने आधार छन्।

प्रधानमन्त्री ओलीले पूर्वाधार विकास क्षेत्रमा देशले फड्को मार्दै गएको बताए। प्रत्येक निर्वाचन क्षेत्रमा २ हजार २ सय १० किलोमिटर रणनीतिक सडक ५७ अर्ब १० करोड लागतमा तीन वर्षभित्र सक्ने गरी काम सुरु भएको प्रधानमन्त्री ओलीले बताए। ओलीले रणनीतिक सडकले हरेक निर्वाचन क्षेत्रबाट जिल्ला सदरमुकाम, राजमार्ग, अन्तर्राष्ट्रिय सिमाना जोड्ने उल्लेख गरे। ओलीले २०८१ सालभित्र काम सम्पन्न भएको हुनुपर्ने बताए। ‘म तीन वर्षभित्र सम्पन्न भएको हेर्न चाहन्छु। काम गुणस्तरीय हुनुपर्छ’, उनले भने, ‘राम्रो काम समय हुनुपर्छ।’

बजेट समयमा खर्च नहुने समस्या उल्लेख गर्दै उनले भने, ‘हाम्रोमा पुँजीगत खर्च नहुने गरेको छ। कार्यमा तदारुकताको खाँचो छ। समयमा पुँजीगत खर्च गरेर तदारुकता र कार्यक्षमता देखाउनुपर्छ।’

उनले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई तोकिएको समयमा विकास निर्माणका काम सक्न निर्देशन दिए। ‘हाम्रो काम, तदारुकतामा कमी आएको छ। समयमा पुँजीगत खर्च गरेर आयोजनाहरू समयमै वा त्योभन्दा अघि, गुणस्तरीय रुपमा सम्पन्न हुनुपर्छ, गुणस्तरमा सम्झौता हुँदैन’, उनले भने।

उनले पूर्वाधार विकासका काममा छानबिनका नाममा संसदीय समितिबाट अवरोध हुने गरेको भन्दै चासो देखाए। ‘छानबिनका नाममा संसदीय समितिबाट काम रोक्नेसम्मको काम हुन्छ। एउटाले मात्रै होइन समितिपिच्छे त्यसो गर्छन्’, उनले भने, ‘अनियमितता भएको छरछैन भनेर छानबिन हुनु हुँदैन भन्ने होइन। तर, काम नै रोक्ने गरी छानबिन हुनु विकासमा अवरोध हुन्छ। विकास निर्माण चालू राखेर छानबिन गर्नुपर्छ। छानबिन हुँदै जान्छ। दोषी कोही पाइयो भने दण्डको भागिदार हुन्छ। तर, काम रोक्दा बहुआयामिक क्षति हुन्छ।’

सरकारले विकासको गतिलाई तीव्रता दिँदा केहीलाई छटपटी भएको उनको भनाइ थियो। ‘हामी विकासको मार्गमा तीव्र गतिका अघि बढेका छौं। हामीलाई मन नपराउने मान्छेलाई छटपटी भएको छ’, उनले भने, ‘विकास निर्माण गर्दै गयो भने आफ्नो सटर बन्द हुन्छ भनेर विरोधमा तानाशाही आयो भन्दै छन्। तर के हो तानाशाही भनेको रु फाँसीवाद भनेको बुझेर त भनिरहेका छन् रु’

उनका अनुसार तीन वर्षे कार्यकालमा ३ हजार ५ सय १२ किलोमिटर सडक कालोपत्रे भएको छ। ३ हजार ३ सय किलोमिटर ग्राभेल गरिएको छ। १ हजार ६ सय ८६ किलोमिटर ट्र्याक खोल्ने काम सकिएको छ। यस्तै, सरकारले ६ सय २८ वटा पक्की पुल बनाएको छ। दुई लेनको ३ सय ४ सय १८ किलोमिटर कालोपत्रे तथा स्तरोन्नति गरिएको छ। ४ देखि ६ लेनको ९४ किलोमिटर सडकको काम सकिएको छ।

यस्तै सुरुङबाट ल्याएर मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा वितरण गरिएको छ। उनले अब तीन वर्षभित्र लार्के र यांग्रीबाट पानी ल्याउने घोषणा गरे। ‘अहिले एकै पटक १६५ सडक शिलान्यास ग¥यौं’, उनले भने, ‘केही अघि एकै दिन ३०९ अस्पतालको शिलान्यास गरेका थियौं। उद्घाटन र शिलान्यासको काम भइरहेको छ।’

उनले सडक मात्र होइन, शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि उत्तिकै प्रगति गरेको बताए। उनका अनुसार ८ ठूला औद्योगिक क्षेत्रको शिलान्यास भइसकेको छ। हरेक स्थानीय तहमा औद्योगिक ग्राम निर्माण गर्ने योजना छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले पूर्वाधार विकासमा देशले फड्को मारेको बताए। ‘पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा बनाउने काम धमाधम भइरहेको छ’, मन्त्री नेम्बाङले भने, ‘कतिपय ठाउँमा ६ देखि ८ लेनको निर्माण भइरहेको छ।’ उनले प्रतिदिन साढे किलोमिटर सडक बनिरहेको बताए।

भर्खरै

सम्बन्धित खबर

Language »