सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रातो मच्छिन्द्रनाथको रथलाई प्रतिकात्मक रुपमा तानिने

काठमाण्डौ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर ललितपुरमा रातो मच्छिन्द्रनाथको रथलाई प्रतिकात्मक रुपमा केही दुरीसम्म मात्र तानिने भएको छ ।

मच्छिन्द्रनाथलाई रथारोहण गरेको चौथौं दिनमा रथलाई पुल्चोकबाट तानेर गाबहालसम्म पुर्‍याइने परम्परा भए पनि आज रथलाई पुल्चोकको सोह्रखुट्टेपाटीसम्म मात्र तानिन लागेको हो । यसभन्दा अघि मच्छिन्द्रनाथको रथ अघिपछि लगाएर तानिने मीननाथलाई पाटनको टंगालमा निमार्णाधीन रथमा रथारोहण गरिनेछ र मीननाथको रथलाई पनि प्रतिकात्मक रुपमा केही परसम्म मात्र तानिनेछ ।

यसवर्ष कोरोना संक्रमणका कारण जात्रालाई छोट्याउने निर्णय भएअनुसार नरिवल खसाल्ने, भोटो जात्रा नहुने भएको छ । रातो मच्छिन्द्रनाथलाई जेठ ५ गते बुंगमती फर्काउने साइत रहेको छ । यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ । तर आज बिहान ६ बजेदेखि राति १० बजेसम्म एकैठाउँमा पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले आजदेखि पाँच गते राति १० बजेसम्म रातो मच्छिन्द्रनाथको रथ रहेको आसपास क्षेत्र पूर्वमा–मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिममा–श्री रातो मच्छिन्द्रनाथको रथ रहेको पश्चिमतर्फको वारुण यन्त्र रहेको स्थान, दक्षिणमा–सेन्ट जेभियर्स स्कुल अगाडिको चोक ९अल्का मोड०, उत्तरमा–लबिम मल पश्चिमपट्टिको सडकमा भेला नहुन भनेको छ ।

त्यसैगरी मीन नाथको रथ रहेको आसपास क्षेत्र पूर्व–गणेशस्थान मन्दिर, पश्चिम–टवहाल चोक, दक्षिण–ईति चोक र उत्तर–टंगल र चक्रवहिली गल्ली रहेको क्षेत्रमा समेत निषेधाज्ञा थप गरिएको प्रशासनले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »